ग्लोबल मनी विक सुरू : डिजिटल माध्यमको प्रयोगमा सतर्कता अपनाउन गभर्नरको आग्रह

काठमाडौँ । थिंक बिफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२५’ सोमबारदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो १३औँ संस्करण हो । अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा सुरु भएको ग्लोबल मनी विकको गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे ।

कार्यक्रममा काठमाडौँस्थित विभिन्न विद्यालयका कक्षा ७ देखि ९ सम्म अध्ययनरत करिब ६०० जना विद्यार्थीको सहभागिता थियो । सो अवसरमा गर्भनर अधिकारीले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवाहरू छनोट गर्नुपर्ने धारणा राखेका थिए ।

‘बैंक तथा वित्तीय संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन्, बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन्, आफूलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ’, उनले भने । पछिल्लो समय डिजिटल वित्तीय कारोबारको विस्तारसँगै चुनौती समेत थपिएको उल्लेख गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आह्वान गरेका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका कार्यकारी निर्देशक, निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैंकरहरूको उपस्थिति थियो । कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो ।

सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका निमित्त रजिस्ट्रार रघुनाथ महत र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिए । उक्त अवसरमा उनीहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए ।

नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक हिमप्रसाद न्यौपानेले प्यानल छलफलको सहजीकरण गरे । सो अवसरमा सहभागी विद्यार्थीहरूबीच वित्तीय साक्षरतासम्बन्धी हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

१० चैतसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ ।

नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडबाट अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बिमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओइसिडीले जनाएको छ ।

प्रतिक्रिया