लालबाबु पण्डित : चर्चाको शिखरदेखि ‘साइलेन्ट’ सक्रियतासम्म

काठमाडौँ । कुनै बेला मन्त्रीको रूपमा राष्ट्रिय राजनीतिको चर्चामा रहेका नेकपा(एमाले)का स्थायी कमिटी सदस्य लालबाबु पण्डित आजभोलि चर्चा र परिचर्चाभन्दा अलि बाहिर छन् । २०७० सालमा सामान्य प्रशासन मन्त्री बनेपछि उनले विदेशी नागरिकता वा स्थायी आवासीय अनुमति (पिआर) भएका व्यक्तिहरूलाई नेपालको सरकारी सेवामा प्रवेश नदिने नीति लिएपछि उनी चर्चाको शिखरमा पुगेका थिए ।

नेपालका कतिपय उच्चपदस्थहरूको विदेशको डिभी र पिआर पनि हुने र नेपालमा जागिरेको रूपमा काम गरिरहेको अवस्था थियो । उनले त्यो अवस्थाको अन्त्य गर्नका लागि चट्टानझैँ उभिएपछि आमजनस्तरबाट त्यो कामको उच्च प्रशंसा भयो र दशकौँदेखि राजनीतिमा सक्रिय पण्डित एकाएक राष्ट्रिय राजनीतिको केन्द्रमा रहन पुगे । त्यसयता, नेपालको राजनीतिक वृत्त र एमालेको आन्तरिक राजनीतिमा पनि उनी ‘हाइ प्रोफाइल’ नेताकै रुपमा दर्ज भएका छन् ।

तर विगत एक–डेढ वर्षदेखि उनी पार्टीका सार्वजनिक कार्यक्रमहरूमा त्यति धेरै देखिएका छैनन् । सञ्चारमाध्यमहरूमा पनि उनी कमै देखिएका र सुनिएका छन् । आममान्छेको चासो छ कि पण्डित किन एकाएक नेपाली राजनीतिमा ‘निष्क्रिय’ भए ? के उनी पार्टी भित्रैबाट कर्नरमा पारिए ?

त्यसो होइन, उनी विगत डेढ वर्षदेखि आफ्नो बिरामी श्रीमतीको स्याहारमा केन्द्रित भएका छन् । यसकारण उनले राजनीतिको निम्ति आफूले चाहेजस्तो पर्याप्त समय निकाल्न सकिरहेका छैनन् । राजनीतिक गतिविधि कम भएको छ, तर निष्क्रियता छैन । हाल उनी पार्टीको स्थायी कमिटी सदस्य त छँदै छन्, सम्पर्क समन्वय कमिटीको इन्चार्जको जिम्मेवारीमा पनि छन् । उनको कार्यक्षेत्र काठमाडौँ नै हो । उनी सोही कमिटीको काममा व्यस्त छन् । तर, पार्टी राजनीतिलाई समेत आफ्नो अनुकूलतामा ढाल्नुपर्ने बाध्यतामा छन् उनी ।

बिरामी श्रीमतीका सहारा पण्डित

पण्डित आजभोलि बढी समय आफ्नो बिरामी श्रीमतीको स्याहारमा केन्द्रित भएका छन् । ५८ वर्षीय श्रीमती विमला महत डेढ वर्ष अघिदेखि दुर्लभ रोग ‘मायोसाइटिक्स’को सामना गरिरहेकी छन् । जुन दिनदेखि श्रीमती ओछ्यान परिन् त्यहिदिनदेखि पूर्वमन्त्री पण्डित पूर्णरूपमा श्रीमतीको स्याहारसुसारमा केन्द्रित हुनुपरेको हो । काठमाडौँको कोटेश्वरस्थित एउटा फ्ल्याट भाडामा लिएर बस्दै आएका उनको परिवारमा आफू, श्रीमतिसहित एक २१ वर्षीय छोरी छन् ।

उनी हाल चार्टर्ड एकाउन्टेन्सी (सिए) पढ्दै छिन् । उनले छोरीको पढाइलाई पनि मध्यनजर गर्दै आफू नै बढी श्रीमतीको स्याहारमा ध्यान दिनु परिरहेको छ । ‘मायोसाइटिक्स’ जुन रोगले मान्छेको मांसपेशीलाई कमजोर बनाउने, मासु फुटाउने असर पार्छ । रोगले च्यापेको बेलामा शरीर सम्पूर्ण रूपले लल्याकलुलुक हुन्छ । त्यसो हुँदा बिरामीलाई पूर्ण रूपमा अरूको सहारा चाहिन्छ । श्रीमतीलाई खुवाउने, दिशापिशाब गराउनेदेखि लिएर सम्पूर्ण दैनिकीहरूमा अर्को व्यक्तिको सहारा आवश्यक छ । हो, उनी अहिले त्यही ‘सहारा’ बनिरहेका छन् ।

‘पहिलो काम राजनीति त छँदै छ । अहिले परिवारलाई समय निकाल्नुपर्ने स्थिति छ । आफ्नो राजनीतिक जिम्मेवारीको समय व्यवस्थापन गरेर परिवारलाई सेवा गर्दै छु’, सौर्य दैनिकसँग कुरा गर्दै पण्डितले भने ।

पण्डितका अनुसार मायोसाइटिक्स रोग १०÷१५ लाखमा १–२ जनालाई लाग्ने गरेको रहेछ । २०८१ को वैशाखदेखि भने श्रीमती महत पूर्णरूपमा ओछ्यानमा परेकी छन् । ओल्टाइकोल्टाइ गर्नसमेत उनलाई सहयोगको आवश्यक पर्छ । यद्यपि अवस्था सुधारोन्मुख भएको भन्दै डाक्टरहरूले उनलाई भरोसा दिएका छन् । निको हुने आशा छ परिवारकै ।

सहयोगको आशा छ, तर कसैसँग मागेका छैनन्

दुर्लभ रोगको उपचार गर्नुपर्ने भएकाले स्वभाविक रूपमा आर्थिक रूपमा पनि बोझिलो स्थिति छ । अहिलेसम्म लाखौँ रुपैयाँ उपचारमा सक्किइसकेको छ । अझै कति खर्च हुने हो टुंगो छैन । महँगा परीक्षण र महँगा औषधिहरूका कारण धेरै पैसा खर्च भइसकेको छ ।

४ पटक सांसद र २ पटक मन्त्री भइसकेका उनको साधारण जीवनशैली छ । बचत रकम छैन । यसर्थ अहिलेसम्म ऋण गरेरै भए पनि उपचार गराइरहेका छन् । सरकारी सहयोग कुनै लिएका छैनन् । यद्यपि सानातिना सहयोग भने साथीहरूले गरिरहेका पण्डितको भनाइ छ । हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइएको छ । निरन्तर फलोअपमा जानुपर्छ । अहिले त फिजियोथेरापीमा पनि निरन्तर लानुपर्छ । ‘अस्पताल कतिखेर लानुपर्छ कुनै टुंगो हुँदैन । उपचार महँगो छ । उपचार त ऋण लिएरै भए पनि गरिरहेको छु, ऋण तिर्न कञ्जुस्याइँ गर्दिनँ ।’ सौर्य दैनिकसँगको कुरामा उनले भने, ‘अप्ठ्यारो परेमा पैतृक सम्पति बेचेर भए पनि बिरामीलाई निको बनाउँछौँ । राजनीतिमा आफ्नो सक्रियता कायम राख्छु ।’

‘बिरामी भेट्न मान्छे आउँछन् र के सहयोग गरौँ भन्छन् ? तर मैले कसैसँग केही सहयोग मागेको छैन’, उनको भनाइ छ, ‘यस्तो अवस्थामा मलाई कस्तो सहयोग आवश्यक छ भन्ने कुरा सम्बन्धित व्यक्तिहरूले नै जान्ने कुरा हो । स्वभाविक रूपमा अप्ठ्यारो स्थितिमा सहयोगको अपेक्षा त हुन्छ नै ।’

उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताए । बिमाको व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए । सम्भव हुँदासम्म सम्पूर्ण उपचार नेपालमा नै त्यो पनि सरकारी अस्पतालमा नै गर्नुपर्ने उनको भनाइ छ । श्रीमतीको उपचार पनि सम्पूर्ण रूपमा सरकारी अस्पतालहरूमा नै गरिरहेको पूर्वमन्त्री पण्डितले जानकारी गराए ।

पार्टी काममा ‘साइलेन्ट’ सक्रियता !

पार्टीले तोकेको सम्पर्क समन्वय समिति इन्चार्जको जिम्मेवारी पनि उनले पूरा गरिरहेकै छन् । आवश्यक बैठकहरू आफ्नो निवासमै पनि राख्ने गरेको उनी बताउँछन् । बाहिरी कार्यक्रममा जानुपर्दा पार्टीकै कोही साथीहरूलाई श्रीमतीको हेरचाहका लागि राखेर जाने गरेका छन् ।

‘म राजनीतिक गतिविधिमा गयल छैन । काम गरिरहेको छु’, उनले भने, ‘त्यही हो, भन्नासाथ फुत्त उठेर हिँड्न मिल्दैन । कोही न कोही साथी खोजेर राखेर मात्रै हिँड्न मिल्छ । यसमा साथीहरूले सहयोग गरी पनि राख्नुभएको छ ।’

उनले आफ्नो मनोबल नघटेको पनि बताए । राजनीति र घरव्यवहारमा उच्च मनोबलका साथ काम गरिरहेको उनको भनाइ छ । ‘मैले मेरो आत्मबल घटाएको छैन । हिम्मत हारेको पनि छैन’, उनले भने, ‘तर मनमा पीडा त हुन्छ नै । पीडा कहिलेकाहीँ सामाजिक सञ्जालमार्फत् अभिव्यक्त पनि गरिरहेको छु ।’

प्रतिक्रिया