नागरिक लगानी कोष २ खर्ब ७३ अर्ब वित्तीय स्रोत संकलन गर्न सफल

काठमाडौँ । नागरिक लगानी कोषले संकलित पुँजी राष्ट्र निर्माण र सरकारको प्राथमिकतामा परेका आयोजनाहरूमा लगानी वृद्धि गर्नेतर्फ अग्रसर भएको बताएको छ । कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा कोषले त्यसका लागि नीतिगत व्यवस्थामा समेत सुधार गर्न थालेको जानकारी गराएको हो ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले लगानी विविधीकरण गनुपर्ने चुनौती रहेको जानकारी गराए । उनले भने, ‘छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्र निर्माणका कसरी लगानी गर्ने सरकारको प्राथमिकतामा रहेको क्षेत्रमा कसरी लगानी वृद्धि गर्ने ? उत्पादनमूलक क्षेत्र, कृषि, उद्योग, होटल, पर्यटन क्षेत्रमा कसरी लगानी बढाउने ? भन्ने चुनौती छ, त्यसका लागि केही नीतिगत व्यवस्था गरे पनि सुधार गर्नुपर्ने देखिएको छ ।’

उनले कोषमा अनलाइन सेवासमेत विकास गर्दै लगिएको जानकारी गराउँदै नगरिक पेन्सन योजनाको दायरा बिस्तार गर्न जरुरी रहेको र त्यसमा सरकारको सहयोगको खाँचो रहेको औँल्याए । कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले मुलुकको आर्थिक वृद्धि र पूर्वाधारका क्षेत्रको विकासका लागि सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमको मार्गदर्शकका रूपमा अवलम्बन गर्दै अघि बढिरहेको बताए । उनले कोषले सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने सुझाव दिए ।

सचिव उपाध्यायले बचतकर्ताको विश्वास जित्दै संकलित वित्तीय स्रोत विविध क्षेत्रमा लगानी बढाउँदै जानुपर्नेमा जोड दिए । उनले ठूलो रकम मुद्दति निक्षेपमा रहेको पाइएकाले यसलाई कोषले सरकारका प्राथमिकताका क्षेत्रमा लगानी बढाउन जरुरी रहेको औँल्याए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी बिस्तार गरी रोजगारी, गरिबी निवारण र आयमूलक क्षेत्रमा गोगदान गर्नुपर्नेमा जोड दिए ।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले सानो पुँजी संकलन गरी अहिले २ खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको बताए । उनले कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताए ।


२०४७ सालमा स्थापना भएको कोष २ करोड ४४ लाख बचतबाट सुरु भएकोमा अहिले ६ अर्ब ४८ करोडको चुक्ता पुँजी पुगेको छ । विभिन्न सातवटा ‘स्किम’हरू सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमबाट जगेडा कोषसहित २७३ अर्ब वित्तीय स्रोत संकलन गर्न सफल भएको छ । पुस मसान्तसम्म २६४ अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको थियो । साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘सेयर डिबेञ्चर’ हरूमा पनि लगानी गरेको जानकारी गराइएको थियो ।

प्रतिक्रिया