बाल सुधार गृहमा झडप हुँदा ४९ जना घाइते

काठमाडौँ । बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधार गृहमा झडप हुँदा ४९ जना घाइते भएका छन् । शनिबार बिहान पौने १ बजेतिर सुधार गृहमा २ पक्षबीच भएको विवादले झडपको स्थिति निम्त्याएपछि आगजनीसम्म भएको थियो ।

सुधार गृहका नाइकेहरूले आफूहरूलाई अनावश्यक तनाव दिएको भन्दै बालकहरूले प्रतिरोध गरेपछि झडप भएको जनाइएको छ । सौर्य दैनिकसँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालकहरू आपसमा कुटाकुट गरेपछि स्थिति असामान्य बनेको बताए । उनले शनिबार दिउँसो नै नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिएको र अवस्था सामान्य बनिसकेको जानकारी दिए ।

झडपपछि ४९ जनालाई भेरी अस्पतालमा स्वास्थ्य जाँचका लागि पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार स्वास्थ्य जाँचपछि ४२ जनालाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । अन्य ५ जनालाई पनि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । २ जनालाई भने केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाइ रहेको प्रजिअ जोशीले बताए । बाल सुधार गृहमा २५५ जना बालक छन् ।

प्रतिक्रिया