काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले देशका सफाइकर्मीहरू नागरिकदेखि राज्यसम्मको उपेक्षामा परेको उल्लेख गर्दै उनीहरूको सम्मान गर्न कसैले पनि कन्जुस्याइँ गर्न नहुने बताएका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा फोहोर व्यवस्थापनसम्बन्धी संस्था ‘प्राक्टिकल वेस्ट सोलुसन’ले आयोजना गरेको कार्यक्रममा प्रदेश सभामुख पाठकले यस्तो बताएका हुन् ।
देशभर उत्पादन हुने फोहोरको करिब ५० प्रतिशत फोहोर उत्पादन गर्ने काठमाडौँ उपत्यकालाई सधैँ सफा र सुन्दर बनाउने एक मात्र श्रेय यस क्षेत्रमा काम गर्ने श्रमिकलाई जाने भएकाले उनीहरूको योगदान अतुलनीय भएको पाठकले बताए ।
‘हामीलाई सफा चाहिन्छ, तर सफा गरिदिने कसले ? उहाँहरूले आफ्नो काम नगरिदिएको भए आज आफूलाई धनी र सौखिनको दर्जामा राख्न रुचाउनेहरूको घरदेखि सडकसम्मको अवस्था कास्तो हुन्थ्यो होला ?,’ सफाइकर्मीलाई धन्यवाद दिँदै पाठकले भने, ‘काठमाडौंलाई सुन्दर र स्मार्ट सिटी बनाउने तपाईंहरू नै हो । कुनै नेताको भाषणले होइन ।’
कार्यक्रममा उपस्थित पूर्ववातावरणमन्त्री गणेश शाहले फोहोर व्यवस्थापनको क्षेत्र र श्रमिकहरूको अधिकार सुनिश्चितताका लागि प्रदेश र संघ सरकारले आवश्यक ऐन कानुन बनाउनुपर्ने बताए । ‘देशको राजधानीसमेत भएका नाताले यो विषयमा बाग्मती प्रदेशले नेतृत्व लिनुपर्छ । प्रदेशसभामा आवश्यक कानुनलाई टेबुल गराउन सभामुखज्यूले सक्रियता लिइदिनुस्,’ शाहले आग्रह गरे ।
काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले काठमाडौंको फोहोर वर्गीकरणका लागि स्थान र उचित कानुनको अभावबारे धारणा राखेका थिए भने त्यसमा सहजीकरण गरिदिन प्रदेश सभामुखको ध्यानाकर्षण गराए ।
त्यस्तै, फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्यले सफाइकर्मीप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनसके मात्र काठमाडौँको स्मार्ट सिटीको अवधारणा पूरा हुने बताए ।
प्राक्टिकल वेस्ट सोलुसनले १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा करिब सय जना कर्मचारीलाई विभिन्न विधामा प्रशिक्षण गराउनुका साथै स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट ७ जना कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया