मिथिलामा फागुमा गाइने गीतमा ईश्वरप्रतिको भक्ति, स्थानीय चलन, सामाजिक र पारिवारिक सम्बन्धभित्रका हास्यमूलक व्यंग, युवायुवतीबीचको एकअर्काप्रतिको आकर्षण, शाब्दिक छेडखानी र संस्कृतिसँग सम्बन्धित भाव भेटिन्छन् ।
जनकपुरधाम । असत्यमाथि सत्यको जित र आपसी भाइचाराको पर्व होली । ३ दिन अघिदेखि नै जनकपुरधाम होलीमय बन्दै गएको छ । होलीमय माहोल सिर्जना गर्नमा विभिन्न संघसंगठनले होली मिलन कार्यक्रम बनाएका छन् । चारैतिर गुञ्जिने फगुवा गीतले जनकपुरधामलाई होलीमय बनाएको छ ।
यसै वर्षदेखि नेपालमा ३ दिन होली मनाइँदै छ– पहाडमा १ दिन र मधेसमा फरकफरक २ दिन, बिहीबार हिमाल र पहाडमा अनि शुक्रबार र शनिबार २ दिन मधेसमा । फागु पूर्णिमाको भोलिपल्ट मधेसमा होली खेल्ने प्रचलन रहँदै आए पनि मिथिलामा अन्तरगृह परिक्रमाको भोलिपल्ट होली खेलिने भएकोले यसवर्ष जनकपुरधामा शनिबार होली खेलिने भएको हो ।
मिथिलामा फागुन शुक्ल चतुर्दशीका दिन मध्यरातमा राक्षसी प्रवृत्तिकी होलिकाको प्रतिमा दहन गरेर पूर्णिमाका दिन त्यसको धुरा (खरानीको धुलो) उडाइएपछि भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । मिथिलामा ‘फगुवा’ पनि भन्ने गरिएको होली पर्व सोमबार राती होलिका दहन गरी धुरा उडाइएसँगै सिंगै मिथिला क्षेत्र तयारीमा जुटेको थियो । पर्वको तयारी क्रममा मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर बस्तीमा रङ र अबिरको खरिद बिक्री बढेसँगै होली गीतका स्वर गुञ्जदै छन् । फागुन पूर्णिमाको भोलिपल्ट रङ र अबिर खेल्दै मिष्ठान्न भोजन गरेपछि समापन गरिने होलीपर्व मिथिला क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्व रहँदै आएको छ ।
यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसंग गाँसिएका छन् । त्रेतायुगमा विवाहपश्चात फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी (श्रीराम) र जनकनन्दिनी किशोरीजी (सीताजी) ले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरधाममा स्वजनसहित फागु खेलेका सम्झनामा होलीपर्व सुरु भएको मानिने एउटा मत रहेको छ ।
यद्यपि होलीपर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको श्रीमद्भागवत कथा प्रसंगबाट नै राक्षसी प्रवृत्ति नाश भएको खुसीयालीमा यो पर्व परम्परा सुुरु भएको बताइन्छ । यसै सन्दर्भलाई मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यो पर्वको ओज बढाएका छन् ।
फागु पर्वको बढ्दो रमझमसँगै मिथिलाका जिल्लाका बजारमा विभिन्न रङका अबिरको माग बढेको व्यापारीहरूको भनाइ छ । आपसी सद्भाव, राक्षसी (तामसी) प्रवृत्तिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा मनाइने होली पर्व रङ, अबिरको पर्व मानिन्छ । सम्पूर्ण राग, द्वेष बिर्सेर एकअर्कालाई विजयको प्रतीक रातो अबिर लगाएर शुभकामना आदान–प्रदान गरिने परम्पराको यो पर्वमा मालपुवा, सेल रोटीसहितका मिष्ठान्न परिकार खाने, खुवाउने मिथिला परम्परा छ ।
मिथिलामा होली गीतको महत्व
मिथिलामा फागुमा गाइने गीतमा ईश्वरप्रतिको भक्ति, स्थानीय चलन, सामाजिक र पारिवारिक सम्बन्धभित्रका हास्यमूलक व्यंग, युवायुवतीबीचको एकअर्काप्रतिको आकर्षण, शाब्दिक छेडखानी र संस्कृतिसँग सम्बन्धित भाव भेटिन्छन् । गीतकै माध्यमबाट रामसीताले वनविहार गर्दै रङ छ्यापाछ्याप गरेका कथानक बुनिएका भाव मात्र होइन, गीतमा नवयौवनालाई रङ खेल्न आउने चुनौतीपूर्ण निम्ता पनि हुन्छ । गीतमा हुने भरपूर मनोरञ्जनले नवयौवना ‘होरैया’ का अगाडि पर्न नसके पनि छिँडीमा लुकेर खिलखिलाउन भने छोड्दैनन् ।
फागु गीतमा रङ, अबिरको महत्ता बाहिरी आङमा रङ देखिनुसम्म मात्र नभएर मन रंगिनुसँग हुन्छ । प्रसन्नता, उल्लास फागु गीतका अवयव नै हुन् । फागु गीतमा किशोरावस्था पार गरेसँगै युवापुस्तामा हुने÷आउने प्रणय सम्बन्धको कल्पना, रूप यौवनको वर्णन र एकअर्कामा समाहित हुन गरिने अपिलका भाव हुन्छन् । गीतमै नवयौवनाको मनोदशा वर्णनका रोमाञ्चक भाव समेटिएका हुन्छन् । अनुराग, प्रेम र समर्पणको भाव फागु गीतमा अलि बढी नै उछालिएका हुन्छन् ।
मैथिल संस्कृतिमा अन्यबेला छिल्लिएको अर्थमा बुझिने प्रस्तुति पनि ‘होरी’ मा स्वीकार्य हुन्छ । मैथिली साहित्यकार राजेन्द्र विमलका अनुसार होरी मनका बन्धन फुकाएर रमाइने पर्व हो, त्यसैले होरी गीतमा शृंगार रसको प्रधानता हुन्छ ।
गाउनै छाडे जोगिरा
मधेसमा मनाइने होली पर्वमा जोगिरा खेल्नु महत्वपूर्ण मानिन्छ । भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो । कुण्ठित विचार र मनभित्र दबेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्चलमा गाइने जोगिरा गीत हो ।
कौन तालपर ढोलक बाजे कौन ताल मृदंग
कौन तालपर गोरिया नाचे कौन तालपर हम
जोगिरा सरर…
मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरूका बीच ऊर्जाको सञ्चार गर्ने गर्छ ।
किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबिर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी‘!! जोगिरा..सररर..!!’
(कसको हातमा सुनजडित पिचकारी (लोला) छ र कसको हातमा अबिरको झोला ? रामजीको हातमा सुनजडित पिचकारी छ र सीताजीको हातमा अबिरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् ।
बसन्त पञ्चमी (श्रीपञ्चमी) कै दिनदेखि अबिर खेल्न सुरु गर्दै फागुन पूर्णिमासम्म दिनदिनै प्रत्येक रात डम्फू बजाएर समूहमा गाइने जोगिरा अब मिथिला क्षेत्रमा सुन्न छाडिएको हो । जोगिरा गाउने पुराना पुस्ताका कतिपय बितिसकेका र केही वृद्ध भएसँगै नयाँ पुस्ताले यसबारे चासो राख्न छाडेपछि अब मिथिलामा जोगिराको डम्फू बज्न छाडेको हो ।
‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन् !’ वर्षौंदेखि जोगिरा गाउँदै आएका भंगाहा–४ का लाली महतोले भन्छन्, ‘मेरा समूहका धेरै साथी मरे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रउस छ, तर साथ दिने कोही छैनन् ।’
बसन्तपञ्चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि महोत्तरी सहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको हो ।
तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदंग, हारमोनियम र डम्फू (फागु गीतका वाद्यवादन) का तालमा सुनिने जोगिरा गीत गाइने परम्परा एक दशकयता सुन्न छाडिएको छ । आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने फागु (होली) पर्वमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिविम्ब हुने ‘जोगिरा…’ सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छाडेको छ ।
‘होली आएको पत्तै हुँदैन’, बर्दिवास–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतो खिन्न हुँदै भन्छन्, ‘टोलटोल बस्तीबस्तीमा प्रत्येक रातजसो गुञ्जिने जोगिरा अब सुनिन छाडिएका छन् ।’ अब नयाँ पुस्ताले पुराना संस्कृति बिर्संदै गएपछि अब आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्ने स्थिति आइपुग्ने महतोको चिन्ता छ ।
‘कोन तालपर डम्फू बाजे,
कोन ताल मृदंग,
कोन तालपर गोरिया नाचे,
कोन तालपर हम..!! जोगिरा सरररररररर..!!’
(डम्फू कुन तालमा बज्छ, मादल कुन तालमा बज्छ ? अनि गोरी कुन तालमा र म कुन तालमा नाच्छु ?) होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।
‘हे डम्फाके चोट महलबीच पहुँचय,
सुतली गोरिया चहक् उठय.. अही फागुन में ! जोगिरा..सरररर !!
(जब डम्फूको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन् फागुमा) ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली–भिनाजु, देवर–भाउजु, सोल्टा–सोल्टी) बीच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृंगारिक गीतका भावले फागु खेल्न आउन चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको महोत्तरीकै एकडारा गाउँपालिका भटौलियाका विजयकुमार कर्ण बताउँछन् ।
सामाजिक छुवाछूत, उँचोनिचो जात र भिन्नभिन्न धर्म संस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गरे ।
ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभई होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन ।
‘कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा,
कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा..सररर !!’
(कति हातको धोती लाउँछौँ ? तिमीले लाउने धोतीको कति हात लपेटा छ ? कतिवटा खोलाको पानी खाएका छौ, कतिवटा बाबुको छोरा हौ ?) एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा’ (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव होलीको जोगिराबाहेक अरू बेला कल्पना पनि सकिन्न ।
जोगिरामा कामोत्सव भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, अध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमंग एकसाथ भेट्टाइने भाव हुने मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा.राजेन्द्रप्रसाद विमल बताउँछन् ।
मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबिर खेलेपछि होली पर्व मनाइन थालिने परम्परा छ ।
होली पर्वमा गाइने जोगिरामा अश्लील गीतहरू समेत हुन्छन् । त्यस पछाडिको कारणले समेत ठूलो अर्थ राख्छ । संस्कृतिविद एवं साहित्यकार डा.राजेन्द्र विमलले कामुक गीतको माध्यमले मनभित्र रहेको कामवासनालाई बिर्सन पनि जोगिरा सहायक सिद्ध हुने गरेको बताए ।
मिथिलाका प्राचीन परम्पराहरूमध्ये जोगिरालाई बचाउनका लागि युवाहरूले नै भूमिका खेल्नु आवश्यक रहेको उनको मत छ ।
जनकपुर
प्रतिक्रिया