काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा हजारौँ जनता सडकमा उत्रिएका छन् । आइतबार दिउँसो पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका शाहलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता÷कार्यकर्तासँगै राजावादी नागरिकको बाक्लो उपस्थिति थियो ।
राजसंस्था पुनस्र्थापना, संघीयता खारेजी, सनातन हिन्दु राष्ट्र कायमलगायत माग र मुद्दामा संघर्ष गरिरहेका विभिन्न संघसंगठन तथा व्यक्तिहरूको पनि उपस्थिति थियो । उनीहरू बिहानैदेखि पूर्वराजाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल द्वारअगाडि जम्मा भएका थिए भने अन्य विभिन्न चोकमा पनि पूर्वराजाको समर्थनमा नारा लगाउँदै ¥याली निकालिएको थियो ।
शाह केही समय गण्डकी प्रदेशको बसाइपछि आइतबार काठमाडौँ फर्किएका हुन् । गत माघ २७ गते पोखरा पुगेका उनले गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गरेका थिए । गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा भिडियो वक्तव्य दिएपछि उनका समर्थकहरू आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । उनले देशको अवस्था जनताले सोचेजस्तो नभएको भन्दै आफूलाई साथ दिन जनतालाई आह्वान गरेका थिए । वक्तव्यमा उनले कस्तो प्रकारको साथ खोजेका हुन् भन्ने स्पष्ट नपारे पनि राजावादीहरूले अब राजा राजसंस्था पुनस्र्थापनाका निम्ति सक्रिय भएर लाग्न खोजेको रूपमा बुझेका छन् ।
दिउँसो करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई विमानस्थलको गेटबाहिर हजारौँले स्वागत गरे । उनको स्वागतका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजसंस्थाको वकालत गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि पुगेका थिए । उनीहरूले पूर्वराजाको स्वागतमा आउन सार्वजनिक रूपमै आह्वान गरेका थिए । उनको स्वागतमा विमानस्थल परिसर, तिनकुने, गौशालामा मानिसहरू जम्मा भएका थिए । उनी साँझ ७ बजेतिर निर्मल निवास पुगेका थिए ।
राष्ट्रिय झन्डासहित उपस्थित व्यक्तिहरूले उनको जयजयकार गर्नुका साथै सरकारविरुद्ध नाराबाजी गरेका थिए । ¥यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसमेत प्रयोग गरिएको थियो । पूर्वराजाको सवारी हुने भएपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । नागरिकले भने यातायातमा निकै नै सास्ती झेल्नुपरेको गुनासो गरेका छन् । काठमाडौँमा रातिसम्म नै ट्राफिक जामको समस्या भएको थियो ।
सरकार हल्लिइसक्यो : राप्रपा
राप्रपाका नेता दीपकबहादुर सिंहले पूर्वराजालाई स्वागत गर्न नागरिकको उपस्थिति देखेर सरकार हल्लिइसकेको टिप्पणी गरे । ‘पार्टीले राजा ल्याउने होइन । जनताले ल्याउने हो राजा । जनता निःस्वार्थ रूपमा आएका हुन् । गाडी पठाएर, पैसा दिएर, मासु, नास्ता, पानीको व्यवस्था कसैले गरिदिएर पनि होइन । कुनै पार्टीले यति मान्छे उठाउन ६० करोड रुपैयाँ हाराहारी खर्च हुन्थ्यो,’ उनले भने, ‘सयौँ प्रहरी तैनाथ थिए । सरकार हल्लिइसक्यो । सरकारले चाहेको भए पनि दमन गर्न सक्ने अवस्था थिएन ।’
सुरक्षा संयन्त्रको विश्लेषण : ८ हजार मानिसको उपस्थिति
सुरक्षा संयन्त्रले पूर्वराजा शाहको स्वागतका लागि करिब ८ हजार मानिसको उपस्थिति भएको विश्लेषण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले पूर्वराजाको स्वागतका लागि करिब ८ हजार मानिसको उपस्थिति रहेको बताए । उनले केही हजारको संख्यामा रमितेहरू पनि रहेका भन्दै रमितेहरूलाई स्वागतार्थ उपस्थित भएको भन्न नमिल्ने बताए । ‘रमितेहरू पनि थिए धेरै । तर, स्वागतार्थ भेला भएकाहरू चाहिँ ७÷८ हजार रहेको विश्लेषण हामीले गरेका छौँ,’ उनले भने । सुरक्षा संयन्त्रले मिहिन ढंगले विश्लेषण गरी कुनै अप्रिय घटना हुन नदिएको उनले बताए ।
के भएको छ र देश बचाउने ? : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाले आफूलाई साथ दिन आग्रह गरेको भन्दै देशमा के भएको छ ? भनी प्रश्न गरेका छन् । उनले पूर्वराजाले ‘आफूूलाई साथ देऊ भनेर के भन्न खोजेको’ भनेर समेत प्रश्न गरे । ‘६ फागुनको साँझ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न, कानुनको कुरा गर्नु हुन्न, लोकतन्त्र, प्रणालीको कुरा गर्नु हुन्न, प्रक्रियाको कुरा गर्नु हुन्न । मलाई साथ दिनुहोस् म आउँछु, देश बचाउँछु । देश के भएको छ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो । उनले पूर्वराजालाई राजनीतिमा आए स्वागत गर्न तयार रहेको बताए ।
के भन्छन् प्रमुख दलहरू ?
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा राजतन्त्र इतिहासको विषय भइसकेकाले राजा फर्काउने सपना नदेख्न सुझाव दिएका छन् । एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले राजतन्त्र इतिहासको विषय बनिसकेको भन्दै अब फेरि सत्तामा फर्किने र राजतन्त्र ब्युँताउने सपना छाडिदिन आग्रह गरे । उनले यसले पूर्वराजालाई नै क्षति पु¥याउने उल्लेख गरे ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले इतिहासको पांग्रा कहिल्यै पछाडि नगुड्ने टिप्पणी गरे । नेपालमा राजतन्त्र नफर्किने भन्दै उनले यस्ता प्रदर्शनहरूले केही मान्छेलाई भ्रममा राखिराख्न भने मद्दत पुग्ने बताए । जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले पूर्वराजाका नाममा सडकमा देखिएका गतिविधिबाट अराजकतालाई प्रोत्साहन र राजनीतिक अस्थिरतालाई बल पु¥याउने बताए । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अहिलेको सडकका गतिविधिबाट व्यवस्था परिवर्तन हुन्छ भनी कसैले चिताउनुनपर्ने बताए । उनले पूर्वराजा नेपालको सम्मानित नागरिक भएको भन्दै उनी कसैको लहडमा लाग्नुनहुने धारणा राखे ।
प्रतिक्रिया