सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि आन्दोलनरत शिक्षक र प्रहरीबीच विवाद

काठमाडौं । काठमाडौंमा यही चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनमा उत्रिएका नेपाल शिक्षक महासंघको बिहीबारको प्रदर्शनमा शिक्षकहरु र प्रहरीबीच विवाद भएको छ । यसअघि दैनिक शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका शिक्षकहरुको बिहीबारको आन्दोलनमा प्रहरीसँग विवाद भएको हो ।

आज बिहीबार भने शिक्षकहरुले सडकका तीनवटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग विवाद भएको छ । सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।

शिक्षकहरुले यसअघिका सबै आन्दोलनहरु फरक–फरक शैलीमा दैनिक शान्तिपूर्ण गर्दै आएका थिए । कहिले नाचगान, कहिले कालो माक्स लगाएर, कहिले दिउँसै टर्च लाइट बालेर, कहिले सिठ्ठी बजाएर आन्दोलन गर्दै आएका थिए । बिहीबार शिक्षकको प्रदर्शनले तीनवटै लेन बन्द भएपछि बानेश्वरमा सवारी आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया