अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला १४ चैतदेखि

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही १४ देखि १८ चैतसम्म ललितपुरमा हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरूका उत्पादन प्रवद्र्धन र बजारीकरण गर्ने मुख्य उदेश्यसहित महिला उद्यमी महासंघ नेपालले ५ दिने आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरेर महासंघ अध्यक्ष शोभा ज्ञवालीले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने यस मेलामा देशभरका महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामग्री, खाद्य सामग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवद्र्धन तथा बिक्री वितरण हुने जानकारी दिइन् ।
उनकाअनुसार मेला स्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तर्राष्ट्रिय गरी ६ प्रकारका स्टलहरू रहनेछ ।

जम्मा १४४ वटा बिक्री स्टलहरू राखिनेछ । जसमा २ वटा ‘प्याभिलियन’ राखिनेछ । त्यसैगरी ८२ वटा स्टलहरू स्वदेशी तथा विदेशी महिला उद्यमीहरूलाई उपलब्ध गराइनेछ । करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गर्ने महासंघको अनुुमान छ । यस मेलामा करिब २ करोड २५ लाख बराबरको कारोबार गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया