होन्डुरसको टापुबाट उडेको विमान दुर्घटना, ७ जनाको मृत्यु

टेगुसिगाल्पा । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । यस घटनाबारे सम्बन्धित अधिकारीहरुले बताएका छन् ।

दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरुलाई दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको बताए ।

त्यसपछि समुद्रमा विमान नजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको फेला परेको थियो । उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो । अधिकारीहरूले विमानमा सवार व्यक्तिहरुको संख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्टहरू दिएका छन् ।

गुरेरोले यात्रुहरुमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताए ।

लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो । रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यहरू मध्ये एक हो । ‘विमान झन्डै हामीमाथि खस्यो, म माछा मार्दै थिएँ’, एचसिएच टेलिभिजनलाई एक माझीले भने ।

होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरुलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपत्कालीन समिति तुरुन्तै सक्रिय गरेको बताए । ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा स्पष्ट यान्त्रिक खराबीका कारण दुर्घटना भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया