समाजवादी मोर्चाका नेताको ठोकुवा– ‘राजसंस्था पुनस्र्थाना हुन सक्दैन’

काठमाडौँ । वर्तमान सरकारका कारण निम्तिएको बेथितिविरुद्ध भन्दै प्रदर्शन र सभा घोषणा गरेको समाजवादी मोर्चाका नेताहरूले नेपालमा राजसंस्था पुनस्र्थापना नहुने ठोकुवा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसंस्था पुनस्र्थापनाको सपना नदेख्न चेतावनी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहले विगतमा धेरै गल्ती गरेका कारण त्यसको परिणाम भोगिरहेको बताए । शाहले अर्को गल्ती गरेमा भोग्न बाँकी केही नरहने उनकोे दाबी छ । उनले जनता र राजनीतिक दलहरूको उदारतालाई कमजोरी ठानेर राजसंस्था पुनस्र्थापनाको दुस्साहस नगर्न चेतावनी दिए ।

‘विगतमा उनले धेरै गल्ती गरे । गल्तीको परिणाम उनले भोगिरहेका छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैन,’ उनले भने, ‘नेपाली जनताको र नेपाली राजनीतिक दलहरूको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस् ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको आशंका व्यक्त गरे । प्रधानमन्त्रीले उल्टोउल्टो काम गरेर राजावादीलाई फाइदा पुगेको भन्दै उनले ओलीलाई आफू गणतन्त्रवादी भएको पुष्टि गर्न आग्रहसमेत गरे । ‘प्रधामन्त्रीले उल्टोउल्टो काम गर्नुको अर्थ उहाँ राजावादीसँग मिलेको त होइन ? भन्ने गम्भीर प्रश्न उठको छ,’ उनले भने, ‘उहाँ हिजो पनि कहीँ न कहीँ भित्रभित्रै मिल्न खोज्नुहुन्थ्यो । उहाँलाई गणतन्त्रसँग रिस छ । उहाँले गणतन्त्र भनेपछि माओवादी देख्नुहुन्छ । माओवादी भनेपछि प्रचण्ड देख्नुहुन्छ । त्यसकारण कसरी सखाप पार्ने भन्ने उहाँको छ ।’

अध्यक्ष प्रचण्डले राजावादीहरूको प्रदर्शनलाई अराजकताको पराकाष्ठाको संज्ञा दिएका छन् । राजावादीहरूले केही मान्छे मरून् र देशभर आतंक फैलियोस् भन्ने चाहना राखेको भन्दै उनीहरूको प्रदर्शन निरंकुशतावादीहरूको प्रतीकजस्तो देखिएको टिप्पणी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः वंशको शासन ल्याउने चेष्टा गरे ठुलो मूल्य चुकाउनुपर्ने बताए । उनले राजतन्त्र फर्काउने कल्पना नगर्न भन्दै इतिहासको रथ पछाडि जान नदिने बताए । ‘राजतन्त्र फर्किने कुरा कल्पना नगरे हुन्छ । इतिहासको रथ पछाडि जान सक्दैन । हामी जान दिदैनौँ । देशमा त्यही वंशको शासन ल्याउने चेष्टा गर्छन् भने उनीहरूले ठुलो मूल्य चुकाउनुपर्छ,’ उनले भने ।

उनले सत्तामा बस्नेहरूको नालायकीका कारण जनताले दुःख पाइरहेको भन्दै उनीहरूले अग्रगामी विचार नराख्नुको परिणाम भोगिएको बताए । उनले प्रधानमन्त्री ओली अझै पनि संसद् भंग गर्ने सोचमा रहेको दावी गरे । अध्यक्ष नेपालले देश फेरि प्रतिगमनको दिशामा जान नसक्ने बताए ।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा ढलेर ध्वस्त भएको राजसंस्था पुनस्र्थापना सम्भव नभएको दाबी गरे । यसप्रति आफूहरू सचेत र जागरुक रहेको बताउँदै उनले भने, ‘ढलेको, ध्वस्त भएको शासन फर्केर आउन सम्भव छैन । केही चिन्ता लिनु जरुरी छैन । धेरै मच्चिएपछि थेचारिनुपर्छ । कोही विचलित हुनुपर्दैन ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले प्रतिगामी र पुनरुत्थानवादी शक्तिहरूले संविधान च्यात्न खोजेको भन्दै संविधानमा भएका उपलब्धिहरूलाई गुम्न नदिन समाजवादी मोर्चाले खबरदारी गरेको बताए । उनले संविधान निर्माता सबै दलहरूलाई संविधान र गणतन्त्र बचाउन समाजवादी मोर्चासँग सहकार्यमा आउन अपिलसमेत गरे ।

समाजवादी मोर्चा, नेपालले भृकुटीमण्डपमा गरेको सभामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी सामेल थिए ।

प्रतिक्रिया