लुम्बिनी गुरुयोजना अनुसार निर्माण कार्यहरू भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मातृशिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले संघ, प्रदेश र स्थानीय तहका अस्पताल एवं स्वास्थ्य संस्थाहरूबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले लुम्बिनी प्रदेशमा सुविधासम्पन्न बर्थिङ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार, थाइल्याण्ड अन्तरराष्ट्रिय सहयोग नियोग र युएनएफपिए नेपालको सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको बताए ।

उनले भने, ‘लुम्बिनी क्षेत्रको अपार धार्मिक एवं पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै सन् १९७८ मा डिजाइन स्वीकृत भएको लुम्बिनी गुरुयोजना अनुसार निर्माण कार्यहरू भइरहेको छ, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरुसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवं प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ ।’

हाल अलजजिरा, फ्लाई दुबई, एयर एसिया र नेपाल एयरलाइन्सले उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गरिरहेका, श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको, अध्यागमन, मुद्रा सटहीलगायत बैंकिङ सुविधा विमानस्थलमा नै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी काम भइरहेको प्रधानमन्त्रीले जानकारी दिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई प्रोत्साहन गर्न धान, गहुँ र उखु बालीको न्यूनतम समर्थन मूल्य तोक्ने गरिएको, कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुन कृषि आधुनिकीकरण परियोजनालाई थप परिमार्जनसहित अघि बढाउन गृहकार्य भइरहेको बताएका थिए ।

प्रतिक्रिया