बाढी पीडितलाई आवासको व्यवस्था गरिन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज यहाँ भएको ३०औँ बैठकपछि उनले सञ्चारकर्मीमाझ बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विश्लेषण गरी आवश्यकता अनुसार स्थायी, अस्थायी आवास निर्माण गरिने बताए ।

उनले निजी आवास निर्माणमा राज्यका कसरी सहयोग गर्नसक्छ भन्ने निर्णय प्रभावित क्षेत्रको वस्तुस्थितिका आधारमा गरिने जानकारी दिए ।

बैठकमा आगामी दिनमा विपदबाट हुन सक्ने सबै किसिमका जोखिम नियन्त्रणका लागि पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिइएको तथा सरकोकार भएका सबै निकायबीच समन्वयात्मक ढंगले काम हुनुपर्नेमा जोड दिइएको थियो ।

डोटी, अछाम र जाजरकोटमा भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण संकलन र पीडितलाई सहयोग तथा पुनर्निर्माणका काममा समन्वय गर्न ती जिल्लामा कार्यालय स्थापना गरेको जानकारी दिँदै मन्त्री लेखकले क्षति विश्लेषण भएका स्थानमा स्थायी आवास निर्माण प्रारम्भ भएको बताए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया