स्ववियुको औचित्य पुनर्पुष्टि गर्ने अवसर

त्रिभुवन विश्वविद्यालय तथा यस अन्तर्गतका क्याम्पसहरूमा यतिबेला भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका सन्दर्भमा आएका धेरैजसो समाचार अप्रिय छन् । अप्रिय यस अर्थमा कि निर्वाचनको मिति आउनुभन्दा कैयौँ दिन अघिदेखि पठन–पाठन ठप्प हुनु, एउटा संगठन र अर्को संगठनबीच मात्रै होइन, एउटै संगठन भित्र पनि मुठभेड हुनु, उम्मेदवार तथा आकांक्षीहरूले मुठभेडका लागि भाडाका गुन्डा कलेजभित्र छिराउनुलगायतका समाचारले स्ववियुको औचित्यमाथि नै प्रश्न उठाएको छ । आफ्नो पक्षमा परिणाम आउन नसक्ने सम्भावना देख्नासाथ निर्वाचन बिथोल्ने, निर्वाचनका लागि भन्दै ब्यापारीकहाँ चन्दा माग्न जाने विकृति यसपटक पनि देखिएको छ । यही कारण विगतमा जस्तै यसपटक पनि धेरै विद्यार्थी भएका कैयौँ क्याम्पसहरूमा निर्वाचन स्थगित भएको छ ।

स्नातक र सोभन्दा माथिका तहमा अध्ययन गर्ने विद्यार्थीहरूले भाग लिने निर्वाचन उदाहरणीय अभ्यास बन्नुपर्नेमा गलत ढंगका घटना तथा क्रियाकलाप हुनु लोकतान्त्रिक शासन व्यवस्था अँगालेको हाम्रोजस्तो देशका लागि ठूलो चिन्ताको विषय हो । किनकी आज यही कारखानामा उत्पादन भएका नेताहरूले नै भोलि स्थानीय, प्रादेशिक तथा संघीय चुनावमार्फत् देश हाँक्ने हुन् । भोलिका दिनमा राजनीतिक दल हाँक्ने पनि अहिलेका विद्यार्थी नेताहरूले नै हो । स्ववियु निर्वाचन लोकतन्त्रको मर्यादाको बारेमा दीक्षित गराउने प्रयोजनका लागि हुनुपर्नेमा कब्जा तथा विभिन्न हथकन्डाद्वारा चुनाव जित्न अभ्यस्त गराउने विकृतितर्फ निरन्तर अघि बढ्नु भनेको लोकतन्त्रको भविष्यका लागि सानो चुनौती होइन ।

शैक्षिक संस्थामा विद्यार्थीहरूमध्येबाट नेतृत्व छनौट गर्ने परिपाटी नयाँ होइन । औपचारिक तथा अनौपचारिक रूपमा यस्तो परिपाटीको इतिहास निकै लामो छ । विद्यार्थीहरूमा अनुशासन कायम गरी शैक्षिक वातावरण मर्यादित बनाउनका लागि विद्यार्थीमध्येबाट नेतृत्वदायी क्षमताको मूल्यांकन गरी जिम्मेवारी दिने प्रचलन गुरुकुलदेखि नै थियो । यसैको विकसित तथा परिस्कृत रूप स्ववियु हो । शैक्षिक वातावरण सुधार गर्नका लागि शासन व्यवस्था बाधक रहेको ठहर गर्दै ‘जयतु संस्कृतम्’ को नाराका साथ विद्यार्थीहरू राणाविरुद्ध आन्दोलनमा उत्रेको नेपाली इतिहास साक्षी छ । नेपालको विद्यार्थी संगठन तथा राजनीतिको जग त्यही हो ।

त्रिचन्द्र कलेजका विद्यार्थीहरू संगठित भई प्रजापरिषद् पार्टी स्थापना गरेको र यही पार्टीले राणाशासनको जग हल्लाएको गौरवशाली इतिहासलाई पनि बिर्सन मिल्दैन । पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था स्थापनाको आन्दोलन होस् या राजतन्त्र ढालेर गणतन्त्र स्थापनाको आन्दोलन होस्, विद्यार्थी नेताहरूको योगदानलाई कम आँक्न मिल्दैन । तर पछिल्ला दिनमा विद्यार्थी राजनीतिको गौरवशाली इतिहासले निरन्तरता पाउन नसकेको मात्रै होइन, लोकतान्त्रिक परिपाटीलाई समेत बद्नाम र असफल बनाउने हो कि ? भन्ने चिन्ता बढेर गएको छ ।

यति भन्दै गर्दा विद्यार्थी राजनीतिको, स्ववियुको औचित्य नै छैन भन्न मिल्दैन । विश्वविद्यालयको जिम्मेवारी प्राविधिक तथा कारिन्दा मात्रै उत्पादन गर्ने होइन, प्राज्ञिक व्यक्तित्व उत्पादन गर्ने मात्रै पनि होइन । देशका लागि आवश्यक सबै प्रकारका जनशक्ति विश्वविद्यालयबाट उत्पादन हुन्छन् । जनताको मन जितेर देशको नीतिनिर्माण तथा कार्यान्वयन गर्ने जनशक्ति उत्पादन गर्ने जिम्मेवारी पनि विश्व विद्यालयकै हुन्छ । त्यसैले स्ववियुको औचित्य हिजो पनि थियो, आज पनि छ, भोलि पनि हुनेछ । तर, अहिले विद्यार्थी राजनीति जुन ढंगले अघि बढेको छ, स्ववियु निर्वाचनका नाममा जे–जस्ता गतिविधि हुने गरेका छन, स्ववियुका नाममा जे–जस्ता क्रियाकलाप हुने गरेका छन्, त्यसलाई विश्लेषण गर्दा खतरनाक संकेत देखिएका छन् ।

विद्यार्थी राजनीतिको गुमेको साख फर्काउने र स्ववियु निर्वाचनको औचित्य पुनर्पुष्टि गर्ने अवसर अझै पनि मुलुकका स्थापित राजनीतिक दलहरूको हातबाट गुमेको छैन । सुधार नै गर्न नसकिने गरी अराजकता बढिसकेको छैन । लोकतान्त्रिक कित्ताको नियन्त्रणबाहिर विद्यार्थी राजनीति पुगिसकेको छैन भन्ने कुरा दर्जनौँ क्याम्पसमा भएको निर्विरोध परिणामले तथा केही क्याम्पसमा भएको शालीन निर्वाचनले पनि पुष्टि गरेको छ । यद्यपि आफ्ना छोरा–छोरी निजी तथा विदेशी कलेजहरूमा पढाउने तर गरिब जनताका छोराछोरी पढ्ने सरकारी कलेजमा शैक्षिक वातावरण बिथोल्नेहरूलाई विद्यार्थी नेताका रूपमा स्ववियुमा पुर्याउने गलत सिलसिला अन्त्य गर्न नेताहरूले कत्ति पनि ढिलाइ नगरुन् । सुधारको थालनी यहीँबाट हुनुपर्छ ।

प्रतिक्रिया