नौमती बाजा संरक्षणमा जुट्दै चुलाचुली

इलाम । इलामको चलाचुली गाउँपालिका नौमती बाजा संरक्षणमा जुटेको छ । पछिल्लो समय लोप हुँदै गएको नौमती बाजा संरक्षणका लागि चुलाचुली गाउँपालिकाले अग्रसरता देखाएको हो ।

चुलाचुली गाउँपालिकाले २ वटा समूहलाई नौमती बाजासम्बन्धी तालिम सञ्चालन गरी नौमती बाजाका सामग्रीहरू सहयोग गरेको छ । चुलाचुली गाउँपालिका–२ को दुर्गा मन्दिर समिति र चुलाचुली गाउँपालिका–३ को सरस्वती कीर्तन मण्डलीका २३ जनालाई १५ दिनसम्म नौमती बाजा बजाउने तालिम दिनुका साथै बाजाका सामग्रीहरू सहयोग गरेको हो ।

गाउँपालिकामा उक्त कार्यक्रम आयोजना गरी गाउँपालिकाले २ वटा समूहलाई नौमती बाजाका सामग्री हस्तान्तरण गरेको हो । स्थानीय स्तरमा नौमती बाजा संरक्षण गर्नका लागि तालिम दिएर बाजाहरू सहयोग गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

‘यस क्षेत्रमा नौमती बाजा बजाउने कुनै समूह नभएकाले कुनै पनि कार्यक्रममा नौमती बाजा बजाउनुप¥यो भने छिमेकी जिल्ला झापा, मोरङबाट महँगो शुल्क तिरेर भाडामा ल्याउनुपर्ने बाध्यता थियो’, गाउँपालिका अध्यक्ष केरुङले भने, ‘त्यो बाध्यता हटाउन गाउँपालिकाले बजेट विनियोजन गरी २ समूहलाई नौमती बाजाका सामग्री हस्तान्तरण गरेको हो ।’ यसले संस्कृति संरक्षणमा योगदान गर्नुका साथै स्थानीयको आम्दानीको स्रोतसमेत बन्ने अपेक्षा रहेको उनले बताए ।

पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि चुलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेटमार्फत २ वटा समूहलाई नौमती बाजा खरिद गरी वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए । नौमती बाजा संरक्षणका लागि चुलाचुली गाउँपालिकाले विनियोजन गरेको २ लाख ५० हजार रुपैयाँबाट २ समूहलाई नौमती बाजाको १–१ थान बाजा सामग्री वितरण गरिएको हो ।

एक सेट बाजामा २ वटा नरसिंगा, २ वटा सहनाई, २ वटा दमाहा, एउटा ढोलक, एउटा ट्याम्को र एउटा झ्याम्टा रहेको छ । पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा बाजा संरक्षणका लागि गाउँपालिकाले थालेको अभियान सराहनीय रहेको दुर्गा मन्दिर समिति अध्यक्ष गंगा चापागार्इंले बताए । ‘पछिल्लो समय चुलाचुलीबाटै लोप हुँदै गइरहेको नौमती बाजा संरक्षणमा स्थानीय सरकारले थालेको अभियान सराहनीय छ’, उनले भने, ‘यसको प्रवद्र्धनका लागि हामी समुदाय स्तरबाट समेत लाग्ने छौँ ।’

नौमती बाजा संरक्षणले संस्कृति संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने सरस्वती कीर्तन मण्डलीकी उपाध्यक्ष गंगा सुवेदीले बताइन् । ‘हाम्रो गाउँमा कुनै कार्यक्रम हुँदा मँहगो शुल्क तिरेर बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ’, उनले भनिन्, ‘बाजालाई सही सदुपयोग गरी यसबाट आम्दानी गर्ने बाटोसमेत खुलेको छ ।’ गाउँमा हुने हरेक शुभ कार्यमा नौमती बाजा बजाउने योजना रहेको उनले बताइन् ।

९ वटा बाजाहरूको सामूहिक बाजा

नौमती बाजा ९ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठूलो रूप हो । जसमा ४ वटा अरू बाजाहरू थपिएको हुन्छ । सहनाई र दमाहा २–२ वटा हुन्छन् । सहनाई र नरसिंगा (फुकेर), ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को (ठोकेर) तथा झ्याम्टा र मुजुरा एकआपसमा जुधाएर बजाइन्छ ।

९ जना वाद्यवादक लोक कलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको हो ।

नौमती बाजा शुभ साइतमा बजाइन्छ । विगतमा नौमती बाजा बजाउने कामलाई दलित समुदायले आफ्नो परम्परागत पेसा ठान्थे । विवाह, ब्रतबन्धलगायत गाउँमा हुने सबै शुभकार्यमा नौमती बाजा बजाउन दलित समुदायबाटै प्रतिनिधित्व हुन्थ्यो । तर, अहिले परम्परागत पेसा दिगो नभएपछि दलित समुदायले नौमती बाजा बजाउन छोडेका छन् ।

प्रतिक्रिया