ऋषिकेश–हरिद्वार र मोदीको धार्मिक राजनीति

‘ए कमरेड, डेरासम्म जानपर्ने बसभाडा छैन, ल्याउनु न १० रुपैयाँ’ भनेर मागी चप्पल फड्काउँदै हिँड्ने ओलीजीको दिन त्यहीँदेखि बलेको हो, जतिवेला टनकपुर सम्झौता भई महाकालीको पानी भारतले लाने र नेपालतिर सुरक्षाघेरा राख्ने सम्झौता भयो ।

सरोजदिलु

चैत ४ गते, देहरादुन जाने मेसोमा कन्चनपुरको उद्योग वाणिज्य महासंघको कार्यालय परिसरमा धेरै ब्यापारी साथीहरूसँग भेटघाट भयो । सरकारले दिएको सुविधा खाने अंशियारमा मेरो पनि नाम थियो । म कम्युनिस्ट भएदेखि नै मेरो मानसपटलमा ब्यापारीहरूलाई दलाल, भ्रष्ट र ठग हुन् भन्ने बस्दै आएको थियो ।
मैले केहीबेरसम्म उनीहरूमा त्यही अनुहार देखेँ । तर जब वाणिज्य संघहरूले साना तथा खुद्रा ब्यापारीहरूको उत्पादनहरू देशविदेशसम्म पुर्याई बिक्रीवितरण गर्न सहजीकरण गरिदिँदै आएको सुनँे, अझ निर्यातभन्दा आयात ११ गुणाले बढी भएको देशमा निर्यात बढाउनलाई संघले पहल गरिरहेको पाएँ, तब नेपाली कम्युनिज्म शिक्षाले कुण्ठित मेरो धारणा बदलियो । ब्यापार घाटाले सिंगो देशलाई आर्थिक असर पारिरहेको र त्यसले प्रत्येक नागरिकको जनजीवनमा पारेको असरका बारेमा समेत राम्रै ज्ञान रहेछ ।

टनकपुर सम्झौता र गड्डाचौकी

चैत ५ गते साँझ ६ वजेतिर हामी देहरादुनका लागि हिड्यौँ । महाकालीभन्दा करिब १ किलोमिटर वर गड्डाचौकी क्षेत्रमा नेपालको भूमिमा सीमास्तम्भ राखेर भारतीय सुरक्षादलले नेपालीमाथि गरेकोे हप्काइदप्काई ब्यवहार सहँदा कुनचाहिँ नेपालीको मन नपोल्ला । एकपल्ट सामान्य नागरिक भएर टनकपुर बेच्ने प्रधानमन्त्रीले यो अनुभूति गर्ने हो भने उनकै आँतसमेत कहाँ नजल्ला र । भारतीयहरूले वैकल्पिक नदी नै बनाई महाकालीको ९८ प्रतिशत पानी उसको भूमिमा लगेको छ भने हाम्रोतिर सानो नालामा करिब २ प्रतिशत मात्र पानी दिएको रहेछ ।

बाढी आउँदा भने भारतले उसको ठुलो नहर थुनिदिन्छ र नेपालतिर पस्ने नहरको ढोका पूर्णरूपमा खोलिदिन्छ । जसकाकारण नेपालतिर बाढी पसी बर्सेनि गड्डाचौकीदखि कृष्णनगर, बेलौरीसम्म डुबान हुनेगर्दछ । नेपालतिर अलिकता पसेको पानीमा समेत भारतीयहरू नै आइ पौडी खेल्दै र रमाउँदै ‘कितना मज्जा आ रहे है’ भनेको सुन्दा जुनसुकै नेपाली मनलाई आक्रोशित बनाउँछ नै । भारतीयहरूको यो दादागिरी देखेर टनकपुर सम्झौता गर्ने सबैलाई सराप्न मन लाग्छ ।

‘ए कमरेड, डेरासम्म जानपर्ने बसभाडा छैन, ल्याउनु न १० रुपैयाँ’ भनेर मागी चप्पल फड्काउँदै हिँड्ने ओलीजीको दिन त्यहीँदेखि बलेको हो, जतिबेला टनकपुर सम्झौता भई महाकालीको पानी भारतले लाने र नेपालतिर सुरक्षाघेरा राख्ने सम्झौता भयो । त्यसपछि ट्रकका ट्रक पैसा बोेकेर भारतीयहरू बल्खु दरबारभित्र पस्दा माधव नेपाल र ओलीका माक्र्सवाद लेनिनवाद, साम्यवादका भूतहरू कता हराए–हराए । अहिले त हाम्रै भूभागमा शौचालयसमेत बनाएर दिसापिसाब गरेको पैसासमेत भारतले असुलिरहेको छ ।

सरकारप्रति नागरिक विश्वास

चैत ७ गते साँझ, इन्डो–नेपाल टुरिजम र कल्चर इक्स्चेन्स हेरिटेज फेरको उद्घाटन हुने अघिल्लो दिन, सजावट झकिझाकाउ थियो । परेडग्राउन्डलाई चारैतिबाट बत्तीले झिलिमिली सजाइएको थियो । विभिन्न खेलखेल्ने मेसिनहरू– बच्चाहरू उफ्रने ट्युब, स्काई रेल, स्काइपिङहरूको अन्तिम परीक्षण हुँदै थियो । त्यो रौनक हेर्न मानिसहरूको भिड लाग्दै थियो । भारतीय ब्यापारी र नेपाली ब्यापारीहरूले आआफ्ना स्टलहरू तयार गरी साँझदेखि समानहरू बिक्री गर्न आरम्भ गर्दै थिए र केहीले एकैक्षणमा ६०–७० हजारको ब्यापार गर्न भ्याइहाले । म मध्ये ग्राउन्डमा उभिएर चारैतिर हेरेँ, आहा ! यो भूमि नेपाल थियो, आज नेपालकै रहेको भए ।

८ गते उत्तराखण्डका मुख्यमन्त्री नेपाली मूलका पुश्करसिंह धामीको प्रमुख आतिथ्यतामा उद्घाटन भयो । बेलुका ६ बजेतिर नेपाली पञ्चेबाजा, नेपाली दौरासुरुवाल र ढाकाटोपीमा सजिएका लावालस्करसहित उनको आगमन भयो । उनीउपर सबैको मनमा विश्वास र सम्मान थियो । उनी निर्धक्क जनताको बीचबाट आए, सान्दारसँग नेपाल–भारत सम्बन्धका कुरा राख्दै दुवै देशहरू सदियौँदेखि दाजुभाइ रहेको, सीमामा देखिएका समस्याहरू सुल्झाउँदै जाने प्रतिवद्धता जनाए । तर नेपालमा जस्तो ‘केपी चोर देश छोड’ कसैले भनेनन् ।

नेपाल सिकाउने संस्कृति

भारतीय भूमिमा रहेर पनि नेपाललाई अति माया गरिरहेका छन्, देहरादुनी नेपालीहरू । नेपाली बस्तुहरू भनेपछि महँगै हालेर भए पनि किनिदिन्छन् । यताबाट लगेको कोदो, फापर, भटमास, मस्याङ, गहत, राज्मा, चिउरा, गुन्द्रुक तथा डोकोनाम्लाहरू, खुकुरी, टोपीहरू एकैक्षणमा बिक्री भयो । नेपाली ढाकाटोपी त उनीहरूलाई लाउने खुबै रहर हुनेरहेछ ।

मैले लगाएको देखेर भारतीय मूलकै धेरै मानिसले टोपी किनेर लगे । हामीलाई माया गर्दै उनीहरूले सल्लाह दिए, ‘नेपाली भनेपछि जे पनि बिक्री हुन्छ । देहरादुनमै यस्ता हस्तकला वस्तुहरूको एउटा बिक्री केन्द्र खोल्नोस्, ब्यापार गर्नाेस् । बरु के गर्न पर्छ हामी सहयोग गर्छौं ।’ उद्योग वाणिज्य संघ तथा ब्यापारी निकासी केन्द्रजस्ता संस्थाहरूले यसको पहल गरिदिए, नेपाली बस्तुहरू बिक्रीबाट भारतीय रुपैयाँ भित्र्याई यहाँ रोजगारी सिर्जना गर्न सहयोग पुग्ने नै रहेछ ।

नालापानी र बलभद्रको सम्झना

हामी ९ गते बिहान वीर बलभद्र कुँवरले अंगेजविरुद्ध लडेको नालापानी क्षेत्रमा पुग्यौँ । नालापानी त अहिले सहर नै बनिसकेको रहेछ । अनि हाम्रा सेनाहरूको सम्मान गर्दै भारत सरकारले युद्ध लढेको क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको रहेछ । अझ गढी क्षेत्रमा बलभद्रको नामै किटान गरेर नेपाली खुकुरी र उहाँको संक्षिप्त इतिहाससहित सहिदस्तम्भ खडा गरिएको रहेछ । भारतले नेपाललाई दिएको यो सम्मान गर्व गर्न लायक छ । त्यहाँबाट देखिने देहरादुनको दृश्यले एकक्षण जोकोहीलाई आनन्द दिलाउँछ, तर गुमेको आफ्नो भूभाग नियाल्दा आत्मग्लानी हुन्छ नै ।

गढी क्षेत्रमा पानीको मुहान भत्काइदिएको ४ दिनपछि युद्ध छाडेर त्यही खोलामा झरी अञ्जुलीले पानी उभाएर पिई खुकुरी धोई फर्किएका थिए, बलभद्र सहितका वीरवीरंगनाहरू । त्यसपछिको बाँकी इतिहास छैन । इतिहास हराएका ती वीरवीरंगनाहरूलाई हामीले त्यही संग्लिएको पानीमा धेरैबेर खोज्यौँ । त्यसपछि हामी नालापानीको मुहानतर्फ अगाडि बढ्यौँ, पाखापखेरुहरूमा धऐँरीहरू भरखर फुल्न लागेका थिए । कोही नेपालीहरू पितृतर्पण गर्न खोला किनाराभरी देखिन्थे । सायद तिनले पनि तिनै वलभद्रहरूलाई सम्झे होलान् ।

कमजोरीहरू

यो ब्यापार मेला मात्र होइन, २ देशीय अन्तरसम्बन्धलाई अझ विस्वसनीय र सुदृढ बनाउने, नाका सुविधाहरू सहज बनाउने माध्यम थियो । तसर्थ कूटनीतिक सम्बन्धका लागि पनि कार्यक्रम बनाउन सकेको भए अझ उत्तम हुने थियो । अझ हामी पर्यटन प्रवद्र्धनको ब्यानर लिएर त्यहाँ पुगेका हुनाले नेपाली कलाकारहरू लिएर केही प्रस्तुतीहरू दिनुपर्दथ्यो । दुवै देश पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीहरूका मानिसहरूसमेत त्यहाँ लगेर कनेक्टिभिटी बढाइदिनुपर्दथ्यो । त्यो हुन सकेन ।

यो बाहेक जहाँ कार्यक्रम गर्यौँ त्यो पायक पर्ने स्थान थिएन । हामीले ऋृषिकेश वा हरिद्धारजस्ता मानिसहरू प्रशस्त आवतजावत् गर्ने क्षेत्रमा गरेको भए त्यसले पर्यटकीय महत्व राख्दथ्यो । आयोजक पक्षले बिटुबीका कुनै कार्यक्रमको संयोजन नै गर्न नसकेको देखियो । यसर्थ नाम इन्डो–नेपाल टुरिजम एन्ड कल्चर हेरिटेज फेर राखेता पनि त्यहाँ कल्चर र टुरिजम प्रवद्र्धनका लागि आकर्षक कार्यक्रम डिजाइन गर्नमा ज्ञान नपुगेकै देखियो ।

ऋृषिकेश–हरिद्धार र मोदी धर्मनीति

उत्तराखण्डको उपल्लो क्षेत्रमा पानीहरू जम्मा भई ऋृषिकेश हुँदै गंगा नदी बग्छ र एउटा सानो पहाडको चेपलाई छिचोलेर भारतको समथर भूभागमा निस्कन्छ । त्यही चेपलाई हरिद्धार भनिन्छ । धर्म प्रचारप्रसारबाट मानिसहरूको तीर्थयात्रा बढेपछि ब्यापार–ब्यवसायसमेत मनग्गे हुने गरेको छ । आज गंगानदी उत्तराखण्डको अर्थतन्त्र धान्ने मेरुदण्ड भएको छ । जहाँ हरिका नाममा र अन्य ब्यवसाय गर्न दैनिकरूपमा ५०औँ हजार पर्यटकहरू पुग्छन् ।

उत्तराखण्डले पहाडहरूको चेपको नदी अनि त्यहाँका पत्थरलाई समेत आर्थिक आम्दानीको बाटो बनाइएको छ । एक अन्जुली पानीसमेत उसले भारु १०० रुपैयाँमा बेचेर आम्दानी गरिरहेको छ । खोलाका पत्थरहरूलाई शालग्राम भनेर संसारका मानिसलाई बेच्छ अनि विभिन्न हड्डीहरूका शंख, घन्टी र चमर बनाई हरिका नाममा उसले राम्रो ब्यापार गरिरहेको छ ।

करिब १० दिनको भारत बसाईपछि ९ गते बेलुका ८ः१५ वजे नेपाल फर्किने कार्यक्रमअनुसार हरिद्वारतर्फ लाग्यौँ । ऋृषिकेश–हरिद्वार, जहाँ ऋषि र हरीभन्दा पनि मैले त मोदी नै मोदी पो देखेँ । अनि धर्मभन्दा पनि राजनीति देखेँ । संसारका हिन्दुआस्थाका मानिसलाई बोलाएर राम्रो अर्थतन्त्र आर्जन गर्ने राजनीति । विशेषगरी ऋषिकेश र हरिद्वार घुमेपछि हिन्दु भन्ने धर्म नभइकन मोदीको राजनीतिक, आर्थिक कार्यनीति र सामाजिक रणनीति रहेछ भन्ने थाहा हुन्छ ।

मोदी भौतिकवादी नै हुन्, भगवान्ले सवै कुरा गरिदिँदैनन् भन्नेमा उनी ढुक्क छन् । तर जनतालाई संगठित गराउने, एकठाउंँमा गोलबन्द गरी चुनाव जित्ने माध्यमको रूपमा उनले हिन्दुधर्मलाई अपनाएका छन्, जबकि कम्युनिस्टहरूले साम्यवाद वा समाजवाद त कांग्रेसले उदारवाद भनिरहँदा त्यसलाई कमजोर देखाउनका लागि पनि मोदीले हिन्दुवादलाई अघि सारेका हुन् । जसबाट विश्वका मानिसहरूलाई भारततर्फ खिच्दछ, विभिन्न तीर्थस्थलहरूको नाममा ब्यापार बढेको छ ।

प्रतिक्रिया