जनकपुरधाम । वर्षाैंदेखि जनकपुरधामको मन्दिरको सयौँ बिघा जग्गा कब्जा गर्ने या मन्दिरका महन्थसँग मनखपको नाममा लेखाई कब्जा गर्दै आएका छन् । संघीय सरकारबाट नै जनकपुरधामको मन्दिरको जग्गा संरक्षणका लागि पहल गर्ने तदारुकता देखाइरहँदा मधेस प्रदेशकै एक सांसदले जनकपुरधामको करोडौँ मूल्य पर्ने ६ कठ्ठाभन्दा पनि बढी जग्गा मनखपको नाममा कौडीको भाउमा खरिद गरी घर बनाउने कार्य गरिरहेको खुलासा भएको छ ।
जनकपुरधामको धार्मिक क्षेत्र विहार कुण्डस्थित विजय राघव कुञ्ज मन्दिरको ६ कट्ठा ५ धुर ३ कन्मा जग्गा पुजारीले मधेस प्रदेशका १ सांसदलाई २२ लाख रुपैयाँमा बेचेको खुलासा भएको हो ।
जनकपुरधाम–८ विहार कुण्डस्थित विजय राघव कुञ्ज मन्दिरका पुजारी रामसागर दासले मन्दिरको जग्गा प्रदेशसभा सदस्य जंगीलाल राय यादवलाई वार्षिक ४० किलो धान बुझाउने सर्तमा मनखपको कागजमार्फत बिक्री गरेका छन् । जग्गामा रातारात माटो भराउने र बाउन्ड्रीवाल काम भइरहँदा स्थानियवासीले विरोध गरेपछि बाउन्सर लगाई कुटपिट गरेपछि स्थानियवासीले पत्रकारलाई गुहारेपछि यस्तो खुलासा भएको हो ।
जनकपुरधाम उमहानगरपालिका–१४ मुजेलियाको प्रगतिनगरमा विहार कुण्डस्थित विजय राघव कुञ्जका पुजारी दासको नाममा रहेको सो जग्गा राजनीतिक शक्तिको पहुँचको आडमा नेपाली कांग्रेसबाट निर्वाचित मधेस प्रदेश सभा सदस्य यादवले कब्जामा लिएको आरोप लागेको छ ।
प्रदेशसभा सदस्य यादवले विजय राघव कुञ्जका पुजारी रामसागर दासको नाममा रहेको सिट नम्बर १६९–१२७५–२४ को कित्ता नम्बर ३० को ६ कट्ठा ५ धुर ३ कन्मा जग्गामा धमाधम माटो पुर्ने काम जारी राखेका छन् ।
मन्दिरको जग्गा व्यक्तिगत प्रयोजनका लागि उपयोग गर्न नपाइने भन्दै स्थानीयले विरोध जनाउँदा नेता यादव र उनका छोरा डा.अमित यादवले बाउन्सर लगाएर स्थानीय केही युवाहरूलाई कुटपिटसमेत गरेको आरोप लगाइएको छ ।
सो जग्गा विहार कुण्ड मन्दिरको रहेको र जंगी लाल राय यादव मन्दिरका पुजारी राम सागर दाससँग मिलेर अतिक्रमण गर्नका लागि २०६८ सालमा मनखपको कागज लेखाएर अतिक्रमण गर्न खोज्दा टोलवासीहरूले विरोध गरेका थिए ।
त्यसबेला स्थानीय प्रशासनले जग्गा रोक्का गरी संरक्षण गरेका थिए । अहिले आएर पुनः नेता यादव लाठीको बलमा केही गुन्डाहरूको संरक्षणमा सो जग्गामा माटो पुर्ने काम गरिरहेको स्थानीय युवा दीपक पटेलले बताए । टोलबासीहरूले मठमन्दिरको जग्गा संरक्षण गर्नुपर्ने सबैको साझा दायित्व रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा संयुक्त निवेदनसमेत दिएका छन् । तर, स्थानीय प्रशासनले कुनै चासो नदेखाएको स्थानीय उदय यादवको गुनासो छ ।
पुजारी दासको नाममा हकभोग चलनमा रहेको सो जग्गा २०६८ फागुन १६ मा प्रत्येक वर्षको माघ मसान्तसम्ममा ४० किलो धान बुझाउने सर्तमा सांसद यादवका छोरा अमितको नाममा मनखपमा दिइएको थियो ।
यस सम्बन्धमा अमितले आफूले सो जग्गामा पर्खाल निर्माणका लागि उपमहानगरपालिका र वडा कार्यालयमा २०७३ सालमै नक्सा पास गराएको दाबी गरे । उनले आफूले सो जग्गा पुजारी दाससँग लिजमा लिएको दाबीसमेत गरे । त्यसैगरी त्यहीँका स्थानियवासी कानुनका विद्यार्थी कृष्णचन्द्र यादवले मन्दिरको जग्गालाई पावरको दममा कब्जा गर्ने कोशिस गरिरहेको बताउँदै यस जग्गामा सार्वजनिक हित हुने कार्यमा लगाउनुभन्दा उनीहरूले आफनो व्यक्तिगत प्रयोजनका लागि वाउन्सरहरू प्रयोग गरेर कब्जा गर्न लागेको बताए ।
यस सम्बन्धमा जग्गामा भइरहेको काम रोक्नका लागि सोही ठाउँ आगाडि रहेको मुजेलिया प्रहरीचौकीमा स्थानीयवासीहरूले निवेदनसमेत दिएका छन् । तर सो चौकी इन्चार्ज दिलीप यादवले आफू देवानीसम्बन्धी मुद्दामा हस्तक्षेप नगर्ने भएकोले यस विषयमा आफ्नो कुनै सरोकार नरहेको बताए । अदालतबाट निषेधाज्ञा ल्याए आफूहरू काम रोक्नका लागि बल परिचालन गर्ने बताए ।
यता, नगरप्रमुख मनोजकुमार साहले सो जग्गाको नक्सा पास नभएको र उपमहानगरलाई त्यसबारे कुनै जानकारी नरहेको बताए । उनले अवैध तरिकाले निर्माण कार्य भइरहेको प्रमाणसहितको जानकारी आफूकहाँ आएमा नगरप्रहरी पठाएर निर्माण कार्य रोक्न लगाउने जानकारी दिए ।
यस सम्बन्धमा विजय राघव कुञ्जका पुजारी रामसागर दासले आफूले सो जग्गा सांसद रायलाई मनखपको कागज लेखाए पनि २२ लाख रुपैयाँ नगद लिएर बेचेको स्वीकार गरे । उनले आफ्नो व्यक्तिगत सो जग्गा कसैलाई बेच्दा त्यो कुरासँग कसैको कुनै सरोकार नहुनुपर्ने दाबी गरे । उनले भने, ‘जनकपुरधामको मन्दिरहरूका यतिका जग्गा कव्जा भइसक्यो कसैलाई मतलब छैन, आफू महन्थ रहेको र आफनो नाम रहेको यो जग्गा नुनतेल चलाउनका लागि बेचे भने कसलाई के मतलव ।’ पुजारीको यस्तो कुरा सुनेपछि त्यहाँ उपस्थित सञ्चारकर्मीहरू आश्यर्यचकित भएका थिए । हामी पत्रकारहरू छौँ, हामीलाई पनि दिनुस कति पैसा लिनुहुन्छ भन्दा, मन मिलेको मान्छेलाई मात्र बेच्ने जबाफ फर्काए ।
पुजारी दासले सो मन्दिरको नाममा रहेको करिब ५ बिघा जग्गामध्ये २४ कट्ठा जग्गा यसरी नै मनखपको कागज लेखाए पनि पैसा लिएर आफूले बिक्री गरेको समेत स्वीकारे ।
मन्दिरका जग्गाहरू धनुषा, महोत्तरी, सिरहा, सर्लाही र केही भारतमा पनि रहेको र त्यसमध्येका जग्गाहरू पनि आफूले यसरी नै बेचेको पुजारी दासले बताए ।
मनखपको नाममा प्रायः सबै मन्दिर र कुटीका महन्थ तथा पुजारीहरूले जग्गा बेच्दै आएकोले आफूले पनि सोही अनुसार गरेको दासको भनाइ छ ।
उनले भने, ‘२२ लाख रुपैयाँको नगद लेनदेन भएको थियो । यो मेरो व्यक्तिगत सम्पत्ति हो । म चाहन्छु भने जसलाई पनि बेच्छु, त्यसमा अरू कसैको चासो हुनुहुँदैन ।’ उनले यस्ता थुप्रै जग्गाहरू आफूले मुजेलियामा पनि बेचेको जानकारी दिए ।
यता जग्गा कब्जाको आरोप लागेका सांसद जंगीलाल रायले यस विषयमा कुरा गर्न तयार भएनन् । साढे ६ कठ्ठा जग्गामा सांसद जंगीलाल रायसहित नेपाली कांग्रेसका स्थानीय रूपमा नाम कहलिएका ६ जनाको संगलग्नता रहेको बुझिएको छ ।
जनकपुर
प्रतिक्रिया