पाठक पत्र : बालेन ठिक कि सुनिता ?

स्वतन्त्र मेयरको औचित्य पुष्टि

काठमाडौं महानगरपालिकामा बिहीबार भएको घटना सरकार र जिम्मेवार राजनीतिकदलहरू गम्भीर नहुनुको परिणाम हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि लागेको भ्रष्टाचारको आरोप गम्भीर छ । उनले अदालतबाट क्लिन चिट नपाउँदासम्म अर्को कर्मचारी पठाइदिन महानगरले गरेको आग्रह संघीय सरकारले स्वीकार गरेको भए यो समस्या आउँदैनथ्यो ।

संविधानको अनुुसूची ८ लाई मनन् गर्ने हो भने स्थानीय सरकारलाई संघीय सरकारको मातहतको निकाय मान्न सकिने अवस्था छैन । संविधानले प्रदान गरेको अधिकार व्यवहारमा उतार्ने मेयर बालेन शाहको प्रयासलाई उपमेयर सुनिता डंगोलले साथ दिएको देखिएन । उनी पनि ओली पथमै देखिइन् ।

बालेन शाहले यो समस्या सतहमा ल्याएर आमजनतालाई जानकारी दिएका छन् । सबै स्थानीय सरकारले यो समस्या बेहोरेका छन् । फरक यत्ति हो कि, अन्य स्थानीय सरकारका प्रमुख तथा अध्यक्षहरूलाई पार्टीको अघोषित ह्विप छ, तर बालेन स्वतन्त्र हुन् । दलीय व्यवस्थामा स्वतन्त्र मेयरको औचित्य पुष्टि गर्ने काम बालेनले त गरेकै थिए, प्रकारान्तरले प्रधानमन्त्री ओलीले पनि गरेका छन् ।

अमिता महर्जन, वडा नं १६ काठमाडौँ

०००

बालेन ठिक कि सुनिता ?

प्रायः सबैजसो पालिकामा मेयर तथा उपमेयरबीच द्वन्द्व हुने गरेको देखिएको छ । यो द्वन्द्व नयाँ होइन । पञ्चायतकालमा पनि प्रधानपञ्च र उपप्रधानपञ्चबीच द्वन्द्व हुन्थ्यो ।

एउटै पार्टीका मेयर र उपमेयरबीच पनि बोलचाल नहुने गरेका समाचार आइरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र सुनिता डंगोलले द्वन्द्वको कुनै संकेत दिएका थिएनन् । तर प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा भने भूकम्पको धक्का जसरी एक्कासि द्वन्द्व विष्फोट भएको देखियो । कर्मचारीहरू उपमेयरको पक्षमा उभिएको देखियो । प्रहरी मेयरको पक्षमा उभिएको देखियो ।

बालेनको समर्थनमा सामाजिक संजालमा देखिने गरेको भिड फिल्डमा देखिएन । जसका कारण उपमेयर डंगोलको मनोबल बढेको स्पष्ट छ । तर, यो द्वन्द्वको मुख्य बिउ भनेको पुरानो बसपार्कमा निर्माणधीन काठमाडौँ टावर हो । प्रक्रिया पूरा नगरी भवन निर्माण थालिएको हो वा होइन ? प्रशासकीय अधिकृत गुरागाइँ भ्रष्टाचारी हुन् कि होइनन् ? यी २ वटा प्रश्नको उत्तर आएपछि मात्रै मेयर बालेन ठिक कि ? उपमेयर सुनिता ठिक भन्ने एकीन गर्न सकिन्छ ।

प्रतीक पराजुली, सिनामंगल काठमाडौँ ।

प्रतिक्रिया