बिचौलिया ‘पाेस्ने’, उपभोक्ता ‘सेक्ने’ नीतिले धरापकाे डिलमा अर्थतन्त्र

खाने तेलको आयात–निर्यात

काठमाडौँ । नेपालले पछिल्लो ८ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खाने तेल निर्यात गरेको छ भने ८० अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात गरेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ४८ अर्ब ६९ करोड २५ लाख ३२ हजार रुपैयाँको बढी तेल आयात भएको हो ।

पछिल्लो ८ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी परिमाणमा भटमासको तेल आयात भएको छ । यस अवधिमा ५१ अर्ब ४१ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको तेल आयात भएको हो । यसैगरी दोस्रो ठुलो परिमाणमा २० अर्ब ४८ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको सनफ्लावर तेल आयात भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष नेपालको निर्यातमा खाने तेलको निकै ठुलो हिस्सा देखिएको छ । खाने तेलको आयात–निर्यातमा अस्वाभाविक वृद्धि हुँदा शंका उत्पन्न भएको छ । नेपालबाट अर्बौंको खाने तेल निर्यात भएको समाचार सुन्दा उपभोक्ता भने छक्क पर्ने गरेका छन् । नेपालमा तेलको बजार मूल्य हरेक महिना बढ्दै गएको छ । औसतमा खाने तेलको मूल्य पछिल्लो समय ३ गुणा बढेको बताइन्छ ।

२०७६ साल फागुनमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २७०, काँचो तोरी तेलको मूल्य १७०, भटमासको तेलको मूल्य १५० र सूर्यमुखी तेलको मूल्य १६० रुपैयाँ प्रतिलिटर थियो । २०८१ चैत १ गतेसम्म आइपुग्दा त्यो मूल्य बढेर भुटेको तोरीको तेलको मूल्य ४१०, काँचो तोरी तेलको मूल्य ३२५ र सूर्यमुखी तेलको मूल्य २५५ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, भटमासको तेल प्रतिलिटर २५५ रुपैयाँ प्रतिलिटर पुगेको छ । बजार मूल्यमा ठाउँअनुसार केही भिन्नता हुने गरेको छ ।

एकातर्फ ठुलो परिमाणमा निर्यात भएको देखिन्छ भने अर्कातर्फ नेपालमा मूल्य घटेको देखिँदैन । नेपालबाट निर्यात बढेको भन्दै खुसी हुनुपर्ने खास कारण नरहेको व्यवसायीले बताएका छन् । किनकि नेपाली उपभोक्तालाई पुगेर बचेको निर्यात भएको होइन । सौर्य दैनिकसँग कुरा गर्दै एक खुद्रा व्यापारीले भने, ‘नेपालमै उत्पादन भएर निर्यात भएको भए पो खुसी हुनु ! यहाँ त डलरमा कच्चा पदार्थ आयात गरेर धेरैजसो भारुमा निर्यात गरिरहेका छौँ । यसलाई सकारात्मक मान्न सकिँदैन ।’ विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खाने तेल बेच्दा निर्यात उल्लेख्य रूपमा बढेको स्वयं उत्पादकहरूले बताइरहेका छन् ।

किन बढ्यो निर्यात ?

२०८१ साउनदेखि फागुन मसान्तसम्ममा सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भटमासको तेल ४७ अर्ब, सनफ्लावर तेल ७ अर्ब ९८ करोड, पाम तेल १ अर्ब १७ करोड र तोरीको तेल २५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । चालु वर्षको ८ महिनाको अवधिमा खाने तेल निर्यातको ठुलो हिस्सा भारत भएको देखिन्छ । कुल निर्यातमध्ये ३२ लाख ४० हजार रुपैयाँको तेल अन्य मुलुकमा भएको छ भने ५६ अर्बको तेल भारतमा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

भारतले गत भदौमा अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर थप २० प्रतिशत बिन्दुले बढाएपछि भारतले आयात गर्ने कच्चा तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको छ । नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादित वस्तुले भारतीय बजारमा भन्सार शुल्क लाग्दैन ।

स्वदेशमा पर्याप्त कच्चा पदार्थ उत्पादन नभए पनि विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँका उद्योगले प्रशोधन गरी निर्यात गर्ने गरेका छन् । उत्पादकहरूले विभिन्न मुलुकबाट ठुलो मात्रामा कच्चा तेल आयात गर्छन्, नेपालमा रिफाइन गरेर निर्यात गर्छन् । अहिले अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट कच्चा तेल आयात भइरहेको छ ।

कति छ नेपालमा उत्पादन ?

पछिल्लो समय नेपालमा तेलहन बालीको खेती र उत्पादन बढ्दै गएको पाइएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २ लाख २५ हजार हेक्टर क्षेत्रफलमा तेलहन बालीको खेती हुन्थ्यो भने आव २०७८/७९ सम्म पुग्दा त्यो बढेर २ लाख ६० हजार हेक्टरमा फैलिएको छ । आर्थिक वर्ष २०७४/७५ मा २ लाख ४६ हजार मेट्रिक टन तेलहन बाली उत्पादन भएकामा २०७८/७९ सम्म पुग्दा त्यो बढेर २ लाख ८७ हजार मेट्रिक टन पुगेको छ ।

कुनै पनि बेला अर्थतन्त्र संकटमा पर्न सक्छ : केशव आचार्य

अर्थविद् केशव आचार्यले एक ठाउँबाट ल्याएर अर्को ठाउँमा पठाउने कार्यले अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताउँदै भने, ‘यस्तो कार्यमा दीर्घकालीन रूपमा स्वदेशी तथा विदेशी लगानी नहुने भएकाले कुनै पनि बेला अर्थतन्त्रमा ठुलो संकट आउन सक्छ । बहुदलीय व्यवस्थापछि नेपालमा औद्योगिकीकरण झन् नकारात्मक दिशामा छ । पञ्चायतदेखि नै सत्ताधारीले दिगो अर्थतन्त्रमा ध्यान दिएनन् । क्षणिक कुरामा रमाइरहेका छन् ।’ भारतले हाल भएको आयात नीति परिवर्तन गरेका दिन पुुर्पुरोमा हात लगाएर रुने दिन आउने उनले बताए ।

बिचौलिया अर्थतन्त्रले महँगीको मार : विष्णु तिमल्सिना

आयात गरेर निर्यात गर्दा बिचौलिया मात्रै मोटाउने उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव वरिष्ठ अधिवक्ता विष्णु तिमल्सिना बताउँछन् । नेपालमा मूल्य नीति नहुँदा बिचौलियातन्त्र हाबी भएको जनाउँदै उनले भने, ‘कति नाफा लिने, कति आयात गर्ने ? नेपाली उपभोक्तालाई कति दिने ? कति निर्यात गर्ने भन्ने कुनै नीति छैन । नेपाली उपभोक्ता महँगीको मारमा परिरहेका छन्, उद्योगी निर्यात भन्दै सहुलियत नीतिको फाइदा लिइरहेका छन् ।’ नेपालको बजार सीमित व्यापारीको मुठ्ठीमा भएको उनको आरोप छ । ‘संविधानमा समाजवाद, व्यवहारमा भने बिचौलिया अर्थतन्त्र हाबी भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया