काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ स्थित ठकुरी गाउँमा निर्माणाधीन ‘मिस्टिक माउन्टेन होटल’को कम्पाउण्डभित्र टिपर दुर्घटना हुँदा एक चालकको ज्यान गएको छ ।
बा २ क ३४६४ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा नियन्त्रण गुमेर डिलबाट करिब ७ मिटर तल खस्दा मण्डनदेउपुर–२ का ३१ वर्षीय चालक बिनोद घोरासैनी सवारीमा च्यापिएर घटनास्थलमै मृत्यु भएको काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार टिपर ब्याक गियरमा राखेर बालुवा झार्ने क्रममा सन्तुलन गुमाई सिधै तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया