काभ्रे । गत शुक्रबार राजावादीहरुको आन्दोलनमा काठमाडौंको तीनकुनेमा एभुन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको विरोधमा पत्रकार महासंघ काभ्रेले आपत्ति जनाएको छ ।
काठमाडौंमा गत १५ गते राजावादी आन्दोलनको क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको आगो लगाई हत्या गरेको भन्दै निष्पक्ष छानविन गर्न र पत्रकारको भावी दिनको सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेलाई नेपाल पत्रकार महासंघ काभ्रेले ज्ञापनपत्र बुझाएको हो ।
पत्रकार महासंघ काभ्रेको ज्ञापनपत्रमा भनिएको छ, ‘उपरोक्त विषयमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई अवगतै छ ।’
उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ । अतः प्रमुख जिल्ला अधिकारीज्यूमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ ।
साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघ माग गर्दछ । हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारीज्यू मार्फत नेपाल सरकारसमक्ष आग्रह गरिन्छ । अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।’
प्रतिक्रिया