काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपककुमार सिंहले सरकारले यौन व्यवसायलाई अनुमति दिन लागेको हो ? भन्दै प्रतिनिधिसभाको बैठकमा प्रश्न गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पर्यटक धेरै भित्र्याउने नाममा सरकारले वेश्यालय सञ्चालन गर्न लागेको हो ? भन्दै प्रश्न गरेका हुन् ।
आइतबार सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने बताएका थिए । सांसद घिमिरेको उक्त अभिव्यक्तिप्रति राप्रपाका सांसद सिंहले आपत्ति जनाएका हुन् ।
उनको प्रश्न थियो, ‘देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ, एउटा जिम्मेवार सरकारको माननीयज्यूले। यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइन ?। ’
सांसद सिंहले नेपाली समाजलाई तहसनहस बनाउने षडयन्त्र स्वरूप सत्तारुढ दलका जिम्मेवार सांसदबाट यस्ता धारणा आएको बताए ।
प्रतिक्रिया