काठमाडौँ । थुप्रै निर्णयलाई अदालतले चुनौती दिइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनलाई फेरि त्यहाँको अदालतले अर्को चुनौती दिएको छ । मंगलबार संघीय न्यायाधीशले एलन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोग)’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी (युएसएआइडी) बन्द गर्ने कार्य रोक्न आदेश दिएका छन् ।
अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डोगले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) विघटन गर्नुले अमेरिकी संविधानको धेरै अर्थमा उल्लंघन भएको बताएका छन् । युएसएआइडीका कम्प्युटर प्रणाली रिस्टोर गर्न तथा बिदा दिएका कर्मचारीलाई तलब दिने सुविधाको सुरुआत गर्न पनि आदेश गरिएको छ ।
१३ फेब्रुअरीका दिन नाम नखुलाइएका २६ युएसएआइडीका पूर्वकर्मचारीले दायर गरेको रिटमा यो फैसला भएको हो । मस्कलाई सिनेटले अनुमोदन पनि नगरेको तथा डोग वैधानिक सरकारी निकाय पनि नभएका कारण सो संस्थाले गरेको निर्णय मान्य नहुने भन्दै अदालतमा निवेदन परेको थियो ।
चुआङले मस्क र डोगको कार्यले सन् १९६१ मा कंग्रेसले स्थापना गरेको युएसएआइडीलाई कहिले र कसरी बन्द गर्ने भन्ने निर्णय गर्ने कंग्रेसको अधिकारको उल्लंघन गरेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत साता विश्वभर मानवीय सहायता वितरण गर्ने युएसएआइडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्ने र करिब १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रम गर्ने बताएका थिए ।
अदालतको यो फैसला ट्रम्पको लागत कटौती र सरकारी कर्मचारी कटौती अभियानका लागि पछिल्लो कानुनी झट्का हो । अर्का एक न्यायाधीशले हालै मस्क नेतृत्वको डोगले बर्खास्त गरेका विभिन्न एजेन्सीमा कार्यरत हजारौँ परीक्षणकालका कामदारलाई पुनः नियुक्त गर्न आदेश दिए । ट्रम्पले गत जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै युएसएआइडी अन्तर्गतका सबै अमेरिकी विदेशी सहायता ९० दिनका लागि रोक्का गरेका थिए ।
प्रतिक्रिया