ओझेलमा बालकमाथिको यौन हिंसा

पुरुषले पुरुषलाई बलात्कार गर्यो भने कानुन छैन, अप्राकृतिक मैथुनमा पनि प्रष्ट कानुन छैन, बालकलाई पनि संरक्षण गर्न कानुन बनाउन जरूरी छ ।

काठमाडौँ । ‘अहिले पनि ती दिन सम्झँदा आङ सिरिङ्ग हुन्छ, मलाई त्यो पीडादायी बाल्यकालको घटना सम्झनै मन लाग्दैन’, कोटेश्वरका एक युवाले १३ वर्ष हुँदा भोगेको यौन दुव्र्यवहारको तितो सम्झना हो यो ।

सानै हुँदा बुबा बितेपछि आर्थिक समस्याका कारण पढाइ अघि बढाउन उनी ठुलोबुबाको घरमा बस्नुपर्ने भयो । त्यहाँबाट कक्षा ८ मा भर्ना भएर उनको पढाइ सुरू भयो । त्यसबेला उहाँलाई ठुलोबुबाको छोरा दाइसँग सुत्नुपर्ने भयो । दाइले बिस्तारै उनीमाथि यौन दुव्र्यवहार गर्दै गएपछि सहनै नसक्ने पीडा हुन थाल्यो ।
‘दाइले नियमितजसो नै मेरो यौनांग दैनिक धेरैबेरसम्म चलाउने, यसो गर, उसो गर, भनेर अनेक गर्न लगाउने… दुखेर रून्थेँ, म तर दाइले छोडनुहुन्नथ्यो’, उनले विगतको पीडा घरीघरी रोकिँदै भने, ‘पछि त दाइले मलाई सिरिन्ज लगाएर पनि यौन दुव्र्यवहार गर्न लाग्नुभयो, सम्झँदा पनि सास रोकिएलाजस्तो हुन्छ ।’

उनले यो कुरा धेरैपटक भन्न खोज्दा पनि दाइको डरले आँट आएन । त्यसरी नै २ वर्ष बिते । तर रातहरू झन् कष्टकर बन्दै गए । पढाइ कमजोर हुँदै गयो । निराशा बढ्दै गएपछि उनले निकै ठूलो साहस गरेर एकदिन आमालाई भन्नैपर्ने अवस्था आयो । ‘यौनांग दुखेर कपडा लगाउनै नहुने भयो, मानसिक र शारीरिक रूपमा धेरै पीडा हुन्थ्यो, मैले राम्रोसँग पढ्न पनि सकिनँ,’ लामो सास फेर्दै उनले भने, ‘धेरै सहन नसकेपछि आमालाई आँट गरेर भनेँ अनि आमासँगै बस्न थालेँ ।’
आमासँग बस्दा पनि उनलाई केटाहरू देख्नैबित्तिकै डर लाग्थ्यो । कसैसँग पनि बोल्न मन नलाग्ने हुन्थ्यो । राजधानीकै एक कलेजमा स्नातक तहमा पढ्दै गरेका उनी हाल २७ वर्षका भए । ‘समाजमा छोरा भनेर छोरासँगै सुताउने चलन छ, जुन राम्रो होइन, सबै दाजु, मामा, काकाको व्यवहार राम्रो हुन्छ भन्ने छैन’, बुबाआमाले ध्यान दिनुपर्ने कुरा सुनाउँदै उनले भने, ‘यस्ता पुरुषसँग बालकलाई राखियो भने बालकको जीवन बर्बाद हुन्छ, नर्क नै हुन्छ ।’

बाल्यावस्थामै यौन हिंसामा पर्ने उनी एक्लो होइनन् । समाजमा बाहिर नआए पनि यस्ता घटनाहरू पर्याप्त छन् ।

गोरखा घर भई हाल कीर्तिपुरमा बस्ने अर्का युवाको पनि यस्तै नमीठो अनुभव छ । ‘म ११ वर्षको थिएँ, मेरो काका १६ वर्षको हुनुहुन्थ्यो, जहिले पनि अश्लील चलचित्र देखाउने, भिडियोमा जस्तै गर भने गोप्य अंगहरूमा छुन लगाउने गर्नुहुन्थ्यो’, आफ्नो पीडादायी विगत सुनाउँदै उनले भने, ‘दैनिकजसो त्यो कार्य गर्न लगाउने, विभिन्न प्रलोभनमा पार्ने, चकलेट दिने, नयाँ कपडा किनिदिने, बजार लगेर घुमाउने धेरै नै माया गरेझैँ देखाउने तर यातना धेरै दिने हुनुहुन्थ्यो ।’
काकाले आफूलाई गर्ने व्यवहारबारे उनले आमाबुबालाई सुनाए । ‘धेरै सहन नसकेपछि आमासँग रोएँ, आमाले काकासँग कुरा गर्नुभयो, काकाले मैले भतिजलाई माया गर्न पनि नहुने भन्नुभयो’, उनले भने, ‘पछि घरमा सबैलाई थाहा भयो, मेरो उमेरमा भन्दा धेरै उचाइ र तौल पनि बढ्यो, स्कुल जान मन लगाग्ने, मानसिक रूपमा धेरै असर पर्यो ।’

३ वर्षसम्म काकाबाट यौन दुव्र्यवहार भइरह्यो । १४ वर्षको उमेरमा उनलाई पुनःस्थापना केन्द्रमा राखिएपछि बिस्तारै सामान्यजस्तै भयो । अहिले ती युवाको स्वास्थ्य अवस्था ठिक छ । ‘म अहिले ठिक छु, तर बेलाबेलामा केटा मान्छे देख्नैबित्तिकै धेरै नै डर लाग्छ, पुरानो दिन याद आउँछ, असाध्यै पीडा हुन्छ’, अहिले २२ वर्ष पुगेका ती युवाले भने, ‘यस्तो कुरा सुन्दा अहिले पनि डर लाग्छ, अहिले एयर होस्टेज पढ्दै छु, ठिक छु ।’

कलिलो उमेरका बालकहरू अलि ठुला उमेरका केटा वा पुरुषबाट प्रताडीत भएका यस्ता धेरै घटनाहरू छन् । बालबालिकाको क्षेत्रमा काम गर्ने ‘साथसाथ’ नामक संस्थाले यौन शोषणमा परेका बालकलाई उद्धार, सामाजिक पुनःस्थापना, मनोसामाजिक मनोविमर्श गर्ने काम गरिरहेको छ । २०७४ सालमा यौन शोषणमा परेका १२ वटा बालकका घटनालाई लिएर ‘म पनि नभनिएका कथाहरू’ नामक पुस्तकसमेत प्रकाशन गरेको छ । ती घटनामा अनौठो तरिकाले आफन्त पुरुषबाटै बालकहरू हिंसामा परेको र त्यसले मानसिक र शारीरिकरूपमा गम्भीर असर परिरहेको देखाएको छ ।
साथसाथ संस्थाकी स्रोत व्यक्ति कविता शाहले बालकहरूको संरक्षण गर्ने उद्देश्यले १६ वर्षदेखि काम गरिरहेको बताइन् । ‘कतिपय अवस्थामा बालकहरूलाई होटलबाट पनि उद्धार गरेका छौँ’, उहाँले यौन हिंसामा परेका बालकको अवस्थाबारे सुनाउँदै भनिन्, ‘एकपटक बालकलाई यौन दुव्र्यवहार भएको खबर आयो, होटलबाट उद्धार गरेर ल्यायौँ, त्यो भाइले यौनांगमा घाउ र दुःखाइले प्याड लगाएको रहेछ ।’

समाजमा बालकमाथि पनि यौन दुव्र्यवहार हुन्छ भन्ने कल्पना गरिँदैन । बालिकामाथि मात्रै दुव्र्यवहार हुन्छ भन्ने सोचको विकास भएको छ । तर कतिपय बालकहरूले सानो उमेरमै शारीरिक र मानसिक पीडा भोगिरहेका छन् । शाह भन्छिन्, ‘पुरुषले पुरुषलाई बलात्कार गर्यो भने कानुन छैन, अप्राकृतिक मैथुनमा पनि प्रष्ट कानुन छैन, बालकलाई पनि संरक्षण गर्न कानुन बनाउन जरूरी छ ।’

बालमनोविज्ञानमा कस्तो अवसर पर्छ ?

वरिष्ठ मनोविद् चेतना लोपसाङ्गका अनुसार बाल्यकालमा बालक यौन हिंसामा पर्दा हीनताबोध हुने, धेरै रिसाउने र डराउनेजस्ता समस्याहरू देखिन्छ । ‘बालकमा ममाथि यत्रो यातना हुँदा पनि मेरो शक्ति रहेनछ भन्ने खालको महसुस हुन्छ, रिसाहा हुने, कसैले धेरै खाने, कसैले खानै नखाने, चिटचिटहाट खालको व्यवहार देखिन्छ’, उनले भनिन्, ‘बच्चाहरूले डर, त्रासका कारणले आफूलाई भइरहेको दुव्र्यवहारबारे भन्न पनि सक्दैनन्, स्वभावमा परिर्वतन हुने, कति लामोसम्म, कुन तरिकाले दुव्र्यवहारमा पर्यो भन्ने कुराले मानसिक रूपमा विक्षिप्त पार्छ ।’

बालकलाई पनि स्कुलमै शिक्षक, विद्यार्थी र अभिभावक राखेर राम्रो छुवाइ वा गलत छुवाइको पनि शिक्षा दिनुपर्ने जरूरी देखिन्छ । आफ्ना परिवारले पनि बच्चाहरूको अवस्थाबारेमा जान्न बुझ्नुपर्ने जरूरी छ । ‘अभिभावकले यौन दुव्र्यवहारमा परेमा सांकेतिक चिह्नहरूका बारेमा पनि जानकारी गराइराख्नुपर्छ, बच्चाहरूलाई आफूले चिनेका मानिसहरूबाटै यौन दुव्र्यवहार बढी हुन्छ भन्ने बुझाउन जरूरी छ’, मनोविद् लोपसाङ्गले थपिन्, ‘बच्चाहरूले भन्न खोजेको कुरालाई ध्यानपूर्वक सुन्ने गर्नुपर्छ, बुबाआमाले विश्वास नगरेपछि बच्चाले भन्न नसक्ने अवस्था हुन्छ, असाध्यै नजिकैबाट बच्चाले भन्न सक्ने माहोल सिर्जना गर्नुपर्छ ।’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि यो विषयमा काम गरिरहेको छ । संघीय संसद्अन्तर्गतको महिला तथा सामाजिक समितिले पनि बालकमाथि हुने हिंसा न्यूनीकरणका लागि काम गरिरहेको छ ।

महिला तथा सामाजिक समितिका सदस्य शान्ति श्रेष्ठका अनुसार बालकहरूमाथि पनि हिंसा भइरहेको हुँदा रोकथामका लागि आवश्यक कानुन जरूरी छ भनेर सदनमै कुरा उठिरहेको छ । ‘बाल सुधारगृहमा पनि सबैजसो बालकहरू नै हुन्छन्, हामीले अनुगमन गरेर अध्ययन प्रतिवेदनहरू पनि निकालेर सरकारलाई कार्यान्वयनका लागि निर्देशनसमेत दिइसकेका छौँ’, सांसद श्रेष्ठ भन्छिन्– ‘बालकमाथि यौन हिंसाको घटना न्यूनीकरण गर्नका लागि सदनमा कुरा उठाउने काम पनि गरिरहेको छौँ, समाजमा बालिकामाथि मात्र नभएर बालकमाथि पनि यौन हिंसा हुने गरेको छ, सबैले न्यूनीकरणमा ध्यान दिनुपर्छ ।’

नेपालको संविधानको मौलिक हकको धारा ३९ मा बालबालिकाको हक रहेको छ । यसमा भनिएको छ, ‘कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।’

मुलुकी अपराध संहिता–२०७४ मा करणीसम्बन्धी कसुरको दफा २१९ (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १८ वर्षभन्दा कम उमेरको कुनै बलिकालाई निजको मञ्जुरी लिएर करणी गरेमा त्यस्तो कार्य जबर्जस्ती करणी मानिनेछ भन्ने व्यवस्था छ तर केटाकेटाबीच हुने दुव्र्यवहारको कहीँ पनि व्यवस्था गरिएको छैन ।

संहिताको दफा २२५ (२) मा कसैले करणीका आशयले बालबालिकालाई अस्वभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिनेछ भनी उल्लेख छ । यस्तो कार्य गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

बालकविरूद्ध हुने यौन हिंसा बढ्दै गएको भए पनि अधिकांश बेवास्ता गरिएको कारण यकिन तथ्यांक छैन । यस्ता घटनाहरू एकदम कम मात्र बाहिर आउने गरेको हुँदा बालकहरू यौन हिंसाको सिकार भइरहेका छन् । केटाबाट केटालाई यौन दुव्र्यवहार हुन्छ भन्ने सोच राखेर कानुनी व्यवस्था गरी बालकलाई न्याय दिन जरूरी छ ।

प्रतिक्रिया