वामपन्थी नेता नेपालको शव दाहसंस्कारको लागि पशुपति लगियो

काठमाडौं । आज मंगलबार निधन भएका पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिने भएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ ।

उनको शव नर्भिकबाट दाहसंस्कारको लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिने बताइएको छ । उनको निधनपछि विभिन्न पार्टीका शीर्ष नेताहरु नर्भिक अस्पताल पुगेका थिए ।

वामपन्थी नेता नेपालका भाइ समिर नेपालले स्वर्गीय दाजुकै इच्छा अनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने जानकारी दिए । उनका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन् । जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ ।

उनको ७१ वर्षको उमेरमा आज मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।

पूर्वसूचना तथा सञ्चार मन्त्रीसमेत रहेका नेता नेपाल पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । त्यस्तै २०६३ मा नेपाल शिक्षा तथा खेलकुदमन्त्री पनि बनेका थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।

उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए ।
नेपाल साहित्यकार समेत हुन् ।

प्रतिक्रिया