अग्नी सापकोटाविरुद्ध अपहरण तथा ज्यानसम्बन्धीको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा ज्यानसम्बन्धीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार (आज) सापकोटाविरुद्ध अपहरण तथा ज्यानसम्बन्धीको मुद्दाको सुनुवाइका लागि सर्वोच्चको संवैधानिक इजलासमा चढेको थियो ।

आज संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि अर्को पेसी तोक्ने गरी हेर्दाहेर्दैमा राखिएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चूडालको इजलासमा आज दिनभर रिट निवेदक पूर्णिमाया लामाको तर्फबाट बहस भएको थियो ।

रिट निवेदकका कानुन व्यवसायीले माओवादी नेता सापकोटाविरुद्ध फौजदारी कानुन अनुसार ज्यान मुद्दामा कारबाही अगाडि बढाउनुपर्ने आधार र कारण पेस गरेका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले सापकोटाविरुद्ध मुद्दा नचलाउने गरी डा।बाबुराम भट्टराई नेतृत्वको सरकारले ०६९ सालमा गरेको निर्णय गैरकानुनी र नेपालले अन्तर्राष्ट्रियमन्चमा गरेको सन्धि सम्झौताविपरीत रहेको जिकिर गरेका थिए ।

सर्वोच्च अदालतले पटक–पटक परमादेश र अन्तरिम प्रकृतिका आदेश दिएर फौजदारी कसुरको अनुसन्धान अघि बढाउन भनेको विषयमा संक्रमणकालीन न्यायसम्बन्धी कानुन आकर्षित नहुने तर्क पनि उनले गरे ।

यस्तै नेपाल २०२० सालदेखि नै जेनेभा सन्धिको पक्ष राष्ट्र रहेकाले पनि राजनीतिक आवरणमा गम्भीर अपराधमा उम्किन दिन नमिल्ने उनको जिकिर थियो । संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् ।

अर्जुनकी पत्नी पूर्णमाया लामा,कनकमणि दिक्षीत र सुशिल प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए । विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो ।

लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो ।

प्रतिक्रिया