मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार बसेको बैठकले भोलि वैशाख १९ गते ल्याउन लागिएको नीति तथा कार्यक्रम पारित गरेको हो । सरकारले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले भोलि संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र सम्बोधनका लागि राष्ट्रपतिलाई आह्वान गर्ने निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभा तथा राष्ट्रियसभा नियमावलीअनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले पढ्नुपर्ने प्रावधान छ । राष्ट्रपति पौडेलले १९ गते दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठकलाई नीति तथा कार्यक्रमको विषयमा सम्बोधन गर्नेछन् । संघीय संसद् सचिवालयले पनि यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि नीति तथा कार्यक्रमकै विषयमा सत्तारुढ दलहरूको बैठक बसेको थियो । बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले विगतका वर्षहरूको भन्दा फरक प्रकृतिको नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए । नेताहरूले विकास निर्माणको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले विकास निर्माणको काम छरपष्ट भएको भन्दै उच्च प्राथमिकीकरण गर्नुपर्ने र स्रोतको अपव्यय हुने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी, युवाहरूमा उद्यमशीलता, सीप विकास, स्टार्टअप व्यावसायिक योजना र बजार संरक्षणको योजनासहितको कार्यक्रम आओस् भन्ने सुझाव आएको बैठकमा सहभागी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै, अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको खर्च गर्ने क्षमता बढाउनुपर्ने, फजुल खर्च निर्मम कटौती गर्ने र सरकारको कार्यदक्षता बढाउने पनि सुझाव आएको उनले बताए । उनका अनुसार पहाड केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने पनि नेताहरूको सुझाव छ । ‘विगत वर्षको भन्दा मेजर ब्रेक थ्रु हुने खालको नीति कार्यक्रम आओस् र त्यही ढंगले बजेटले पछ्याओस् भनेर सुझाव दिनुभएको छ,’ ज्ञवालीले भनेका थिए ।

ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शीतल निवासले जनाएको छ । उनी म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए ।

प्रतिक्रिया