राजा फर्काउने मुद्दाभन्दा माथि सनातन हिन्दुराष्ट्र

शंकर भण्डारी

वैदिक सनातन हिन्दु धर्मको विषय कुनै व्यक्ति विशेषको कुरा भएन । दल विशेषको पनि भएन । आजको दिनमा यो विषय सिंगो देशको सन्दर्भको कुरा हो । देशको जीवनसँग जोडिएको सन्दर्भ हो । यो देशको माटो नै सनातनी माटो हो भन्ने हाम्रो बुझाइ छ । वास्तविकता पनि त्यही हो । आज जुन नेपाल बनेको छ, हिजो अनेकौँ साना राज्यहरूमा विभाजित रहेकै बेला पनि सनातन धर्मका कतिपय आधारहरू, पहिचानहरू, प्रतीकहरू निर्माण भएका छन् । स्थापित भएका छन् ।

भगवान गौतम बुद्ध जन्मेको भूमि, माता सीता जन्मिएको भूमि । संसारभरिका सनातन हिन्दुहरूको ठुलो आस्थाको धरोहर श्री पशुपतिनाथ अवस्थित भूमि । वैज्ञानिक रूपमै प्रमाणित छ कि, कालिगण्डकी नदीमा पाइने शिला संसारमा कहीँ पनि पाइँदैन । देवघाटधाम, चतराधामको महत्व त्यत्तिकै छ । यी त केही उदाहरणहरू भए । धार्मिक, सांस्कृतिक रूपमा यस्ता अनेकौँ महत्वहरू छन् नेपालमा । तिनको संरक्षण र सम्वद्र्धन गर्नु आजको आवश्यकता बनेको छ ।
अनेक दृष्टान्तहरू हेर्दा पनि प्रमाणित भएको छ, देशको आर्थिक विकास र आर्थिक सुधार, आर्थिक उन्नतिको आधारको रूपमा पनि सनातन हिन्दु धर्मलाई लिन सकिन्छ । यसकारण देशलाई वैदिक सनातन हिन्दु धर्ममा लानु अपरिहार्य भइसकेको छ ।

विवादको चुरो संविधानमा धर्म निरपेक्षता

झण्डै ५ शताब्दी अघिदेखि नै यो हिमवत्खण्डमा हाम्रो सनातन धर्मलाई कमजोर पार्ने हेतु र उद्देश्यले सनातन विरोधी शक्तिहरू क्रियाशील भएको तथ्यहरू पाइन्छन् । यही गतिविधिको निरन्तरता नेपालको संविधान २०७२ तर्जुमा गर्ने क्रममा पनि भयो ।

तत्कालीन अवस्थामा यो पंक्तिकार संविधानसभा सदस्यको हैसियतमा संविधान मस्यौदा समितिमा थियो । कतिपय विषयमा हामीहरूले मस्यौदा समितिको बैठकमा पटकपटक विमति राखेका थियौँ । मैले संविधानसभामा फरक मत राखेको थिएँ कि कुनै पनि अवस्थामा धर्म निरपेक्षता राख्नुहुन्न भनेर । त्यतिखेर ७५ वटै जिल्लामा जनमत पनि लिइएको हो । अहिले त्यो पोको कहाँ थन्काइएको छ ? खोलौँ । यहाँ धेरै भ्रम छर्ने काम भइरहेको छ । जनतालाई अन्यौलमा राख्ने काम भइरहेको छ । जनमतमा आएको ८५ प्रतिशत हाराहारीको मत वैदिक सनातन राष्ट्र नेपाल हुनुपर्छ भन्ने छ । तर जनताको मतको ठिक विपरित संविधानमा धर्म निरपेक्षता लेखिएको छ ।

यो सनातनी मुलुक भए पनि सम्पूर्ण नागरिकको आफ्नो विश्वासको धर्मप्रति आवद्धता, आस्था राख्ने अधिकारको सुनिश्चितता अनिवार्य छ । तर भ्रम के पारिएको छ भने सनातन धर्म भन्नासाथ अरू धर्मलाई स्थान दिइँदैन । अरू धर्म मान्नेहरूको सम्मान हुँदैन भन्ने प्रायोजित भ्रम हो । प्रायोजित षड्यन्त्र हो ।


नेपालमा विपन्नता सबैभन्दा ठुलो समस्या हो । सबै नागरिकमा उच्च शिक्षाको पहुँच नपुग्नु अर्को समस्या हो । समाजमा विकृति, विसंगतिहरू पनि समस्याका रूपमा छन् । त्यही धरातलमा टेकेर सनातनलाई कमजोर बनाउने आधार अगाडि बढाइयो । पछिल्लो समयमा नेपालका राजनीतिज्ञहरू, जो लोभी छन्, लालची छन्– त्यो चरित्रको फाइदा लिएर जनताको भावना, राष्ट्रको हित विपरित संविधानमा धर्म निरपेक्षता लेखियो । त्यो सनातनदेखि मानिआएको धर्मको सम्मान भनेर लेखिएको त तत्कालीन अवस्थामा ८५ प्रतिशत जनताले सनातन धर्मको पक्षमा मत दिएको छ, सिधै धर्म निरपेक्षता मात्रै लेख्दा जनताले विद्रोह गर्न सक्छन् भनेर उनीहरूका छारो हाल्न कुटिल तरिकाले षड्यन्त्र गरेर त्यो व्यवस्था गरिएको हो । त्यो सनातन धर्मको सम्मान गरेको होइन ।

सनातन धर्म देशको आर्थिक सुधारको मूल आधार

धर्म निरपेक्ष हुनुको प्रभाव हाम्रो पारिवारिक अवस्थादेखि समाज सबै विकृत हुनेतर्फ उन्मुख छ । हाम्रो धर्मले जुन संस्कार सिकायो त्यसले परिवारभित्र अनुशासन र मर्यादा थियो, समाजमा र देशमा पनि शान्ति, अमनचयन थियो । आज परिवारभित्र पारिवारिक अनुशासन छैन । हरेक परिवार अराजक परिस्थितिमा चलेको छ । देशमा पनि त्यस्तै अवस्था छ ।

सनातन धर्म भनेको देशको आर्थिक सुधारको मूल आधार हो । धार्मिक पर्यटनको सम्भावना छ । सानो पूर्वाधार बनाइदिएको भरमा, राम्रोसँग प्रचारप्रसार गरिदिएको भरमा देशमा अर्बौं सनातनी र सम्पूर्ण धर्म मान्ने मान्छेहरू पनि नेपाल आउँछन् । उदाहरणका लागि भारतको प्रयागराजमा भएको महाकुम्भ मेलामा हेरौँ न, त्यहाँ इसाई, मुस्लिमलगायत सबै धर्मावलम्बीहरू आएका छन् । त्यसले त्यहाँको धार्मिक महत्व मात्रै बढेन, बृहत् आर्थिक लाभ पनि भएको छ ।

नेपाली कांग्रेसभित्र वैदिक सनातन धर्म र हिन्दु राष्ट्रको वहस

आमनागरिकहरू सनातनी हुँदाहुँदै यहाँको गरिबी र अशिक्षाको कारणले सनातन धर्माबलम्बीहरूलाई धर्मान्तरण गर्ने काम युद्धस्तरमा अघि बढाउन सहज भएको हो । लोभ, लालच र व्यक्तिगत प्राप्तिको मानसिकताबाट ग्रसित समकालीन नेपालको मूल नेतृत्वको चरित्रको फाइदा उठाएर नेपालको सनातन धर्मलाई कमजोर पार्ने काममा प्रयोग गरियो । राजनीतिक तहबाट गम्भीर त्रुटी भएकाले राजनीतिक तहमै बहर गरी यसमा सुधार गर्नुपर्छ । नागरिकहरूको भावना र देशको एकताको आधार पनि यही हो । विकासको आधार पनि यही हो । पहिचानको आधार पनि यही हो ।

नेपालको इतिहास हेर्ने हो भने हरेक राजनीतिक मुद्दामा नेपाली कांग्रेसले निर्णायक भूमिका खेल्ने गरेको छ । त्यस अर्थमा देशको मूल धर्मको रक्षा गर्ने कामको नेतृत्व पनि कांग्रेसले गर्नुपर्छ । यसका लागि संविधान सुधार गर्ने, संरक्षण गर्ने कुराको नेतृत्व पनि कांग्रेसले गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो । त्यसकारण पार्टीमा यो विषय उठाइएको हो । अहिले यो विषय पार्टीमा औपचारिक र संस्थागत बहसको विषय बनेको छ । २ वटा महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन भइसकेको अवस्था छ । पछिल्लो महासमिति बैठकमा त हामीले बहुमत नै पु¥याएका हौँ । ४४ जना केन्द्रीय समिति सदस्य र १ हजार ८१५ जना महासमिति बैठकका प्रतिनिधिहरूमध्ये १ हजार १५ जनाभन्दा बढी महासमिति सदस्यहरूले वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका थिए ।

महासमिति बैठकमै सो हस्ताक्षर अभियानको सम्बन्धमा कुरा राख्नसमेत दिइएको थियो । तर कांग्रेसको केन्द्रीय समितिले यो तथ्य समयमै आत्मसात् गरेन । यो गम्भीर भुल हो । यद्यपि अहिले हाम्रो पार्टीका अन्य धेरै शीर्ष नेताहरू पनि यसै पक्षमा बोल्न थाल्नुभएको छ । त्यसो त अब यो विषय कांग्रेसको मात्रै रहेन । सडकबाट जोडदार रूपमा हिन्दु राष्ट्रको कुरा आएको छ । निश्चित रूपमा यी सबै जनताकै मत हुन् ।

यो जनमत नसुन्ने हो भने देशलाई त क्षति हुन्छ नै सबैभन्दा बढी क्षति नेपाली कांग्रेसलाई हुन्छ । कांग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल नीतिमा बनेको पार्टी हो । तर, के हो राष्ट्रियता भनेको ? यो कुरा कांग्रेसले बुझ्नुपर्दैन ? यो कुरा नबुझ्दा सबभन्दा क्षति पार्टीलाई र देशलाई हुन्छ ।

कांग्रेस बाहिर पनि छ हिन्दू राष्ट्रको पक्षमा मत

वैदिक सनातन धर्मको पक्षमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) भित्र पनि उल्लेख्य मत त । तर उनीहरूको पार्टीको आफ्नो विधि, पद्धतिअनुसार त्यो मत बाहिर नआएको मात्र हो । आमनागरिक त छँदैछन् । उहाँहरू पनि यसको पक्षमा हुनुहुन्छ ।

हरेक नागरिकको प्रमुख दायित्व आफ्नो देशको रक्षा गर्नु हो । देशको रक्षा गर्नु भनेको आफ्नो मूल धर्मको रक्षा गर्नु हो । हरेक परिवारको आ–आफ्ना संस्कार र संस्कृति छन् । जसले पुख्र्यौली संस्कार संस्कृतिको जर्गेना गरेको छ, आज पनि त्यो परिवारको समाजमा प्रतिष्ठा, सम्मान र विश्वास छ । जसले गरेका छैनन् ती समाजबाट तिरस्कृत भएका छन् । बहिष्कृत भएका छन् र घरपरिवार पनि लथालिंग छ । देशको पनि अवस्था त्यही हो ।

त्यसकारण विलम्ब नगरी कांग्रेसका नेताहरू अब सच्चिनु जरुरी छ, जो आजसम्म यो कुरामा सहमत हुनुहुन्न । नेताहरूकै कारण कांग्रेसमा प्रभाव परेको छ । राजनीतिक रूपमा हेर्दा पनि कांग्रेसको भोट घटिरहेको छ । भोट घट्नुको मुख्य कारण यो पनि हो । कांग्रेसले महान काम गरेको हो भनुँ भने कांग्रेसको पक्षमा भोट आएको छैन । यसको जवाफ कांग्रेसभित्र कसले दिन्छ ? अब पार्टीभन्दा माथि उठौँ र वैदिक सनातन हिन्दुराष्ट्र बनाऔँ ।

राजा र राजसंस्थाभन्दा माथि छ वैदिक सनातन हिन्दुराष्ट्रको कुरा

विगतमा आफ्ना पितृहरूलाई तर्पण दिने क्रममा स्वर्गबासी राजाहरूलाई पनि दिने अभ्यास थियो नेपाली समाजमा । त्यसैले सनातन धर्म भनेको कुनै व्यक्ति विशेष, दल विशेष, समाज विशेषको कुरा भएन । राजा विशेषको कुरा पनि भएन । यो सबै विषयभन्दा माथिको विषय हो । वैदिक सनातन हिन्दुराष्ट्र हुनेबित्तिकै अरू धर्मको सम्मान हुँदैन, अरू धर्म मान्नेहरूले दुःख पाउँछन् भन्ने प्रचार छ । त्यस्तै सनातन धर्मको कुरा गर्ने बित्तिकै यो त राजा ल्याउनलाई गरेको षड्यन्त्र हो भन्ने प्रचार गरेका छन् । मूलभूत रूपमा यो राजाभन्दा माथि, दलभन्दा माथि हो सनातन धर्म । त्यो वास्तविकतालाई आत्मसात् गरेर वैदिक सनातन धर्मको बहस गरेको हो । राजसंस्था राजनीतिक विषय भयो । संघीयताका विषयमा पनि मान्छेहरूको मत अभिमत छन् । तर यी सबै विषयभन्दा माथिको विषय वैदिक सनातन धर्मको विषय हो ।

(संविधानसभा सदस्यसमेत रहेका भण्डारी नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन्)

प्रतिक्रिया