काठमाडौँ । गत चैत १५ गते राजावादी समूहको प्रदर्शनमा काठमाडौँको तिनकुने क्षेत्रमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १२ दिनको म्याद दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्कामाथि अनुसन्धान गर्न पनि १२ दिनको म्याद दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध गर्नसमेत आदेश दिएको छ ।
भारतबाट पक्राउ, २४ घन्टामा प्रहरीका २ विज्ञप्ति
१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर प्रसाईं फरार रहेकामा बिहीबार प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी शुक्रबार बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमाडौँ ल्याइएको हो । यसअघि बिहीबार भारतको असममा प्रसाईं पक्राउ परेको सूचना साँझ अबेर सार्वजनिक भएलगत्तै केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्यले मध्यराति विज्ञप्ति नै निकालेर ‘हालसम्म दुर्गा प्रसाईं पक्राउ नपरेको’ भनेका थिए ।
तर, प्रहरीले शुक्रबार फेरि अर्को विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्का झापा जिल्लाको भद्रपुर क्षेत्रबाट पक्राउ परेको जनाएको छ । यद्यपि, बिहीबार राति नै प्रसाईंको सचिवालयका तर्फबाट स्वागत नेपालले विज्ञप्ति जारी गर्दै ‘प्रसाईंले असम प्रहरीसमक्ष आत्मसमर्पण गरेको’ जनाएका थिए ।
प्रहरी स्रोतका अनुसार नेपाल प्रहरी र भारतीय प्रहरीबीच एक देशमा अपराध गरेर अर्को देशमा भागेकाहरूलाई आपसी सहमतिमा अनौपचारिक रूपमा आदानप्रदान गरिने भएकाले शुक्रबार प्रसाईं भारतबाट पक्राउ परेको तथ्य अस्वीकार गरिएको हो । विवादित मेडिकल व्यवसायी प्रसाईंकै अगुवाइमा चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गरिएको थियो । चैत १५ को हिंसात्मक प्रदर्शनको पूर्वसन्ध्यामा सुवेदीले प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर घोषणा गरेका थिए ।
चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा १ सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।
प्रतिक्रिया