निर्माण समग्रीको अस्वभाविक मूल्यवृद्धि, निर्माण क्षेत्रमा थपियो ४६ अर्बको भार

मृल्यवृद्धिकै पक्षमा उद्योगमन्त्री

सरकारले अध्यादेशमार्फत २० प्रशितभन्दा बढी मुनाफा लिनेलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने प्रावधान हटाइदिएपछि उद्योगी व्यापारी हौसिएका छन् । सरकारले यो अध्यादेश ल्याएपछि उद्योगी व्यापारी बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

काठमाडौँ । चौतफी महँगीको मार खेपिरहेका सर्वसाधारणलाई चस्का पर्ने गरी निर्माण समग्रीको मूल्यवृद्धि गरिएको छ । ६ महिना अगाडिसम्म प्रतिबोरा ५०० रुपैयाँसम्म रहेको सिमेन्टको भाउ उद्योगीले पटकपटक बढाउँदै ८५० रुपैयाँ पुर्याएका छन्  । त्यस्तै, प्रतिकिलो ८७ रुपैयाँ रहेको डन्डीको भाउ १०५ रुपैयाँसम्म पुर्याइएको छ । सिमेन्ट र डन्डीमा मात्र भएको मूल्यवृद्धिले नेपाली उपभोक्ताहरूलाई वार्षिक ४६ अर्बको भार थपिएको छ ।

उद्योग तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेपछि मूल्य बढाएका उद्योगीहरूले अझै मूल्यवृद्धि गर्ने तयारीमा उद्योगीहरू छन् । निर्माणको मूख्य सिजनमै यसरी सिमेन्ट र डन्डीको भाउ बढाउँदा सरकारीदेखि निजीसम्मका निर्माण कार्य प्रभावित भएका छन् । उत्पादन लागत बढेको भन्दै सिमेन्ट र डन्डीको भाउ मनलाग्दी बढाइएकाले यसको असर आमउपभोक्तासम्म परेको छ । ३ महिनाअघि उद्योगीले सिमेन्टको मूल्य आफूखुसी बढाउँदा सरकारले कुनै नदिएकोले पुनः फलामे डन्डीको मूल्यवृद्धि भएको छ ।

अहिले न अन्तर्राष्ट्रिय बजारमा फलामजन्य सामग्रीहरूको कच्चापदार्थको मूल्य बढेको छ न त तेलको भाउ नै । तैपनि नेपाली बजारमा सिमेन्ट र डन्डीको मूल्य बढेको बढ्यै छ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रमोद लामिछानेका अनुसार हाल नेपालमा फलामे डन्डीको खपत वार्षिक करिब १० लाख मेक्ट्रिक टनदेखि १३ लाख मेक्ट्रिक टनसम्म रहेको छ । यस हिसाबले हेर्दा हाल प्रतिकेजी फलामे डन्डीमा सरदर १५ रुपैयाँ मूल्यवृद्धिलाई गणना गर्ने हो भने पनि नेपालका निर्माण व्यावसायी र आमउपभोक्ताले १८ देखि २० अर्ब रुपैयाँ थप महँगी थेग्नुपर्ने देखिन्छ ।

यो त डन्डी र सिमेन्टको मात्र हिसाब हो । डन्डी र सिमेन्ट प्रयोग हुने अन्य निर्माण सामग्रीलाई पनि जोड्ने हो भने १ वर्षमा करिब ४६ अर्बको अतिरिक्त भार नेपालको निर्माण क्षेत्रमा थपिने निर्माण व्यवसायीहरूको आँकलन छ । जसमा निर्माण व्यवसायीदेखि सामान्य नागरिक र नेपाल सरकार स्वयं पनि मूल्यवृद्धिको मारमा पर्नेछन् ।

सामान्यतः ढुवानी सहज भएको स्थानमा डन्डी र सिमेन्टको प्रयोग गरेर ४ कोठे एउटा घर बनाउँदा सरदर २५ लाख रुपैयाँ लाग्छ । त्यसमा करिब ४० प्रतिशत हिस्सा डन्डी र सिमेन्टको हुन्छ । यो भनेको १० लाख रुपैयाँ डन्डी र सिमेन्टमै खर्च हुन्थ्यो । तर, अहिले पटकपटक गरी भएको मूल्यवृद्धिका कारण उक्त लागतमा थप २० प्रतिशत अर्थात् २ लाख रुपैयाँ डन्डी र सिमेन्टकै लागि थप्नुपर्ने देखिन्छ । त्यसैगरी त्यसका सहायक उत्पादनमा पनि भएको मूल्यवृद्धिले थप अर्को २० प्रतिशत मूल्य बढाउने अनुमान निर्माण व्यवसायीहरूको छ ।

के भन्छन् उद्योगी ?

यता उद्योगीहरूले भने पुरानै मूल्यमा बिक्री गर्दा उद्योग नै बन्द गर्नुपर्ने स्थिति आएपछि उद्योगलाई निरन्तरता दिन हरेक उद्योगले उत्पादनको मूल्यवृद्धि गर्नुको विकल्प नभएको बताए । उनीहरूले बजारमा कुनै पनि वस्तुको मूल्य तलमाथि भइरहनुलाई सामान्य हिसाबले लिनुपर्ने बताए । एक उद्योगीले भने, ‘सरकारले विकास खर्च गर्न नसक्दा र निर्माणका काम ठप्प हुँदा हरेक स्टिल उद्योगबाट उत्पादित सामग्रीको बिक्री अत्यन्त न्यून छ । एक त उत्पादन लागतमै प्रतिकिलो ५–६ रुपैयाँ घाटा छ । त्यसमा पनि विकास निर्माणका काम नहुँदा उत्पादित सामग्रीको बिक्री ठप्प जस्तै छ ।’

उद्योगीहरूका अनुसार फलाम उद्योगमा दैनिक सरदर ८ देखि १२ घण्टासम्म लोडसेडिङ रहेकोले उत्पादन लागत ह्वात्तै बढेको उद्योगीहरू बताउँछन् । जसका कारण प्रतिकिलो ५ रुपैयाँ घाटा रहेको उनीहरूको दाबी छ । रड निर्माण गर्न आवश्यक पर्ने कच्चा पदार्थहरू आइरन ओर, स्पन्ज आइरन, विलेट आइरन, स्क्राप आइरन, लोकल स्क्राप आइरन, सिलिकोलगायत करिब ९ प्रकारका कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य प्रतिटन ३० देखि ४० प्रतिशत बढेको उद्योगीहरूको भनाइ छ ।

उद्योगीहरूले डन्डी र सिमेन्टको मूल्य ह्वात्तै बढाएपछि आमउपभोक्ता र उपभोक्तावादीहरूले उद्योगीहरूले मिलेमतोमा कार्टेलिङ गरेको आरोप लगाउँदै सरकारले हस्तक्षेप गर्नुपर्ने माग गर्दै आएका छन् । तर, उद्योगमन्त्री दामोदर भण्डारी भने हस्तक्षेप गर्नुको साटो उल्टै उद्योगीहरूको पक्षमा बोल्दै आएका छन् । मंगलबार व्यवस्थापिका संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री भण्डारीले खुलेरै उद्योगीको पक्षमा समर्थन जनाए । ‘उद्योगमन्त्रीले उद्योगको पक्षमा नबोलेर कसको पक्षमा बोल्ने ? उद्योगको विपक्षमा बोल्नु ?’ मन्त्री भण्डारीले सांसदहरूलाई प्रतिप्रश्न गरे, ‘स्वदेशी उद्योगलाई सबैले जोगाउनु पर्छ, थेग्नुपर्छ ।’

कानुनी रिक्ततामा खेल्दै व्यवसायी

यसअघि २० प्रतिशतभन्दा बढी मुनाफा लिए कालोबजारी मान्दै व्यवसायीलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने’ व्यवस्था थियो । तर, यो व्यवस्था रहेको ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, ०३२ को दफा ३ (१)’ नै व्यवसायीहरूको स्वार्थअनुसार अध्यादेशमार्फत हटाइएपछि एकपछि अर्को गर्दै अस्वभाविक मूल्यवृद्धि भइरहेको छ । सरकारले अध्यादेशमार्फत २० प्रशितभन्दा बढी मुनाफा लिनेलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने प्रावधान हटाइदिएपछि उद्योगी व्यापारी हौसिएका छन् । सरकारले यो अध्यादेश ल्याएपछि उद्योगी व्यापारी वालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

नेपालमा कालोबजारी गर्नेहरूको राज छ – सिंह

रवि सिंह, अध्यक्ष, निर्माण व्यवसायी महासंघ

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा सामान्य हिसाबले पेसा व्यवसाय गर्ने वातावरण नै नरहेको बताए । ‘पछिल्लो समय जसरी मूल्यवृद्धि गरिएको छ । यसलाई हेर्ने हो भने नेपालमा अब कार्टेलिङ गर्ने, कालोबजारी गर्नेहरू मात्र टिक्ने अवस्था रहने र सामान्य तरिकाले व्यवसाय गर्नेहरू पलायन हुनुपर्ने अवस्था आयो ।

सरकारले यस्तालाई संरक्षण गरिरहको अवस्था छ’, सिंहले भने, ‘सुरुमा रातारात सिमेन्टको मूल्य बढाइयो, त्यसलाई सरकारले संरक्षण गर्यो । अहिले डन्डीको मूल्य पनि रातारात बढाइयो त्यसमा सरकारले मौन समर्थन जनाइरहेको छ ।’

मूल्यवृद्धिले समग्र निर्माण कार्य महँगो हुने भएकोले यसको प्रभाव आमनेपाली नागरिकमाथि पर्ने सिंहले बताए । निराशामा रहेको निर्माण क्षेत्र जुर्मुराए सरकारले थेग्न नसक्ने स्थिति आउनेतर्फसमेत सोच्न सिंहले चेतावनी दिए ।

मूल्यवृद्धि उपभोक्तामाथिको गम्भीर अपराध – तिमल्सिना

विष्णु तिमल्सिना, महासचिव, उपभोक्ता हित संरक्षण मञ्च नेपाल

उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव वरिष्ठ अधिवक्ता विष्णु तिमल्सिनाले अस्वभाविक रूपमा सिमेन्ट र डन्डीको मूल्य वृद्धि गर्नु उपभोक्ता माथिको गम्भीर अपराध भएको बताए ।

उनले भने, ‘हाकाहाकी रूपमा ५० देखि ६० प्रतिशतसम्म मूल्यवृद्धि हुनु भनेको उपभोक्तमाथिको गम्भीर अपराध हो । यसरी मूल्यवृद्धि हुँदा आमउपभोक्ताको आवासको हकमाथि नै प्रहार भएको छ ।’

यसरी अत्यावश्यक वस्तुको मूल्य यति धेरै अनुपातमा बढाउन संसारमा कहिँ कतै पनि नमिल्ने तर नेपालमा मनलाग्दी भइरहेको उनले बताए । उनले भने, ‘नेपाल संसारमै यस्तो देश भयो जहाँ निर्माण कार्यको सिजन सुरु हुन लाग्दा दिनदिनै सुनको भाउजस्तो निर्माण सामग्रीको मूल्य बढ्दै छ ।’

उनले यदि लागत बढेको हो भने पनि सरकारले समिति बनाएर उपभोक्ता, निर्माण क्षेत्र र उद्योगीलाई समेटेर आयोग बनाउन सुझाव दिए ।

चौतर्फी दबाबपछि बल्ल अनुगमनको सुरसार

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल

यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कृत्रिम मूल्यवृद्धि गरिएको भेटिएको बताए ।

उनले भने, ‘म आएको केही दिन मात्र भयो । सिमेन्ट र डन्डी उद्योगीसँग छलफल गरेको छु । उहाँहरूको कुरा सुनियो । के कारण मूल्यवृद्धि भयो कारण र मूल्य मागेका छौँ । तत्कालै बजार अनुगमन पनि गर्छौं । कैफियत भेटिए कृत्रिम मूल्यवृद्धिअन्तर्गत कारबाही गर्छौं ।’

उनले उद्योगीले अस्वभाविक मूल्यवृद्धिको औचित्य पुष्टि गर्नुपर्ने बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अनुगमन नगर्नु तथा कारबाही नगर्नु भनेर कुनै पनि निर्देशन नदिएकोसमेत उनले सुनाए ।

प्रतिक्रिया