पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौँ । पुराना कम्युनिस्ट नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मंगलबार उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

२०१० साल पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल जीवनकालभर वामपन्थी आन्दोलनमा सक्रिय थिए । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा २०५१ सालमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । उनले जलस्रोत र शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय बिग्रिँदो स्वास्थ्य अवस्थाका कारण उनी सक्रिय राजनीतिमा थिएनन् ।

साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित थिए । उनले १ दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । उनले एमाले महासचिव मदन भण्डारीबारे ‘बर्बरिक’ उपन्यास लेखेका थिए । यस्तै, ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, ‘देउमाईको किनारमा’ लगायत उनका कृति प्रकाशित छन् ।

२०५६ सालमा काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी त्यसअघि राष्ट्रियसभा सदस्य थिए । नवयुग, दृष्टि, छलफल साप्ताहिकमा सम्पादकसमेत भएका नेता नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । नेपालकी पत्नी र १ छोरी छन् ।

दिवंगत नेता नेपालको मंगलबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । उनको निधनमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र समर्थक, शुभचिन्तकले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया