मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा नेपाली चलचित्र ‘काँडेतार’ ले दर्शकको मान जितेको छ । यही मार्च १७ तारिकका दिन चाइना टाउन सिनेमा मिडसिटीमा विशेष प्रदर्शन गरिएको थियो । ह्यान्ड टु ह्यान्ड प्रालिका सञ्चालक बुद्धिलाल मगर र योगेन खड्काले चलचित्रको विशेष प्रदर्शन आयोजन गरेका थिए ।
चलचित्र ‘काँडेतार’ यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले चलचित्रलाई यहाँका नेपाली दर्शकहरूले साह्रै मन पराईदिनु भएकोले अष्ट्रेलिया, मेलर्वन निवासीप्रति आभारी छु’, निर्माता तथा निर्देशक नवल खड्काले खुशी व्यक्त गर्दै भने । खड्काका अनुसार क्रमशः अन्य स्थानमा पनि चलचित्र ‘काँडेतार’लाई प्रदर्शन गरिने छ ।
‘काँडेतार’ जनता नै स्वयं नायक भएको देशभक्तिपूर्ण चलचित्र भएको बताइएको छ । काँडेतार विगतको गौरवगाथालाई स्मरण गराउँदै राष्ट्र, राष्ट्रियता र देशको आत्मसम्मान जोगाउन सीमा क्षेत्रका युवा र आम जनताले गरिरहेको संघर्षको कथा भएको निर्माता खड्काले बताए ।
आम नागरिकले भोग्नुपरेका विकराल समस्याबारे समाधानसहितका सुझावहरु चलचित्रमा प्रस्तुत गरिएको छ । ‘काँडेतार’ चलचित्रमा मनोरञ्जन, कलात्मकता र वैचारिकतालाई भरपुर मौलिक स्वादको तालमेल गरी ‘राष्ट्र पहिलो हो’ भन्ने विषयलाई प्रस्तुत गरिएको खड्काको भनाइ छ ।
यसभन्दा अगाडि युके लगायत अन्य विभिन्न शहरहरू र अष्ट्रेलियाको सिडनिमा पनि प्रदर्शन गरिएको थियो । त्यहाँ पनि काँडेतारको चौतर्फी प्रशंसा बटुल्न सफल भएको थियो । कार्यकारी निर्माता गायिका सत्यकला राई, निर्माता अञ्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का रहेकाछन् ।
चलचित्रमा नवल खड्का, सुरविना कार्की, रेविका गुरुङ, गौरव पहाडी ,प्रशान्त यादव,मुरलिधर, प्रेम सुब्बा, रवि शाह, केशव रायमाझी लगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया