दीपक मनाङेलाई एक वर्ष कैद छुट दिन अदालतको आदेश

काठमाडौं । गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ उर्फ राजीव गुरुङलााई २० प्रतिशत तथा एक वर्ष कैद छुट दिन अदालतले आदेश दिएको छ । अदालतको आदेशपछि मनाङेलाई अब एक वर्ष कैद छुट हुने भएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो ।

२० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय एक वर्ष घट्नेछ । मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए ।

मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार उनले कैद छुट माग गरेका थिए । तरबारले चक्रे मिलन भन्ने मिलन गुरुङको हात काटेको घटनामा मनाङेलाई पाँच वर्ष कैदको फैसला भएको थियो ।

२० वर्ष पहिलेको घटनामा सर्वोच्चले पनि मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष कैदको फैसला सुनाएको थियो । घटनालगत्तै पक्राउ परेका उनले दुई वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन् ।

अब दुई वर्ष ४ महिना कैद बाँकी रहे पनि उनले एक वर्ष नै कैद छुट पाएका हुन् । उनले बाँकी १६ महिना मात्रै कैद भुक्तान गरे हुने भएको छ । मनाङे २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए ।

प्रतिक्रिया