मिडिया लक्षित हिंसाले समाजको आवाज कुण्ठित : आन

काठमाडौँ । मिडिया कार्यालय तोडफोड तथा पत्रकारको ज्यान जाने गरी भएको तिनकुने हिंसाको नेपाल विज्ञापन संघ (आन)ले भत्र्सना गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रबाट सञ्चालित मिडिया र अन्य व्यवसाय लक्षित हिंसा र आगजनीले सरकारको मिडिया सुरक्षा प्रतिको चासो र कमजोरी प्रतिबिम्बित भएको उल्लेख गरेको छ ।

आनका महासचिव कृष्णप्रसाद घिमिरेद्वारा जारी वक्तव्यमा यस्ता घटनाले निजी क्षेत्रबाट मिडियामा हुने लगानीलाई हतोत्साही गरी सामाजिक आवाजहरूलाई कुण्ठित गर्ने उल्लेख गरिएको छ । ‘उदार प्रजातान्त्रिक व्यवस्थामा आफूलाई चित्त बुझेको कुरा राख्न पाउनु सबैको नैसर्गिक अधिकार हो भने त्यस्ता कार्यक्रमहरू आयोजना गर्दा अरूको क्षति हुन नदिनु आयोजक तथा राज्य प्रणालिको दायित्व पनि हो ।’

वक्तव्यमा भनिएको छ, ‘हालै राजधानीमा आयोजित शान्तिपूर्ण राजनीतिक विरोध कार्यक्रम भनिए पनि सो कार्यक्रम हिंसात्मक रूपमा परिणत हुँदा एभिन्युज टेलिभिजनका एक कर्मठ मिडियाकर्मी सुरेश रजक र सर्वसाधारण श्रमजीवी सबिन महर्जनको निधन भएको छ भने कान्तिपुर टेलिभिजन तथा अन्नपूर्ण पोस्टको कार्यालयकासाथै हिमालय टेलिभिजनको गाडीसमेत तोडफोड भई क्षति भएको छ । सो जनधनको क्षतिप्रति आन घोर भत्र्सनासँगै खेद प्रकट गर्दछ ।’

प्रतिक्रिया