काठमाडौँ । जाडो सकिएर गर्मी मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा भाइरल संक्रमणका बिरामीको संख्या ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा सरदर २५ जना भाइरल ज्वरोको सक्रंमण भएका बिरामी आउने गरेका छन् भने चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा त अझ बढी पुग्ने गरेका छन् ।
‘जाडो महिनामा अस्पताल आउने यस्ता बिरामीको संख्या दैनिक १–२ मात्रै हुन्थ्यो । अहिले त सरदर २५ जना आउने गरेका छन्,’ शुक्रराज ट्रपिकल अस्पतालका रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन भन्छन्, ‘जाडो सकिएर गर्मी बढेकाले ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या बढेको छ । टाइफाइडका बिरामी पनि बढेका छन् ।’
पहिला बच्चालाई हप्तामा एक पटक र किशोर र वयष्कलाई एक पटक सरदर लाग्ने रुघाखोकी अहिले दुई पटक लाग्ने गरेको पाइएको बताउँदै हेल्पिङ ह्यान्ड्सका निर्देशक डा. गुप्तबहादुर श्रेष्ठले भने, ‘भाइरल संक्रमणका कारण प्रतिरोधात्मक शक्ति कम भएका मान्छेमा निमोनिया र दमसमेत हुनसक्छ ।’ गर्मी सुरु भएयता अस्पतालमा आउने गरेका दैनिक सरदर १०० बिरामीमध्ये अधिकांश भाइरल संक्रमणसँग सम्बन्धित रहने गरेको उनले बताए ।
भाइरल संक्रमणमा सामान्यतया शरीरको तापक्रममा अचानक वृद्धि भएर शरीर कमजोर हुनुका साथै बालबालिका र वृद्धलाई यसले निकै सताउने डा. पुनको भनाइ छ । भाइरल संक्रमणमा प्रायः गरेर हल्का वा धेरै (१०२ डिग्री फरेनहाइटसम्म) ज्वरो आउने, शरीरको दुखाइ, टाउको दुखाइ, कमजोरी, सिँगान बग्नु र खोकी आदि लक्षणहरू देखापर्छन् । यस्ता लक्षण र रोगको अवधि उमेर र बिरामीको स्वास्थ अवस्थाअनुसार परिवर्तन हुन सक्छ ।
भाइरल ज्वरो सामान्यतया ३ देखि ४ दिनभित्र आफैँ निको हुन्छ । निको नभएको खण्डमा भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्ने चिकित्सकहरू बताउँछन् । यस्तोमा भाइरल ज्वरोको समस्यामा अस्पताल नजाँदासम्म ज्वरो कम गर्न घरमै केही उपाय अपनाउन सकिन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सचेतना अपनाउनुपर्ने डा. पुनको सुझाव छ ।
अहिले भाइरल संक्रमण हरेक समुदायमा सजिलै हुने गरेको उनले बताए । तर, लामो समय ज्वरो आउने, रुघाखोकी लागेर जटिलता देखिएपछि मात्र बिरामी अस्पताल आउने गरेको उनले बताए । ‘समुदायमा यस्तो समस्या व्यापक रहे पनि जटिल भएपछि मात्रै अस्पताल आउने गरेका छन्,’ डा. पुनले भने, ‘जटिल भएपछि आउने कतिपय बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था हुन्छ,’ उनले भने ।
भाइरल जस्ता समस्याबाट बच्न भिडभाडमा कम जाने, जानै परे मास्क लगाउने, धुलो धुवाँबाट बच्न र सफाइमा ध्यान दिन डा. श्रेष्ठको सुझाव छ । ‘खानपानमा विशेष ध्यान दिनुपर्छ । सन्तुलित र पोषणयुक्त खाना खानुपर्छ । प्रशस्त मात्रामा हरियो सागपात र फलफूल खानुपर्छ । बासी तथा चिसो खानेकुरा खान हुँदैन,’ संक्रमणबाट बच्ने उपायबारे उनी भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, दम जस्ता समस्या भएका दीर्घरोगीले त विशेष ध्यान दिनुपर्छ ।’ मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्न र दम बढ्न नदिन चिसो र प्रदूषणबाट बच्न उनको सुझाव छ ।
प्रतिक्रिया