प्रहरीले भन्यो– टिकापुर हत्याकाण्ड प्रकरणमै रेशम चौधरी फेरि पक्राउ परे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

टिकापुर हत्याकाण्ड घटनाकै प्रकरणमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेश अनुसार पक्राउ गरिएको जानकारी दिए ।

चौधरी बुधबार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए । कैलालीको टिकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मले जन्मकैद सजाय तोकेका छन् ।

तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका थिए । चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । कडायत टिकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन् ।

प्रतिक्रिया