विद्यार्थी ‘डाइभर्सन’ बन्यो शिक्षक आन्दोलन

सरकारी स्कुलमा भोटेताल्चा, बोर्डिङमा खचाखच विद्यार्थी !

महोत्तरी । सामुदायिक विद्यालयमा शैक्षिक सुधारको सघन बहस भइरहेका बेला देशभरका शिक्षक संघीय राजधानी केन्द्रित आन्दोलनमा छन् । निजी विद्यालयमा कक्षा नै सुरु भइसक्दा पनि सामुदायिक विद्यालयका विद्यार्थी घरमै थुनिएका छन् भने अभिभावकहरू चिन्तित र अन्योलमा छन् ।

अन्य बेला विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकहरू घरघरै पुगेर भर्ना अभियान चलाइरहेका भेटिन्थे । बालबच्चालाई विद्यालय पठाउन अभिभावकलाई उत्प्रेरित गरिरहेका हुन्थे । तर, यस वर्ष भने छोराछारीको भर्ना गर्न पुगेका अभिभावक विद्यालयको गेटमा भोटेताल्चा लगाएको देखेपछि अन्योलग्रस्त हुँदै घर फर्किन बाध्य छन् । कतिपय अभिभावक फर्किने क्रममा निजी विद्यालय छिरेर त्यतै भर्ना गर्नसमेत थालिसके । तर, आर्थिक अवस्था कमजोर भएका अभिभावक भने पुर्पुरोमा हात लगाउँदै बस्न बाध्य छन् ।

‘हाम्रो विद्यालयलाई शैक्षिक गुणस्तरको एउटा तहसम्म पु¥याएका थियौँ,’ जनजागृत माध्यामिक विद्यालय महोत्तरी पाटुका अभिभावक तथा व्यवस्थापन समिति सदस्य विनोद ढुंगेलले भने, ‘अप्ठ्यारा मागहरू लिएर शैक्षिक हड्तालमा उत्रिएका शिक्षकहरूका कारण हामी अभिभावकहरूको भरोसा टुटेको छ ।’ अघिल्लो शैक्षिक सत्रमा निजी विद्यालयका गाडी गाउँ प्रवेशमा रोक लगाएर यो विद्यालयमा भर्ना अभियान चलाइएको थियो । शैक्षिक गुणस्तरको भरोसा दिलाएर भर्ना अभियान चलाउँदा १० प्रतिशत विद्यार्थी बढाएर सुधारात्मक दिशातर्फ अघि बढेकामा यो वर्ष भने भएका विद्यार्थी पनि घट्दै छन् ।

‘आर्थिक स्तर कमजोर भएकाबाहेक धेरैजसो अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमा पठाउन थालेका छन्,’ व्यवस्थापन समितिका अर्का सदस्य उमेश खड्का भन्छन्, ‘अहिलेसम्म २०औँ जना विद्यार्थी निजी विद्यालय जान थालिसके ।’ बिस्तारै अभिभावकको आकर्षण बढ्दै गरेको यो विद्यालय मात्र होइन, महोत्तरीका कैयौँ नमुना विद्यालय धराशायी अवस्थामा पुगेका छन् ।

बर्दिवास–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडा मधेसकै नमुना विद्यालयअन्तर्गत पर्छ । अघिल्ला शैक्षिक सत्रहरूमा भर्नाका लागि थेगिनसक्नु चाप हुने यहाँ अहिले सुनसान छ । झन्डै २ हजार विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा कतिपय अभिभावकले भर्नाका लागि चासो देखाए पनि शिक्षक, कर्मचारीहरूले नेपाल शिक्षक महासंघको निर्देशन अटेर गर्न सकेका छैनन् । परिणाम स्वरुप नजिकै रहेका निजी विद्यालयहरूमा विद्यार्थी ‘डाइभर्ट’ हुँदै गएका छन् ।

यही विद्यालय नजिकै रहेको सनसाइन बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक दीपक कार्की सबैले भर्ना नगरे पनि चासो देखाउने अभिभावकको संख्या भने बढ्दै गएको बताउँछन् । ‘सामुदायिक विद्यालयका धेरै अभिभावक बुझ्न आइराख्नुभएको छ । उहाँहरू सामुदायिक विद्यालय ठप्प हुँदा चिन्तित देखिनुहुन्छ,’ उनले भने ।
शैक्षिक सूचकांका हिसाबले महोत्तरी त्यसै पनि देशकै कमजोर जिल्लामध्ये दोस्रो स्थानमा दर्ज छ । जिल्लामा विद्यालय नजाने बालबालिकाको संख्या अधिक छ भने विद्यालय छाड्नेको संख्या पनि त्यत्तिकै छ । यो आन्दोलनले जिल्लाको दक्षिणी क्षेत्रका अभिभावकलाई विद्यालय नपठाउन प्रोत्साहन गरिरहेको जानकारहरू बताउँछन् ।

‘सुविधा चाहिँ खोज्ने, तर परिणाम दिन नसक्ने शिक्षकहरूले आफैँ विद्यालयमा राजनीति गर्ने गर्छन् । विद्यालयमा कसरी अभिभावकको आकर्षण बढाउने भन्नेमा कुनै चासो छैन,’ स्थानीय समाजसेवी शंकर फुयाल भन्छन्, ‘शैक्षिक सत्रको सुरुमै यस्तो हुनु कतै मिलेमतो त होइन ? भन्ने प्रश्न स्वतः उठेको छ ।’ शैक्षिक हबका रूपमा चिनिने उत्तरी पालिका बर्दिवासमा अहिले सरकारी विद्यालयको अन्योलताकै कारण निजी विद्यालयमा विद्यार्थीको चाप देखिन थालेको छ भने शिक्षकहरू स्वयंले निजी शिक्षालयमा आफ्ना छोराछोरी भर्ना गर्न थालेका छन् । नाम नखुलाउने सर्तमा एक शिक्षक भन्छन् ‘निजी विद्यालयमा पढ्ने नानीबाबुहरू निरन्तर विद्यालय जाँदा छोरीले घरमा निकै जिद्दी गरिन् । अनि एउटा विद्यालयमा भर्ना गरेर आएँ ।’

आन्दोलनरत शिक्षकहरूले आफ्ना बालबच्चाको भविष्य अन्धकार देखेर निजी विद्यालय पठाउने अनि आर्थिक स्थिति कमजोर भएका अभिभावकको काँधमा टेकेर आन्दोलन सफल बनाउन खोज्नु गलत भएको नेकपा एमालेका युवा नेता शंकर महतो बताउछन् ।

जिल्ला शिक्षा समन्वय एकाइ महोत्तरीका अनुसार शैक्षिक सत्र २०८१ मा बर्दिवासमा मात्र २३ हजार ९४८ जनाभन्दा बढी विद्यार्थी अध्ययन गरेका थिए । सो वर्ष जिल्लाभरमा २ लाख २८ हजार ८४ जना विद्यार्थी अध्ययनरत थिए । विशेष गरी तल्लो तहमा अध्ययन गर्ने विद्यार्थीका जिल्लाभरका अभिभावक अहिले निजी विद्यालय खोज्दै हिँडिरहेका छन् । ‘समग्रमा यो आन्दोलनले निजी विद्यालयहरूलाई मालामाल बनाएको छ,’ स्थानीय अभिभावक माधव पौडेल भन्छन्, ‘कतिपय त सरकारले धान्नै नसक्ने मागसमेत राखिएको छ ।’

जिल्ला शिक्षा समन्वय एकाइले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो शैक्षिक सत्रमा जिल्लामा इसिडी र पिजीमा २५ हजार ३२६ जना, कक्षा १ मा २७ हजार ३७८, २ मा २४ हजार ६३२, ३ मा २३ हजार ६३७ जना, ४ मा २२ हजार १५९, ५ मा २१ हजार ९५१, ६ मा १८ हजार २४५ जना, ७ मा १७ हजार ६१९, ८ मा १४ हजार १८८ विद्यार्थी अध्ययनरत थिए ।

जिल्लाको दक्षिणी क्षेत्रमा सामुदायिक विद्यालयहरूको कमजोर नतिजाका कारण खुलेका दर्जनौँ निजी विद्यालय मालामालको अवस्थामा पुगेका छन् । ‘देख्दा भौतिक संरचना निकै दयनीय छ, विद्यार्थीहरूलाई पर्याप्त बस्ने ठाउँ छैन । तर, निजी विद्यालयहरू भरिभराउ छन्,’ रामगोपालपुरका रामविनय यादवले भने, ‘यो आन्दोलनले अभिभावकलाई निजीमा पढाउन बाध्य बनाएको छ ।’

प्रतिक्रिया