काठमाडौँ । एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्य र युरोपियन युनियनको एसिएसआइआइएस कार्यक्रमको सहयोगमा ३ दिने तालिम सञ्चालन गरेको छ । मार्चको पहिलो हप्ता सञ्चालित सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका ३ मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय र साना तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिममा बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिइएको थियो । जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुयाउने दाबी गरिएको छ । आइएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे प्रशिक्षण दिइएको तालिममा एनएमबी बैंकका व्यावसायिक टोली, ई एन्ड एस तथा जोखिम अधिकृतहरू र ग्राहक गरी ९० जना सहभागी थिए ।
तालिमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षताजस्ता विषयमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको बैंकले जनाएको छ । उक्त पहलले पर्यावरणीय, सामाजिक र सुशासन तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र ग्राहकको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको बैंकले बताएको छ ।
त्यस्तै, एनएमबी बैंकले ग्रिन सेभिङ डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ ।
प्रतिक्रिया