काठमाडौँ । भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६औँ फ्लोरा एक्स्पो सोमबार सम्पन्न भएको छ । चौथो दिनसम्म १ करोड १० लाख ७० हजार रुपैयाँ बढीको कारोबार गर्दै मेला सम्पन्न भएको हो । चौथो दिन मेलामा १० हजारभन्दा धेरैले अवलोकन गरेका छन् भने अन्तिम दिन मात्र २१ लाख ८० हजारको कारोबार भएको छ ।
सोमबारसम्म चलेको यो पुष्प मेला अवधिभरमा ५९ हजारबढीले अवलोकन गरेको र १ करोड १० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङ (सुनिल) ले जानकारी दिएका छन् ।
मेलामा व्यावसायिक ६७, ल्यान्डस्केपिङ १, अफिसियल १०, प्रतियोगितात्मक प्रदर्शनी २ र फूडस्टल ३ वटासहित जम्मा ८३ वटा स्टल रहेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणका लागि १५० र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको र ज्येष्ठ नागरिकहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
४ दिने मेला अवधिमा बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी मन्त्री प्रकाश श्रेष्ठ, वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीले समेत मेला अवलोकन गरेका थिए । यसैगरी बरिष्ठ हास्य कलाकार हरिबंश आचार्य, कृषि सचिब गोबिन्दप्रसाद शर्मालगायत नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूले पनि मेला अवलोकन गरेका थिए ।
एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरू, सुनखरीका फूल बिरुवाहरू, फलफूलका बोटबिरुवाहरूको कारोबार भएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अवलोकनकर्ताको भिड बाक्लो भएका कारण सोचेअनुरूप नै कारोबार भएकोमा आफू उत्साहित बनेको र अर्को वर्ष गरिने मेला अन्तर्राट्रियस्तरको गरिने योजना रहेको जानकारी दिए ।
नेपालमा २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको इतिहास रहेको छ । यसपछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र २०४९ सालसम्म लगभग सीमित संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरू रहेको थियो । जब २०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एसोसिएसन नेपालको स्थापना भयो तत्पश्चात मात्र पुष्पको व्यावसायिक बिकास, बिस्तार र प्रवद्र्धनले गति लिएको हो ।
हाल बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा रहेको छ । हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको, १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रही व्यवसाय गरिरहेको, अनुमानित लगानी ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढिरहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी ५१ हजार ५०० भन्दाबढी जनशक्तिहरू रोजगार रहेका र पुष्प तथा पुष्पजन्य बस्तुको वार्षिक कारोबार ३ अर्ब ६८ करोडभन्दा बढी रहेको छ ।
फूल बिक्री गरेरै मासिक २ लाख आम्दानी
तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले २०७७ सालमा ३ हजार ५०० रुपैयाँ लगानी गरेर फूलको व्यापार सुरु गरिन् । फूलको व्यापार बिस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाह लगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । हाल उनले मासिक २ लाख आम्दानी लिने गरिरहेकी छन् । गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ ।
अन्य समयमा मासिक ८–९ लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब २ लाख रुपैयाँ बचत हुने उनले बताइन् । ‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ’, गुरुङले भनिन् । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् । ‘व्यवसाय बिस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ’, उनले भनिन् ।
प्रतिक्रिया