जग्गा बेचेर ऋण तिर्न घर आएका डाक्टर १ वर्षदेखि बेपत्ता

आफ्नै दाजुले अपहरण गरेको परिवारको आरोप, प्रहरी भन्छ– अनुसन्धान गर्दैछौँ

महोत्तरी । विगत ११ महिनादेखि बेपत्ता बनेका महोत्तरीका डाक्टर प्रबोध यादव अझै भेटिएका छैनन् । महोत्तरीको भंगाहा निवासी डा. यादव गत वैशाखदेखि एक्कासि बेपत्ता भएका थिए । लेनदेनका कारण आफन्तले नै अपहरण गरेको दाबीसहित बेपत्ता चिकित्सक यादवकी पत्नी पूनमकुमारीले गत ४ साउनमै दिएको जाहेरीमाथि अनुसन्धान अघि नबढ्दा यादवको अवस्था अझै पत्ता लाग्न नसेकेको हो । जेठाजु पर्ने सुरेश यादवसँग लिएको २५ लाख रुपैयाँ ऋणकै कारण आफ्ना पति एक्कासि अपहरणमा परेको पत्नी पूनमको दाबी छ ।

सोहीअनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिँदा पनि आरोपितहरूलाई पक्राउसम्म नगरेको उनको गुनासो छ । ‘जेठाजु सुरेश यादवको योजनामै मेरा पति अपहरणमा परेको मसँग कैयौँ प्रमाण छन्,’ पूनमले भनिन्, ‘न्यायका लागि म सबैतिर भौँतारिएँ । तर, ११ महिनासम्म पनि अवस्था अज्ञात छ ।’

२०८० चैत २४ गते ऋण चुक्ता गर्ने उद्देश्यले आफ्नो घर सिंग्याहीस्थित बखरी टोलमा आएका डा. यादव २ सातापछि एक्कासि बेपत्ता भएका थिए । पीडित परिवारका अनुसार उनी २०८१ वैशाख ३ गतेदेखि सम्पर्कविहीन छन् ।

त्यसपछि पीडित परिवारले विभिन्न आधार पेस गर्दै जेठाजु सुरेश यादव, उनका छोरा सन्तोष यादव र अर्का छोरा रमेश यादवविरुद्व अपहरण गरी मानिस बेपत्ता बनाएको कसुरमा जाहेरी दर्ता गराए । तर, अनुसन्धान प्रक्रिया फितलो बन्दा बेपत्ता डा. यादवको परिवार बिचल्लीमा परेको छ । उनका १/१ जना छोराछोरी छन् ।

काठमाडौँमा क्लिनिक सञ्चालन गर्दै आएका डा. यादवले व्यवसाय सञ्चालनका लागि दाजु सुरेशसँग ऋण लिएको र निर्धारित समयमा दिन नसकेपछि मनमुटाव बढेको बताइएको छ ।

‘फोनबाटै जेठाजुका छोरा सन्तोषले पटक–पटक धम्की समेत दिएका थिए,’ पूनमले भनिन्, ‘उनीहरूले मसँगको कुराकानीमा मारिसकेको स्वीकार गरेका छन् । यति धेरै प्रमाण लिएर जाँदा पनि सरोकारवाला निकायले दिएको सास्तीले मलाई थप पीडित बनाएको छ ।’

उनीहरूले दिएको धम्कीको रेकर्ड सुरक्षित भएको भन्दै सोही आधारमा अनुसन्धान अघि बढाउन आफ्नो माग रहेको पूनमले बताएकी छिन् । उनले जाहेरीमा जेठाजु र छोराहरूले पतिलाई फोनबाटै चरम मानसिक तनाव दिएको र जग्गा बेचेर पैसा चुक्ता गर्ने भन्दा पनि ताकेता गरेपछि जनकपुरबाट बेपत्ता बनाएको उल्लेख गरेकी छिन् ।

यसका लागि आफू मानवअधिकारवादी, महिला सेल तथा मन्त्रालयलगायत पुग्नुपर्ने सबै ठाउँ पुगिसकेको पूनम बताउँछिन् । फोनमा उपलब्ध प्रमाण र लेनदेनकै आधारमा विपक्षीहरूले गरेको कार्य मुलुकी अपराध संहिता २०७४ को दफा २०६ को १, २ (ख) र २११ को १, २ (क)(ख) विपरीतको कार्य भएकाले पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ ।

यता, प्रहरीले भने यो घटनाको विषयमा अनुसन्धान प्रक्रिया अघि बढेको र प्राप्त केही प्रमाणको विषयमा पीडित परिवारलाई समेत जानकारी गराइसकेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले घटना जटिल प्रकृतिको भएकाले अनुसन्धानमा समय लागेको बताउँदै अनुसन्धान प्रक्रियामा रहेकाले केही बोल्न नमिल्ने वताए ।

‘अहिले म तपाईंसँग यो विषयमा केही बोल्दिनँ । जे होस्, घटनाको गहिरो अनुसन्धान भइरहेको छ,’ जैसवारले भने, ‘कतिपय घटना अनुसन्धान गर्दा समय लाग्छ, त्यसो हुँदा पीडित पक्षबाट गुनासो आउनु स्वाभाविक हो ।’

प्रतिक्रिया