त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो ।

स्ववियु निर्वाचनको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ । उक्त मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागी पेशी तोकिएको थियो । अदालतले सात गतेका लागि पेसी तोकेको थियो ।

उक्त पेसीबारे त्रिविलाई जानकारी दिनु भनी आदेशसमेत दिएको थियो । आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ ।

अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जारी गरेको सूचनामा जानकारी गराइएको छ । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दीपकराज जोशी र अनोज कार्की गरी दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको उम्मेदवारी परेको थियो ।

संघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशी आधिकारिक भएको निर्णय गरेको थियो । त्यसविरुद्ध कार्की पक्षका विष्णुबहादुर बडैला समेतले त्रिभुवन विश्वविद्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरी अन्तरिम आदेश माग गरेका थिए ।

प्रतिक्रिया