पाठकपत्र

राजनीतिमा धार्मिक एजेन्डा गलत

शीत युद्धको समाप्तीपछि विश्वभर नै राजनीतिक एजेन्डा गौण भएका छन् । देशमा जुन धर्म सम्प्रदायको बाहुल्यता छ, तिनैको पक्षमा एजेन्डा बोकेर भोट माग्न जाने होडबाजी निकै फस्टाएको छ । प्रजातन्त्रको जननी भनिने बेलायतमा समेत पछिल्लो समय कन्जरभेटिभ पार्टीले सत्तामा एकाधिकार जमाउँदै गएको छ । अमेरिकामा त्यस्तै छ ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र मानिने छिमेकी मित्रराष्ट्र भारतमा पनि हिन्दूवादको एजेन्डा बोकेर भारतीय जनता पार्टीले अरू सबै पार्टीलाई लिड्को लगाइदिइसकेको छ । त्यसैको देखासिखी गर्दै नेपालमा पनि हिन्दुवादको एजेन्डा बोक्ने होडबाजी राजनीतिकदलहरूमा सुरु भएको छ । कम्युनिस्टहरूले लाजगालले घोषित रूपमा हिन्दुवादको एजेन्डा बोकेका छैनन्, तर भित्रभित्रै अछुतो छैनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामजन्मभूमिको एजेन्डा बोक्नुको अन्तैर्य बुुझ्न कठिन छैन ।

नेपाली कांग्रेसमा त हिन्दुवादको एजेन्डाका विषयमा ठुलो बहस भइरहेको छ । यो एजेन्डा छल्न नेपाली कांग्रेसको गत १४औँ महाधिवेशनमा चुनावबाहेक अरू कार्यक्रम नै नगरिएको तितो यथार्थता छ ।

के धार्मिक मुद्दा राजनीतिक मामिला हो त ? धर्ममा राजनीति मिसियो भने के हुन्छ ? भन्ने कुरा अफगानस्थानलगायत विभिन्न देशहरूमा प्रमाणित भइसकेको छ । नेपाली भाषाअनुसार हिन्दु, बौद्ध, इसाइ, इस्लामलगायत जति पनि मान्यता छन् ती धर्म होइनन्, धर्म सम्प्रदाय हुन् । हाम्रो संविधानमा खास उल्लेख हुनुपर्ने ‘धर्मसम्प्रदाय निरपेक्ष राज्य’ हो । तर सिधै धर्मनिरपेक्ष राज्य भनेर उल्लेख गरियो ।

यसैगरी दक्षिणपन्थीहरूले हिन्दुराज्य कायम हुनुपर्छ भन्ने माग अघि सारेका छन् । यो माग नियतबस अघि सारिएको हो या ? भाषाको अर्थ नबुझेर अघि सारिएको हो ? भन्ने स्पष्ट हुन सकेको छैन । राष्ट्र र राज्य भनेको अलग कुरा हो । देश सञ्चालन गर्ने संयन्त्रलाई राज्य भनिन्छ ।

एउटा देशभित्र धेरै राष्ट्र हुन सक्छन् । एउटा देशभित्र एउटा मात्रै राष्ट्र पनि हुन सक्छ । नेपालभित्र पनि ससाना धेरै राष्ट्रहरू छन् । तर नेपालको मूल चुरो राष्ट्र भनेको वैदिक सनातन हो । वैदिक सनातनभित्र हिन्दु, बौद्ध, बोन तथा प्राकृतिक पूजकहरू छन् । त्यसैले नेपाललाई वैदिक सनातन राष्ट्र भनेर संविधानमा पहिचान दिँदा विश्वसामु इज्जत बढ्छ, घट्दैन । तर, हिन्दु भन्ने शब्दका सन्दर्भमा भने विवाद छ । किनकी हामी नेपालीका कुनै पनि धर्म ग्रन्थमा हिन्दु भन्ने शब्द छैन । हाम्रो मूल भाषा संस्कृतले पनि हिन्दु शब्द चिन्दैन ।

हिन्दुस्थानमा बस्नेहरूलाई हिन्दु भनिन्छ, नेपालमा बस्नेहरूलाई नेपाली भनिन्छ । उदाहरणका लागि अरबको मक्का मदिनामा हज गर्न जाने मुस्लिमहरूलाई त्यहाँको सरकारले अनुमति दिँदा उल्लेख गर्ने शब्दलाई लिन सकिन्छ । भारतबाट जानेहरूलाई हिन्दु मुसलमान भन्ने गरिन्छ । नेपालबाट जानेहरूलाई नेपाली मुसलमान भन्ने गरिन्छ ।

विश्वमणी भारध्वाज, देवघाट तनहुँ ।

०००

कांग्रेसमा असान्दर्भीक बन्दै बिपी कोइराला

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल हिन्दु क्षेत्र भएको बताए । डोटी र डडेल्धुराको सिमानामा पर्ने गहनान क्षेत्रमा सुरु भएको श्रीमद्देवीभागवत महापुराण ज्ञान धनधान्याञ्चल लक्ष हवन महायज्ञको शुभारम्भ गर्न डोटी पुगेका पूर्वप्रधानमन्त्री देउवाले नेपाल हिन्दुधर्म, हिन्दु संस्कृति, परम्परा मान्ने राष्ट्र भएको बताएका हुुन् ।

उनले नेपाल गाईलाई पूजा गर्ने देश भएको बताउँदै गाई मार्नेलाई सजाय गर्दै आएको बताए । उनले हिन्दुराज्य घोषणा नभए पनि नेपाली हामी सबै हिन्दु रहेको बताए । देउवाको यो स्वस्कारोक्ति सैद्धान्तिक विचलन हो या आजको यथार्थता हो ? भन्ने विश्लेषण जरुरी देखियो ।

नेपाली कांग्रेसका जन्मदाता बिपी कोइरालाले स्पष्ट रूपमा भनेका थिए, राजसंस्था कायम राख्ने, हिन्दु अधिराज्य हटाउने । तर, नेपाली कांग्रेसको एउटा तप्काले हिन्दु गणतन्त्रको एजेन्डा अघि सारेको छ । राजतन्त्र फिर्ता नल्याउने तर हिन्दुराज्य फिर्ता ल्याउने अभियानमा कांग्रेस भित्रको एउटा लबी देखिएको छ ।
२०३६ जेठ १० गते जनमतसंग्रह घोषणा भएपछि बहुदलको प्रचार प्रसारका क्रममा २०३६ साल साउनमा ‘विक्ली मिरर’ ले बिपीलाई सोधेको थियो, ‘तपाईं धर्म मान्नु हुन्न भनिन्छ, बहुदलले जित्यो भने नेपालको धार्मिक अवस्था कस्तो होला ?’

बिपीको जवाफ थियो, ‘नेपाललाई जबर्जस्ती हिन्दु अधिराज्य भनिएको छ, नेपाल न हिजो हिन्दु अधिराज्य थियो, न भोलि रहनेछ, नेपाललाई हिन्दु अधिराज्य भन्नु झेली कुरा हो ।’

२०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारप्रसारका क्रममा बिपी कोइराला धर्मनिरपेक्षताको एजेन्डा लिएर जनतामा गएको यो अन्तर्वार्ताले पुष्टि गर्छ । त्यसैले हिन्दुवादी अभियानले नेपाली कांग्रेसमा ठुलो दरार ल्याउने संभावनालाई नकार्न सकिन्न ।

जुझारु नेता खुमबहादुर खड्काको निधनपछि मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै केन्द्रीय सदस्य शंकर भण्डारीले भनेका थिए, ‘उहाँले अघि सारेको हिन्दुराज्य पुनस्र्थापनाको अभियानलाई म अगाडि बढाउँछु ।’ भण्डारी मात्रै होइन, खुमबहादुरको अभियानलाई अघि बढाउँछौँ भन्नेहरूको तँछाडमछाड छ यतिबेला नेपाली कांग्रेसमा ।

त्यसो त मोदी सरकार र भारतीय जनता पार्टीको एजेन्डामा नेपाल हिन्दुराज्य हुनुपर्छ भन्ने अडान अझै प्रबल छ र यसकै कारण नेपालमा कुनै पनि बेला अघोषित नाकाबन्दी हुने सम्भावना पनि त्यतिकै प्रबल छ ।

विजयराज मरासिनी, तम्घास गुल्मी ।

प्रतिक्रिया