काठमाडौँ । २०१८ सालदेखि स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ अस्तित्वमा आएको इतिहास छ । त्यसअघि पनि विद्यार्थीहरूको संगठन त थियो, तर संरचना फरक थियो । २०१८ देखि २०२९ सालसम्म स्ववियु क्रियाशील अवस्थामै थियो । तर, २०३० मा भने यसमाथि प्रतिबन्ध लगाइयो । त्यसपछि २०३६ सालमा भएको जनमत संग्रहको घोषणासँगै स्ववियु पनि फुकुवा भयो ।
२०३५ पछिको समय बहुदल मागसहितको आन्दोलन, जनमत संग्रह र राष्ट्रिय राजनीतिमा कम्युनिस्ट पार्टी र कांग्रेसबीच सुमधुर सम्बन्धको सुरुआत महत्वपूर्ण घटना थिए । यसैबीच २०३६ सालमा भएको स्ववियु निर्वाचनको सुरुआत नेपाली राजनीतिमा महत्वपूर्ण मानिन्छ । त्यसपछि २०४६ सालसम्म विभिन्न कालखण्डमा यज्ञ अधिकारी, युवराज खाती, बलबहादुर केसी घनश्याम भुसाल, लीलामणि पोखरेल, हितमान शाक्य, शंकर पोखरेल, टंक कार्कीलगायत धेरै नामहरू विभिन्न क्याम्पसको विद्यार्थी राजनीतिको नेतृत्वका कारण विशेष चर्चामा थिए ।
२०४६ सालको परिवर्तनपछि २०४९ सालमा स्ववियु निर्वाचन भयो । समयअनुसार विद्यार्थी संगठनले आफूलाई परिमार्जन गर्न नसकेका कारण विद्यार्थी नेतृत्वको शाख खस्किँदो छ । २०४६ सालको जनआन्दोलनपछि नेपालमा बहुदल स्थापनापश्चात १४ फागुन, २०४९ मा पहिलो स्ववियु निर्वाचन भयो । त्यसपछिको ३२ वर्षपछि आज (मंगलबार) निर्वाचन हुँदै छ । यसबीचमा देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था निकै फेरियो । यो ३२ वर्षमा देखिएको सबैभन्दा ठुलो परिवर्तन भनेको राजनीतिप्रति विद्यार्थीको मानसिकता हो ।
दोस्रो जनआन्दोलन अघिसम्म स्ववियुमा लागेका युवा तथा विद्यार्थीलाई जसरी नायकका रूपमा हेरिन्थ्यो, अहिले त्यो अवस्था छैन । कुनै समय प्रवेशिका परीक्षा उत्तीर्ण गर्नेबित्तिकै प्रमाणपत्र तहका लागि कलेज जाने र विद्यार्थी संगठनमा निकट रहने प्रचलनजस्तै थियो । तर, अहिले अवस्था फेरिएको छ । युवा पुस्ताको चासो राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहेका विद्यार्थी संगठन र तिनका नेतामा भन्दा बढी विदेशी विश्वविद्यालय र त्यहीँबाट सुरक्षित भविष्य खोजी गर्नेतर्फ उन्मुख भएको छ ।
यसका बाबजुद यो ३२ वर्षको अन्तरालमा विद्यार्थी संगठनहरूले दलका भ्रातृ संगठन र कोरा राजनीतिक कुराभन्दा परिष्कृत दृष्टिकोण लिएर अघि बढ्न नसकेको समयमा यो निर्वाचन हुँदै छ । बलको प्रयोग, झडप, उम्मेदवारीका लागि नेताको चाकडी र सत्ताका लागि जसको जोसुकैसँग भएको गठबन्धनसहित यो निर्वाचन हुँदै छ । यसमा मुख्य भूमिका राजनीतिक दल र तिनका शीर्ष नेतासँगै आन्तरिक गुटको स्वार्थपूर्तिका लागि विद्यार्थी संगठनलाई प्रयोग गर्नुले पनि खेलेको छ ।
एमालेको पाँचौँ महाधिवेशनको असर
२०४९ सालमा भएको एमालेको पाँचौँ महाधिवेशन र त्यसको परिणामले सोही वर्ष भएको स्ववियु निर्वाचनमा ठुलो फेरबदल देखायो । महाधिवेशनमा पराजित पक्ष स्ववियु निर्वाचनमा हेपाइमा प¥यो । देशका अधिकांश क्याम्पसको सभापतिमा अनेरास्ववियु विजयी हुँदै गर्दा विजयी हुनेमा संस्थापन पक्ष मात्र थिए । महाधिवेशनमा पराजित पक्षलाई टिकक पाउनै मुस्किल परेको थियो ।
त्यसबेला विभिन्न कलेजमा भएका निर्वाचन बढी चर्चामा रहे । २०४९ सलामा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पहिलो पटक सफलता पाएको थियो । सो सफलताको कारण सभापतिका उम्मेदवार नारायण काफ्लेको मिलनसार स्वभाव मानिएको थियो । त्यो निर्वाचनमा चर्चामा रहेका उनी हाल राजनीतिभन्दा टाढा छन् । नेविसंघको केन्द्रीय सदस्यसम्म भएका उनी ऊर्जा इन्जिनियरिङमा स्नातकोत्तर गर्न जर्मनी गएपछि विदेशकै मोहले उनलाई तान्यो, नेपाल फर्कने चाहना उनमा रहेन ।
सो समय पुल्चोक क्याम्पसमा अनेरास्ववियुले सुशील ज्ञवालीलई उम्मेदवार बनाएको थियो । पुल्चोकमा ज्ञवाली संस्थापन पक्ष निकट मानिएका कारण उम्मेदवार भएका थिए । नेपाल कमर्स क्याम्पसमा मधुसूदन पौडेललाई उम्मेदवार बनाएपछि रूपनारायण श्रेष्ठ कमर्स क्याम्पस छाडेर एकाएक पाटन संयुक्त क्याम्पस प्रवेश गरे । एमाले राजनीतिमा चन्द्रप्रकाश (सिपी) मैनाली निकट मानिएका २०४५ सालका पाटन स्ववियु सभापति विष्णु खरेल कांग्रेसमा प्रवेश गरे पनि उनको कारण पाटन कलजको परिणाममा भने फरक परेन ।
२०४९ मा रूपनारायण श्रेष्ठ पाटनका सभापति भए भने अखिल क्रान्तिकारीका देवेन्द्र पराजुली सचिव भए । संयोगवश यी दुवै राजनीतिमा सफल भएनन् । माओवादी राजनीतिमा उनले नेता मान्ने डा. बाबुराम भट्टराईले पार्टी छाडेपछि पराजुलीको ओरालो यात्रा सुरु भयो । सोही निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा भने जगन्नाथ खतिवडा सभापति भएका थिए ।
महाकाली विवादको असर
महाकाली सन्धिका कारण एमालेमा विवाद थियो । तथापि एमाले फुटिसकेको थिएन । तर, सोही सन्धिका कारण एमालेमा २ धार तयार भएको थियो । स्ववियु निर्वाचनमा पनि यसको असर देखियो । जहाँ उनीहरू एकअर्कालाई पराजित गर्न खुलेरै लागे । जसकारण २०५३ सालमा भएको स्ववियु निर्वाचनमा अखिलले धेरै क्याम्पस गुमाउनुप¥यो ।
अमृत साइन्स कलेज (अस्कल)मा नेविसंघका प्रदीप पौडेल ४ मतान्तरले विजयी हुँदै सभापति भए । अस्कलसँगै त्यसबेला निकै चर्चामा आउने र अनेरास्ववियुको दबदबा रहेको पाटन क्याम्पस पनि गुमायो । २०५१ मा अनेरास्ववियुले जितेको पुल्चोकमा पनि त्यसको असर देखियो । जसकारण २०५३ को पुल्चोक स्ववियु सभापतिमा नेविसंघका मुकेश काफ्ले निर्वाचित भए । उनी तिनै व्यक्ति हुन्, जो पछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसम्म बने ।
त्यसबेलाको चर्चा हुने कलेजमा त्रिचन्द्र पनि थियो । त्यसबेला त्रिचन्द्रमा गगन थापा सचिवमा निर्वाचित भएका थिए । सो निर्वाचनमा नेविसंघका २ प्यानल भए पनि थापा दुवै प्यानलको सचिव उम्मेदवार भएका कारण फराकिलो मतान्तरले विजयी भएका थिए ।
विवादको भूमरीमा नेविसंघ
२०५३ सालको अनेरास्ववियुको जस्तो अवस्था २०५७ सालमा नेविसंघको बन्यो । १ महिनाअघि मात्र पोखरामा भएको नेपाली कांग्रेसको १०औँ महाधिवेशनमा शेरबहादुर देउवा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । कांग्रेसमा गुटबन्दी चरम अवस्थामा थियो । नेपाल कमर्स क्याम्पस, शंकरदेव क्याम्पस र पद्मकन्या क्याम्पसमा नेविसंघका २ प्यानल देखिए । पद्मकन्यामा कांग्रेस नेता बलबहादुर केसी निकट कल्पना कार्कीले सभापतिमा टिकट नपाएर उर्मिला पञ्जियारले पाएपछि कार्कीको पक्षमा ठुलो समूह लागेको थियो । त्यसअघिकी सभापति प्रतिमा गौतम र रीना उप्रेतीलगायतको ठुलो समूह कार्कीलाई जिताउन लागिपरे पनि सफल भएन । शंकरदेवमा डेकराज भट्टराईले सफलता पाए ।
माओवादी खुला राजनीतिमा आएपछिको निर्वाचन
२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले सफलता पाएसँगै २०६५ सालको स्ववियु निर्वाचनलाई पनि सोही ढंगले हेरिएको थियो । तर, स्ववियु निर्वाचन परिणाम माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका लागि उपयुक्त भएन । तथापि केन्द्रीय क्याम्पस कीर्तिपुर भने माओवादीकै कारण चर्चामा थियो । कारण थियो, मानुषी यमी भट्टराई र हिमाल शर्मा ।
तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईकी छोरी हुनुका बाबजुद सरल जीवनका कारण चर्चामा आएकी मानुषी निकै चर्चामा थिइन् । उनी त्यसबेला केन्द्रीय क्याम्पस कीर्तिपुरको सचिवमा विजयी पनि भएकी थिइन् । यसैगरी, मसालको राजनीतिबाट एमाले विभाजनपछि नेकपा (माले) हुँदै माओवादी राजनीतिमा प्रवेश गरेका हिमाल शर्माले सशस्त्र युद्धको समयमा सेनाबाट पाएको यातना चर्चाको विषय थियो । उनी केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापति भए । तर, उनीहरूको राजनीतिक यात्रा भने सफल हुन सकेन ।
प्रतिक्रिया