छोराको बिहे प्रभावित हुने डरले लुकाइएको बलात्कार घटना १ महिनापछि सार्वजनिक

महोत्तरी । छोराको बिहै प्रभावित हुने भन्दै १ महिनादेखि लुकाइएको जबरजस्ती करणीको घटना सार्वजनिक भएको छ । गत माघमा भएको घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय बर्दिबासमा जाहेरी परेपछि सार्वजनिक भएको हो ।

कांग्रेसका स्थानीय नेता रञ्जितसिंह राउतले माघ २१ मा घर नजिकैको गाईगोठमा लगेर आफूलाई जबरजस्ती करणी गरेको सम्झना (नाम परिवर्तन) ले आरोप लगाएकी छिन् । छोराको बिहेको समय भएकाले असर नपरोस् भनेर त्यतिबेला घटना लुकाउन बाध्य भएको सम्झनाले बताइन् ।

‘म बारीमा प्याज गोड्न गएकी थिएँ । त्यतिबेला झन्डै पौने ५ बजेको थियो । एक्कासि ऊ आएर धारिलो हतियार देखायो, अनि मुख बन्द गरेर जबरजस्ती गरेर गयो,’ सम्झनाले प्रहरीसमक्ष भनिन्, ‘५ बजेर ३ मिनेटमा मोबाइलमा फोन गरेर कसैलाई भनेमा मारिदिने धम्की दियो ।’
सो घटना मिलाउन नगरका केही जनप्रतिनिधिसमेत लागिरहेको पीडित महिलाका पति अर्जुन (नाम परिवर्तन)ले बताए । ‘तर, मलाई न्याय चाहिएको छ । हामी कोही नभएको मौका पारेर उसले जुन हर्कत गर्यो, त्यो अक्षम्य छ,’ अर्जुनले भने, ‘छोराको बिहेमा असर पर्ने देखेर पारिवारिक सल्लाहमै यत्रो दिनसम्म हामी चुप बस्नुपर्यो ।’

राउतले यसअघि पनि यस्तै आपराधिक क्रियाकलाप गर्ने गरेको स्थानीयको आरोप छ हाडनाताभित्रकै भतिजी नाता पर्नेलाई समेत करणी गरी गर्भवती बनाएको स्थानीयको भनाइ छ । यस्ता यौनजन्य क्रियाकलापमा उनी पटक–पटक गाउँलेहरूबाट समातिए पनि गाउँमै पञ्चायत राखे घटना मिलाउने गरेको पाइएको छ ।

पीडित पक्षले बुधबार इलाका प्रशासन कार्यालय बर्दिबासमा जाहेरी दर्ता गराएसँगै घटना बाहिर आएको हो । पीडित महिलाले दिएको बयान र जाहेरीका आधारमा पीडक राउतलाई प्रहरीले पक्राउ गरेको छ । महिलाले दिएको बयान र जाहेरीलाई आधार बनाएर अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक रेवतीप्रसाद पोखरेलले जानकारी दिए । अनुसन्धानपछि नै घटनाको विषयमा एकिन गर्न सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया