काठमाडाैँ । इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकले चीनको सीमावर्ती क्षेत्र लिपिङबाट काठमाडौं जाँदै गरेको कन्टेनर भ्यानबाट विद्युतीय सिगरेट (भेप) बरामद गरेको छ । नियमित चेकजाँचको क्रममा प्रहरीले बाह्रबिसेको खुर्सानीबारीबाट भेप बरामद गरेको हो ।
५५ वटा ठुलो डब्बामा रहेको ५५० र ३८ साना डब्बामा रहेको १९० वटा गरी ७४० वटा भेप बरामद गरिएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बरामद भेपको हालको बजार मूल्य २२ लाख २० हजार हुन आउँछ ।
बुधबार राति बाह्रबिसे नगरपालिका– ३ खुर्सानिबारीमा चेकपोस्टको ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक बनारसी साहको टिमले कन्टेनर चेकजाँच गर्ने क्रममा तातोपानी भन्सारबाट सामान बोकेर काठमाडाैंतर्फ आउदै गरेको ना.६ ख ५४९६ नम्बरको कन्टेनर भ्यानलाई शंका लागेर चेकजाँच गर्दा भेप फेला परेको थियो ।
भन्सार छली गरी ल्याएको विद्युतीय सिगरेट नियन्त्रणमा लिएपछि आवश्यक प्रक्रिया पुर्याएर आजै राजस्व कार्यालय हरिहरभवन काठमाडौंलाई जिम्मा लगाउने तयारी भएको प्रहरीले जानकारी दिएकाे छ । चालक भोटेकोशी गाउँपालिका– २ बस्ने वर्ष ३४ का प्रवीण खत्रीसहित कन्टेनर नियन्त्रण लिइएको छ ।
प्रतिक्रिया