प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा यी विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको बोलेरो दुर्घटनामा १० जना घाइते भएकोमा ६ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग माग गरे ।

सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गरे ।

सांसद रोशन कार्कीले आइपिओ जारी गर्न पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको कुराको यथार्थ छानबिन गर्न माग गरिन् । बैठकमा सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीका घटनामा साढे तीन वर्षकी बालिका जलेर मृत्यु भई परिवार अहिले पनि मदरसाको शरणमा रहेकाले यथोचित व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया