सरकारको नजरअन्दाजले गयो २ जनाको ज्यान, औपचारिकतामै सीमित ‘आकस्मिक’ बैठक

हिंसात्मक बन्यो राजावादीको प्रदर्शन, सरकार निरीह

काठमाडौँ । शुक्रबार भएको राजावादीहरूको आन्दोलन हिंसात्मक बनेको छ । आन्दोलनबारे सरकार र सुरक्षा निकायलाई पूर्वजानकारी हुँदाहुँदै पनि त्यसलाई रोक्न र त्यसबारे पूर्वानुमान गर्न सरकार पूर्ण रूपमा अक्षम भयो । सरकारको बेवास्ता, आन्दोलनले लिन सक्ने हिंसात्मक रूप र त्यसबाट हुन सक्ने क्षतिबारे अन्देखा गरिँदा शुक्रबार दुःखद् घटना भएको स्थानीय, नागरिक तथा सरोकारवालाले आरोप लगाएका छन् ।

तर, सरकार भने शुक्रबारको घटनाको दोष आन्दोलनकारीतर्फ तेस्र्याएर पन्छिरहेको छ । अबेर राति बसेको मन्त्रिपरिषद्को आपत्कालीन बैठक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेको ब्रिफिङबाट पनि यसलाई पुष्टि गर्छ । साँझ ८ बजे आपतकालीन मन्त्रिपरिषद् बैठक बस्ने भन्दै साँझ ६ बजे नै समय तोकिएको थियो । तर, आकस्मिक भनिएको बैठक २ घन्टा पछिलाई तोकेर त्यसको पनि २ ढिलो गरी १० बजे मात्र बैठक बस्यो ।

२ जनाको मृत्यु, दर्जनौँ घाइते र करोडौँको भौतिक क्षति भएको घटनाको भत्र्सना गर्नेमै सीमित भएको क्याबिनेट बैठकले कुनै महत्वपूर्ण निर्णय गर्न सकेन । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिँदै बैठक सकियो । संघीय राजधानीमा यति अराजक र अप्रिय घटना हुँदा पनि आपत्कालीन भन्दै ४ घन्टापछि मन्त्रिपरिषद् बैठक बस्नु र त्यसमा पनि सामान्य विषयमाथि छलफल हुनुले सरकार अझै पनि सच्चिन चाहेको देखिँदैन । पत्रकारसहित २ जनाको मृत्यु हुँदा पनि सरकार घटनालाई सामान्य मानेर फेरि बेवास्ता गर्न खोजिरहेको छ ।

सुरक्षा संयन्त्रको गम्भीर चुक

देशको राजधानीमै यस्तो अवस्था हुनुले सुरक्षा संयन्त्र र त्यसलाई परिचालन गर्ने निकाय भने मौन रहे । २०७९ सालमा नयाँ बसपार्कस्थित ल्होत्से मलमा भएको घटना र २०८० पुसमा बालकुमारीमा भएको घटनाबाट पनि सुरक्षा संयन्त्रले पाठ नसिकेको शुक्रबारको घटनाले प्रष्ट पार्छ । सरकारले राजावादी समूहको आन्दोलनलाई अन्देखा र बेवास्ता गर्दाको परिणाम शुक्रबार देखियो । तर, गृह प्रशासन आफू चुकेको स्वीकार गर्न चाहँदैन । बरु ‘सुरक्षाकर्मीको संयमताले ठुलो मानवीय क्षति हुन पाएन’ भन्दै यसबाट आफूलाई चोख्याउन खोजिरहेको छ ।

पत्रकारसहित २ जनाको मृत्यु

राजावादीहरूले तिनकुनेस्थित निजी घरमा आगजनी गरेपछि पत्रकार सुरेश रजकको मृत्यु भएको छ । एभिन्युज टेलिभिजनमा कार्यरत फोटो÷भिडियो पत्रकार रजक दृश्य छायांकनका लागि उक्त घरमा गएका बेलामा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए । सो आगजनीमा परेर उनको मृत्यु भएको हो ।

त्यसैगरी, तिनकुनेमै प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुर नगरपालिका–४ का २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार प्रदर्शनमा १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी गरी ३० जना घाइते भएका छन् ।

ठाउँ–ठाउँमा आगजनी र तोडफोड

प्रदर्शनकारीले काठमाडौँका विभिन्न स्थानमा आगजनी गरेका छन् । तिनकुनेका केही निजी घरमा आगजनी गरेका उनीहरूले कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा पनि तोडफोड गरे । आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा पनि तोडफोड भएको छ भने पार्टी कार्यालयमा रहेका कागजात बाहिर निकालेर जलाइएको छ ।

त्यसैगरी, राजावादी प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा पनि तोडफोड र लुटपाट गरेका छन् । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत आगजनी गरेका छन् । जडीबुटीमा ८ वटा सवारीसाधनमा समेत आगजनी गरिएको छ । त्यस्तै, रास्वपा प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी पनि जलाइएको छ । सिंहदरबारस्थित कार्यकक्षमा काम सकेर घर फर्किने क्रममा बालकुमारीमा उनको गाडी जलाइएको हो । प्रदर्शनकारीले काठमाडौँका अन्य विभिन्न स्थानमा दर्जनौँको संख्यामा सवारीसाधनहरूमाथि आगजनी गरेका छन् ।

दुर्गा प्रसाईँलाई कारबाही गर्छौं : गृह मन्त्रालय

अभियानका संयोजक तथा आन्दोलन परिचालन जनकमान्डर दुर्गा प्रसाईंले सुरक्षाकर्मी मार्ने उद्देश्यले आफैँ सवारीसाधन चलाएर निषेधित क्षेत्रतर्फ अघि बढेपछि स्थिति बिग्रिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शन सरकारले अनुमान गरेको भन्दा फरक र अराजक भएको बताए । ‘आन्दोलनको नेतृत्व दुर्गा प्रसाईँले गरेकाले उहाँ नै आजको घटनाप्रति जिम्मेवार हुनुहुन्छ । क्षतिको पूर्ण जिम्मेवारी आयोजकको तर्फबाट उहाँहरूले लिनुपर्छ,’ उनले भने । प्रदर्शन राजनीतिक नभई जघन्य अपराध भएको उनको भनाइ छ ।

घटनाको जिम्मेवार सरकार : राजावादी

राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदीले घटनाको सम्पूर्ण जबाफदेहिता सरकारले लिनुपर्ने बताएका छन् । प्रशासनले आफूहरूको आन्दोलनमाथि अत्याचार र थिचोमिचो गरेको र घरमाथि लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरेका कारण जनमानसमा आक्रोश बढेर आगजनीको घटना भएको बताए । ‘हामीमाथि सुरुदेखि नै अत्याचार भयो । प्रशासनबाट थिचोमिचो भयो । हाम्रो ज्यादती केही छैन,’ उनले भने, ‘यसको सम्पूर्ण जबाफदेहिता सरकारले लिनुपर्छ ।’

कारबाही गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले तिनकुने प्रदर्शन र आमसभा हिंसात्मक भएको बताउँदै संलग्नलाई कारबाहीको माग गरेको छ । प्रवक्ता टीकाराम पोखरेलले हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै कानुनी कारबाहीको माग गरेका हुन् । आयोगले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया