काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सञ्चालक रहेको दुईवटा अस्पतालको रोक्का खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको छ । गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका जनकमाण्डर तोकिएका प्रसाईँ फरार भएका थिए ।
आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको थियो भने सरकारी गाडीसहित निजी घरहरुमा आगजनी र तोडफोड तथा सरकारी भएको थियो । यस्तै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि तोडफोड र आगजनी भएको थियो ।
तीनकुने घटनापछि फरार प्रसाईँको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो । खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र र्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट डा अञ्जली कार्कीले छुट्टाछुट्टै दुईवटा रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । डा. कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा खाता रोक्का गर्ने विपक्षीका नाममा सर्वोच्चले कारण देखाउ आदेश दिएको छ ।
प्रसाईँ हाल गत चैत १५ गते राजावादी आन्दोलनमा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा छन् । प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा निजी तथा सरकारी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भएको थियो भने दुई जनाको मृत्यु नै भएको थियो ।
प्रतिक्रिया