काठमाडौं । आज मंगलबार निधन भएका पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिने भएको छ । नेता नेपालको सामान्य हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको हो ।
वामपन्थी नेता नेपालका भाइ समिर नेपालले स्वर्गीय दाजुकै इच्छा अनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने जानकारी दिए । उनका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन् । जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ ।
उनको आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि प्रदीप नेपालको हकमा तोडिने भएको छ । परिवारका सदस्य पनि यसको विपक्षमा रहेको बताइएको छ । उनको ७१ वर्षको उमेरमा आज मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।
पूर्वसूचना तथा सञ्चार मन्त्रीसमेत रहेका नेता नेपाल पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । त्यस्तै २०६३ मा नेपाल शिक्षा तथा खेलकुदमन्त्री पनि बनेका थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।
उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए ।
नेपाल साहित्यकार समेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले ‘बर्बरिक’ उपन्यास लेखेका छन् ।
त्यस्तै ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, ‘देउमाईको किनारमा’ लगायतका कृति प्रकाशित छन् ।
प्रतिक्रिया