काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनीयता सकिएको देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजतन्त्रवादीहरू हौसिनुको कारण सरकार नै भएको आरोप लगाए ।
बन्द कोठामा समेत राजतन्त्र पुनस्र्थापनको सपना देख्न डराउनेहरूले अहिले सडकबाटै राजतन्त्र पुनस्र्थापनाको चुनौती दिएको उनले बताए । गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म राजनीतिक दलका कार्यकर्ता, विभिन्न राजावादी संघ, संस्था तथा समूहहरू र जनताले स्वागत गरेका थिए । सोही विषयमा प्रचण्डले अभिव्यक्ति दिएका हुन् ।
अध्यक्ष प्रचण्डले राजावादीहरूको चहलपहलका पछाडि संगठित प्रयास भएको उल्लेख गरे । देशभित्र र बाहिरको समेत चलखेल मिसिएको भन्दै उनले विगतमा पनि यस्ता चलखेल हुने गरेको भए पनि अहिले भने बढेको बताए । उनले यसो हुनुमा पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूको दोष रहेको जिकिर गरे । ‘पछिल्लो ८ महिनामा सत्तारुढ पार्टीहरूले प्रदर्शन गरेको शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो ।’
प्रचण्डले ‘राजावादी साथीहरू’ भन्दै राप्रपाले इतिहासको चक्का पछाडितिर फर्काउन चाहेको बताए । सरकारको कुशासन बढेपछि लोकतन्त्रमाथि व्यवस्थाभित्रैबाट चुनौती भइरहेको बताए । सत्तारुढ दलले लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहेको आरोप लगाउँदै उनले भने, ‘लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरूको कुशासनले व्यवस्था भित्रैबाट त्योभन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई पनि हामीले बिर्सनु हुँदैन ।’
प्रचण्डले सरकारका स्वेच्छाचारी र गलत गतिविधिले प्रतिगमनतिरको मनोबल बढेको बताए । उनले यस विषयमा हेक्का नराखे आगामी दिन अझ गम्भीर र चुनौतीपूर्ण हुने पनि बताए । यद्यपि, राजावादीहरूको पछिल्ला प्रदर्शनहरूलाई केही होइन भनेर उपेक्षा नगर्ने भन्दै उनले त्यसको भागिदार सत्तासीन हुनुपर्ने बताए । अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशका रूपमा राजावादीहरूको प्रदर्शनलाई बुझ्नुपर्ने बताउँदै उनले भने, ‘सत्तामा रहेकाहरूलाई भन्न चाहन्छु, तपाईंहरू पनि यसको भागिदार हुनुहुन्छ । विदेशी षड्यन्त्र पनि होलान् । यसलाई गिजोल्नतिर नलाग्नोेस्, तपाईंहरूको अनावश्यक अहंकार र दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो त्यो । त्यसको थप मूल्य तिर्न देश तयार छैन ।’
लोकतन्त्रभित्रै विकल्प खोज्नुपर्नेमा जोड
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरे । लोकतन्त्र जति प्रचण्डको हो, त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता संविधानले स्थापित गरेको उनको भनाइ थियो । अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एकपटक आफ्नो शक्ति देखाउने भन्दै उनले चुनौती दिए ।
त्यसो त संसद्का संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरू सबैले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए । उनीहरूले वर्तमान व्यवस्थाभित्रैबाट विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस महामन्त्री गगन थापाले संविधानविपरीत हुने षड्यन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताए । ‘यो व्यवस्थाप्रति उत्तिकै प्रतिबद्ध छौँ । हामी सबै मिलेर ल्याएको संविधान जोगाउन, व्यवस्था सुदृढ गर्न उत्तिकै प्रतिबद्ध छौँ भन्ने मेरो पार्टीको पोजिसन पनि यहाँ राख्न चाहान्छु,’ उनले भने । महामन्त्री थापाले २०६२÷०६३ को आन्दोलनमा राजनीतिक दलसँगै उभिएको नागरिक पंक्ति रिसाएको भन्दै उनीहरूसँग संवाद गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै पुनः निरंकुशतन्त्र नआउने भएकाले संविधानविपरीतका गतिविधि नगर्न पूर्वराजालाई चेतावनी दिए । ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुन सक्दैन । संग्रहालयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमप्रमांगीको माध्यमबाट देश चलाउँछु भन्ने दिवा सपना नदेख्नु,’ उनले भने ।
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले जनताले व्यवस्थामाथि भन्दा पनि सरकारमाथि प्रश्न उठाएको बताए । उनले प्रधानमन्त्री नै व्यवस्थाविरोधी गतिविधिमा संलग्न भएका कारण जनता सरकार र राजनीतिक दलहरूसँग रिसाएको बताउँदै भने, ‘गणतन्त्रमाथि होइन, मुख्य समस्या सरकार सञ्चालनमा छ । जनताप्रति जिम्मेवार र पारदर्शी नबन्ने समस्या छ । व्यवस्थाको प्रमुख भएर व्यवस्था विरोधी गतिविधि नै मुख्य समस्या हो भन्ने विषयमा बहस गर्नैपर्छ ।’
त्यसैगरी रास्वपा सांसद शिव नेपालीले लोकतन्त्र र संविधानप्रति पार्टी प्रतिबद्ध रहेको बताउँदै भने, ‘रास्वपा लोकतन्त्र, समावेशिता र वर्तमान संविधानले व्यवस्था गरेको जनताको अधिकारको सुनिश्चितताका लागि प्रतिबद्ध छ । हाम्रा लागि लोकतन्त्र र नेपाली जनताको सार्वभौमिकता अपरिवर्तनीय छ । हामी लोकतन्त्रप्रति प्रतिवद्ध छौँ ।’
नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पूर्ण प्रतिबद्ध रहेको भन्दै यसविरुद्ध हुने सम्पूर्ण गतिविधिका विरुद्ध आफूहरू हुने उल्लेख गरे । उनले भने, ‘गणतन्त्र सत्ताधारीहरूको अर्कमण्यताका कारण गुम्ने खतरामा छ । गणतन्त्र ल्याउने राजनीतिक दलप्रति जनताको अविश्वास चरमचुलीमा छ । नेताहरूले गम्भीर हुन जरुरी छ ।’
जसपा सांसद रञ्जुकुमारी झाले संविधानको सम्मान गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउँदै प्रणाली चलाउने व्यक्ति गैरजिम्मेवार बन्दा समस्या आएको जानाइन् । जसपा नेपालका सांसद राजकिशोर यादवले राजनीतिक दलहरू आफैँप्रति अविश्वस्त रहेको देखिएको टिप्पणी गर्दै भने, ‘अरूतिर औँला ठड्याउनुभन्दा आफैँमा समीक्षा गर्नु जरुरी छ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ३ ठुला दलहरूबाटै गणतन्त्र खतरामा रहेको टिप्पणी गर्दै राजतन्त्रवादी सडकमा आउनु नौलो कुरा नभएको र दलको चरित्रमा सुधार हुनुपर्ने बताए ।
‘भिड अझै बढ्छ, लुक्ने ठाउँ खोजेर बस्नु’
राप्रपा सांसद रोशन कार्कीले गत आइतबारको पूर्वराजालाई स्वागत गर्ने भिड ट्रायल मात्रै भएको बताउँदै अझै भिड बढ्ने भएकाले लुक्ने ठाउँ खोजेर बस्न दलहरूलाई चुनौती दिइन् । ‘यो त ट्रायल मात्र हो । अरू ७३ जिल्लाका मान्छे थपिए भने जुन भिड आउँछ, त्यो देखेर नआत्तिनुहोला । लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला,’ उनले भनिन् । उनले सरकारको नालायकीका कारण पूर्वराजाको पक्षमा भिड लागेको भन्दै दलहरू जति दिन सरकारमा बस्छन्, उति भिड बढ्दै जाने बताइन् ।
प्रधानमन्त्रीद्वारा संसद् ‘बंक’
प्रमुख प्रतिपक्षी दलका नेताले विशेष समय माग गरेर बोलेको बैठकमा प्रधानमन्त्रीको उपस्थिति अपेक्षित हुन्छ । र, यो संसदीय अभ्यास र परम्परा पनि हो । तर, प्रधानमन्त्री भने प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने दिन संसद्मा गयल हुने गरेका छन् । मंगलबार पनि संसद् बैठक ‘बंक’ गरेर उनी कोसी प्रदेशसभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्तका लागि विराटनगर पुगेका थिए । यसअघि गत माघ २४ गते प्रचण्डले सम्बोधन गर्ने दिन पनि उनी बैठकमा अनुपस्थित थिए ।
प्रतिक्रिया